रामकृष्ण बोहरा
बागलुङ। जिल्लाको बलेवास्थित प्रसिद्व धार्मिक शत्तिपिठ कालभैरव मन्दिरमा नियमित पूजाआरधना गरेर हरेलो पर्व मनाइएको छ । सदरमुकाम बागलुङ बजारदेखि दक्षिण क्षेत्रको सिधा सडक सम्पर्क अभावले कालभैरव मन्दिरमा ‘हरेलो मेला’ भने हुन सकेन ।
लीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि बलेवा सडकखण्डको कालाखोलामा खसेको भीषण पहिरो र एक्लेसालको पुरानो पहिरोले सडक नखुलेपछि हरेक वर्षझै धुमधाम गरिने भनिएको मेला नगरिएको भैरवस्थान मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो तीन वर्षदेखि हरेलोको दिन कालभैरव मन्दिरमा विशेष मेला लाग्दै आएको छ ।
बागलुङ नगरपालिका– १२ अमलाचौरस्थित कालभैरव मन्दिरमा हरेक वर्ष भदौको पहिलो मंगलबार हरेलो मेला लाग्थ्यो । हरेलो भने स्थानीयले गर्दै आएका छन् । मेलाको रुपमा मात्रै यो वर्ष हरेलो नभएको कालभैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । कालभैरव मन्दिर वडा नं. १२ मा भए पनि बागलुङ नगरपालिकाका- १०, ११, १२, १३ र १४ तथा जैमिनी नगरपालिका– १ का स्थानीयवासीले कालभैरव मन्दिरलाई कोटको रुपमा पुज्दै आएका छन् ।
सदियौं वर्षअघिदेखि कालभैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरवको पूजा गर्ने चलन छ । बाइसे चौविसे राजाको पालादेखि बलेवा कोटका सबै क्षेत्रमा हरेलो पर्व मनाउने किंवदन्ती रहेको समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए । ‘‘बलेवामा न्वाइखाने, पुली लिने, हरेलो गर्नेजस्ता अनौठा चलन छन्, यी प्रचलन पुराना हुन्’’ केसीले भने, ‘‘हाम्रो संस्कार र संस्कृति झल्किने पर्वहरुको प्रवर्धन आवश्यक छ ।’’
खेतीपाती लगाइसकेपछि किराफट्याङग्रा र बाढी पहिरोले खेती नबिगारोस् भनेर हरेलो गर्ने चलन रहेको केसीले जानकारी दिए । निरन्तरको झरी र वर्षातले गर्दा पाहुना बोलाउन नसकिने, मेला व्यवस्थापनमा कठिनाइ हुने भएपछि मेलाको रुपमा नभई स्वतः आउने भक्तजनबाट पूजा मात्रै चलाइएको समितिले जनाएको छ । मङ्गलबार स्थानीयहरु भने मन्दिर पुगेर नियमित पूजा गर्नुको साथै हरेलो गरेका थिए ।
कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दसैंको नवमी र हरेलोको दिन कालभैरवमा धेरै भीड लाग्ने गर्छ । बलेवा कालभैरव प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलीसँगै नरिवल र फलफूल चढाउने चलन छ । पछिल्लो समय पशुबलीको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । कालभैरव मन्दिरमा पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ, गुल्मी, प्युठान, अर्घाखाँची र काठमाडौँ तथा चितवनबाट दर्शनार्थी आउने गरेका छन् ।
गतवर्ष वर्षौं पुरानो मन्दिर पुननिर्माणको योजनासहित हरेलो मेला सम्पन्न भएको थियो । सङ्घीय सरकारबाट २७ लाख, प्रदेश सरकारबाट १० लाख रुपियाँ बजेटको व्यवस्थापन भएपछि मन्दिर परिसरमा पर्यटकीय संरचना समेत निर्माण गरिएको छ ।
हरेलो मेलामा आउने पर्यटकले बागलुङकै पर्यटकीय घरबासको गाउँ भनेर चिनिने भकुण्डे, भ्यू टावर, मुलाबारी पर्यटकीय क्षेत्र अबलोकन गर्न सक्छन् । बलेवा क्षेत्रमा संसारकै दोस्रो अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालीगण्डकीमाथी बनेका अग्ला र लामा पुल तथा जैमिनीधाम, गाजाको दहक्षेत्र र हाँडिकोटलाई जोड्न सकिने जनप्रतिनिधि बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






