काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचनद्र गौतमले बताए ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपयो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो । यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले जानकारी दिए ।
रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल–भारतबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण निर्णय सार्वजनिक
- बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक पुनः सञ्चालनमा
- दक्षिण लेबनानमा इजरायली आक्रमण, उच्च सैन्य अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु
- आज विश्व खाद्य सुरक्षा दिवस, मानिसका लागि खाद्यवस्तु किन बन्दैछ असुरक्षित ?
- आजको मौसम, कतै पानी पर्ने र कतै तातो हावा बहने
- रास्वपाले आज र भोलि ६९ जिल्लामा अधिवेशन गर्दै
- उपत्यकाका यी एक सय ठाउँमा आज ४ घण्टा बत्ती नहुने
- ‘नेपाली ब्रो’ कुमारद्वारा आफ्नै श्रीमतीको हत्या, मध्यरातमा प्रहरीको नियन्त्रणमा



ट्रेन्डिङ
खबरमुकाम






