ठोरीलाई क्रान्तिकारी पदमार्ग किन नबनाउने

काठमाडौ ।विश्वमा भएका ठूला ठूला राजनीतिक क्रान्ति, तिनको नेतृत्व गर्ने नेता तथा ऐतिहासिक महत्वका स्थल र व्यक्तिहरूले प्रयोग गरेको क्षेत्र तथा समाग्रीलाई संरक्षण गरि इतिहासको रक्षा र प्रर्यटन प्रवर्धन मार्फत मुलुकको आय वृद्धि गरेको पाइन्छ ।

हाम्रै छिमेकी मुलुक भारत, चीन माओका पालामा प्रयोग भएका युद्ध स्थल, राजनेताका निवास, उनीहरूले प्रयोग गरेका सामाग्री र बसेका स्थानको संरक्षण गरि बर्षेनी हजारौं पर्यटनकलाई भ्रमण गराउने गरेको पाइन्छ । यसको उदाहरण स्वरूप चीनको तियानमेन चोकमा माओको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न दैनिक हजारौं मानिस जाने गर्छन ।

भारतमा महात्मा गान्धी स्मारक बनाइएको छ । यि त केही उदाहरण मात्र हुन् । यि मुलुकहरूले यस्ता ऐतिहासिक स्थालको संरक्षण मार्फत वार्षिक रूपमा ठूलो राजश्व उठाउने र आफ्नो देशको इतिहास र पूर्वजको योगदान बारे स्वदेश मात्र होइन विदेशमासमेत प्रचार प्रसार गरि राष्ट्रि«यता र देश प्रेम बढाउने काम गरि रहेका छन् ।

यो आलेख बि.सं. १९९७ मा प्रजापरिणद्को काण्डमा पक्राउ परि राणा सरकारले मृत्युदण्डको सजाय तोकेका गणेशमान भागेर कसरी भारत पुगे र फेरी २००७ सालमा प्रधानमन्त्री रोलवाला राणाहरूको सामुहिक हत्या योजनाका साथ काठमाडौँ आएका उनी आफ्ना सबै साथी पक्राउ परेपछि कसरी ज्यान जोगाउदै भाग्ने क्रममा कसरी ठोरीमा पक्राउ र देशमा प्रजातन्त्र ल्याउन ज्यानको बाजी थापेर उनी भागेको त्यो रुटलाई क्रान्तिकारी पर्यटन रुट बनाएर इतिहास संरक्षण, राजनेताको सम्मान र आय आर्जनको  स्रोत बनाउन आवश्यक छ भन्ने बिषयमा केन्द्रीत छ । 

मुख्य शब्द- शसस्त्र क्रान्ति, राणा शाही, इन्द्र जात्रा, मिडिया र प्रजातन्त्र
परिचय 

कोतपर्वमा मुख्य मुख्य भारदारहरूको हत्या गरी जङ्गबहादुर राणाले आफू र आफ्ना परिवारले मात्र शासन गर्न पाउने गरी अधिकार हत्याए । वि.सं.१९०३ भदौ ३१ गतेको कोतहत्याकाण्डपछि शाह राजाहरूले भारदार मार्फत गर्दै आएको शासन सत्ता राणा परिवारको हातमा सर्यो (रोज र फिसर, १९७०, पृ. २१(२२)। राजा सुरेन्द्रबाट कास्की र लमजुङका महाराजको उपाधीसहित श्री ३ महाराज, प्रधानमन्त्री र कमाण्डर इन चिफको अधिकार हत्याएपछि जङ्गबहादुर र उनका सन्तान १०४ वर्षसम्म नेपालको अधिनायक बने (सिंह, २०६७, पृ.१) । दशौँ तथा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले मुलुकको शासनसत्ता चलाइरहँदा देश भित्र र भारत प्रवासमा रहेका नेपालीहरूले राणा शासन विरुद्ध आवाज उठाइरहेका थिए ।

