कविराज खनाल
नेपालको पर्यटकीय राजधानी पोखरामा अब मोतीको व्यावसायिक उत्पादन सुरु भएको छ । लामो समयको प्राविधिक तथा जैविक परीक्षण सफल भएपछि पोखराका तालहरूमा उत्पादित मोतीलाई ‘पोखरा मोती’ ब्रान्डका रूपमा बजारमा ल्याउने प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको मत्स्य अनुसन्धान केन्द्र, बेगनासमा झन्डै सात वर्ष लामो निरन्तर अध्ययन र अनुसन्धानपछि यो सफलता हासिल भएको हो । यससँगै अब नेपालमा माछापालनसँगै सिपी (ओइस्टर) मार्फत मोती खेती गर्ने अवसर किसानका लागि खुला भएको छ ।
मत्स्य अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक डा. मोहम्मद इकबाल हुसैनका अनुसार सन् २०१७ (वि.सं. २०७४) देखि बेगनास, रूपा र फेवातालमा सिपीमा मोती उत्पादनसम्बन्धी परीक्षण सुरु गरिएको थियो । स्थानीय जलाशयमा पाइने सिपी र बाहिरबाट आयात गरिएको उन्नत जातको सिपी दुबैमा परीक्षण गरिएकोमा उत्साहजनक नतिजा प्राप्त भएको छ । “हाम्रो अध्ययनले देखाएको छ कि पोखराका ताल तथा खोलानालामा पाइने सिपी मोती उत्पादनका लागि उपयुक्त छन्,” डा. हुसैनले भने, “यहाँको पानीको गुणस्तर, तापक्रम र वातावरण सिपीका लागि अनुकूल देखिएको छ । एक हेक्टर क्षेत्रफलमा करिब २० हजार सिपी पाल्न सकिने सम्भावना छ ।”
अध्ययनअनुसार सिपीमा मोती उत्पादन प्रक्रिया वैज्ञानिक विधिबाट गरिएको हो । सिपीभित्र सानो नाभिक (बीउ) राखी निश्चित समयसम्म तालमा पालन गर्दा मोती बन्ने प्रक्रिया पूरा हुन्छ । परीक्षणका क्रममा उत्पादन भएका मोती आकार, गुणस्तर र चमकका हिसाबले अन्तर्राष्ट्रिय स्तरका रहेको बताइएको छ ।
‘पोखरा मोती’ नाम दिइएको यस उत्पादनलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने तयारी भइरहेको छ । हाल नेपालमा प्रयोग हुने अधिकांश मोती विदेशबाट आयात हुने गरेकोमा स्वदेशमै उत्पादन सुरु भएपछि आयात प्रतिस्थापनमा टेवा पुग्ने विश्वास लिइएको छ । व्यावसायिक रूपमा मोती उत्पादन सुरु गर्न निजी क्षेत्र, सहकारी तथा युवाहरूलाई तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने योजना बनाइएको छ । कम लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले यसले रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
पर्यटनसँग जोडेर ‘पोखरा मोती’ लाई ब्रान्डिङ गर्ने, ताल अवलोकनसँगै मोती उत्पादन प्रक्रिया हेर्ने तथा बिक्री केन्द्र स्थापना गर्ने योजना पनि रहेको छ । यसले पोखराको पर्यटन प्रवर्द्धनमा थप आयाम थप्ने विश्वास गरिएको छ । वातावरणमैत्री र जल स्रोतको संरक्षणलाई प्राथमिकतामा राख्दै उत्पादन विस्तार गरिने जनाइएको छ । ‘पोखरा मोती’ ले भविष्यमा पोखरालाई मोती उत्पादनको केन्द्रका रूपमा चिनाउने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संस्कृतिको जगेर्ना गर्न बेलौरीमा माघी महोत्सव
- खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एन. आई. सी.एशिया बैंकको अनुरोध
- बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित
- 'माइस' र 'वेडिङु' पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्ड भारतमा
- डोङफेङ नेपालद्वारा विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
- काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
- होटल गरिमा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने


ट्रेन्डिङ
खबरमुकाम








