लमजुङ। गर्मी मौसम । छङछङ झरेको झरना । पानीमा खेल्न र सेल्फी लिन युवायुवती भिड नहुने त कुरै भएन । त्यसमाथि दुई दिनसम्म भएको साँस्कृतिक कार्यक्रमले लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने पर्यटकको घुइँचो नै लाग्यो ।
विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्ने हामखोलामा शुक्रबार र शनिबार भएको पाँचौ हामखोला महोत्सवले पर्यटकहरुलाई मन्त्रमुग्ध बनायो । सदरमुकाम बेसीसहरबाट यातायातमा २० मिनेटमा पुगिने यस झरना जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सडक पहुँचका कारण आजभोली दैनिक डेढ सयदेखि दुई सयसम्म आन्तरिक तथा बाह्य पर्यटक हामखोला झरनामा मनोरञ्जन लिन पुग्ने गरेका छन् ।
पर्यटकको रोजाइमा परेको यस झरनाको थप प्रचारप्रसार गर्नका लागि महोत्सव गरिएको आयोजक हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष अशोक वाइवाले बताए। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आयोजित महोत्सवमा चर्चित लोकदोहोरी गायक चिज गुरुङ, मञ्जु विक, प्रितम गुरुङ लगायतका कलाकारका साथै ‘स्क्र्याच जर्नी’ ब्याण्ड, स्थानीय कलाकार, आमा समूह, क्लब, विद्यालय र होमस्टेहरूको प्रस्तुति रहेको थियो । महोत्सवमा स्थानीय उत्पादन, संस्कृति र परम्परालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।
हामखोला झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले सडकबाट झरनासम्म पुग्ने सिँढी, फलामे पुल, बार, बस्ने ठाउँलगायतका पूर्वाधार निर्माण गरेको छ । गाउँपालिकाले पर्यटनलाई मुख्य आर्थिक आधार बनाउने लक्ष्यअनुसार आगामी दिनमा पनि थप संरचना निमार्ण गर्ने जनाएको छ । महोत्सवले गाउँपालिकासँगै सिङ्गो जिल्लाको पर्यटन प्रवर्धनमा सघाउ पुगेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
संविधानसभा सदस्य जमिन्द्रमान घलेले महोत्सवको माध्यमबाट हामखोला झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न टेवा पुगेको बताए । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले दुई पालिका मिलेर पर्यटन क्षेत्रको विकासमा लागि पर्ने बताए । पालिकाको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रलाई बनाउन दुई पालिकाले संयुक्त रुपमा काम गरिरहेको उनले बताए। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले पर्यटन क्षेत्रको विकासबाट सम्वृद्धि हाँसिल गर्न सकिने बताए ।
नवीनराज कुइँकेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