भारत अङ्ग्रेजहरूको उपनिवेशबाट मुक्त भएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको थियो (नेपाल, २०७५, पृ. ३६-३९) । छिमेकी मुलुक भारत अङ्ग्रेजको उपनिवेशबाट मुक्त भएपछि नेपालमा पनि क्रान्तिको वातावरण बन्दै गयो । अनी नेपाली काङ्ग्रेसले राणा विरुद्ध शसस्त्र क्रान्तिको तयारी गर्दै थियो । यस क्रममा काङ्ग्रेसले प्रधानमन्त्रीसहित रोलवाला राणाहरूको हत्या गर्ने एउटा गुप्त योजना बनायो । त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी गणेशमान सिंहले पाए ।

बि.सं. १९९७ को प्रजापरिषद आन्दोलनका क्रममा पक्राउ परि सर्वश्वसहित आजीवन जेल सजाय भोगिरहेको अवस्थामा जेल तोडेर भागेका गणेशमान सिंह १० वर्षपछि इन्द्रजात्राका बेला प्रधानमन्त्रीसहित रोलवाला राणाहरूलाई बम हानेर सखाप पार्ने मिसनका साथ काठमाडौँमा पुगे ।

राणाहरूलाई सामाप्त पारेर राणाको नायकत्वमा प्रजातान्त्रिक सरकार चलाउने उनको त्यो मिसन सफल हुन सकेन । राणा सरकारले सिंहका सबै सहयोगी र हात हतियार पक्राउ गरेपछि उनी भेष बदलेर चितवन ठोरीको बाटो हुदै भारत जादै थिए । राणाका जासुस र सेना प्रहरीलाई छक्याउँदै भोक प्यास नभनेर चितवनको ठोरीमा पुगेपछि नेपाल भारत सीमाको एउटा पसलमा खाजा खाइरहँदा उनी पक्राउ परे ।

अध्ययन विधि र सीमा 

यो आलेख गुणात्मक अनुसन्धान विधिमा आधारित छ । नेपालको प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंहको योगदानका विषयमा केन्द्रित यो अध्ययनका लागि पुस्तक, जर्नल, पत्रपत्रिकामा प्रकाशित सन्दर्भ समाग्रीको अध्ययनलाई आधार बनाइएको छ । प्राप्त तथ्याङ्कहरूलाई वर्णनात्मक र विश्लेषणात्मक विधिबाट प्रस्तुत गरिएको छ ।

परिचय 

नेपाल प्रजापरिषद काण्डमा मृत्युदण्डको सजाय भै राणा सरकारको जेल तोडेर भारत पुगेका गणेशमान सिंह नेपालमा प्रजातन्त्र स्थापनाका पक्षमा निरन्तर सकृय भए । बीपी कोइरालासँग उनको भेट भएपछि नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीको गठन गरी सङ्गठन बनाउन सकृय भए । राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस (सुवर्णशमशेर र महावीरशमशेरको) बीच एकीकरण भएर नेपाली काङ्ग्रेसको स्थापना भएपछि सैन्यबलमा टिकेको राणा सरकारलाई शसस्त्र क्रान्ति मार्फत परास्त गर्ने योजना बन्दै थियो ।

त्यही बेला सबै रोलवाला राणाहरूलाई बमले उडाउने मिसनका साथ गणेशमान सिंह ठूलो जोखिम उठाएर काठमाडौँ पुगे । जबकी प्रजापरिषद काण्डमा उनी माथि मृत्युदण्डको सजाय कायमै थियो । सिंह नेतृत्वको मिसन टोलीलाई राजासंग सम्पर्क गरी क्रान्तिका लागि सहयोग जुटाउने, राजालाई दरवारवाट भगाएर पाल्पा लैजाने वातावरण बनाउने, असन्तुष्ट सैनिक अफिसरहरूलाई भेटेर सेनामा विद्रोह गराउने, राजधानीका जनतालाई क्रान्तिमा लाग्न प्रेरित गरी जनमत वनाउने जिम्मेवारीसमेत थियो ।

एउटा ब्रेनगन, एउटा स्टेनगन, चार पाँच वटा पेस्तोल, सय साउण्ड गोली र वायर लेस सञ्चार सेटसहित काठमाडौँ पुगेको त्यो टोलीमा सुन्दरराज चालिसे र सैन्य कमाण्डर दिलमान सिंह थापासहित १३ जना थिए (गौतम, २०६०, पृ.११९)। इन्द्रजात्राकै दिन काठमाडौँ जितेका राजा पृथ्वीनारायण शाहले हरेक वर्ष त्यो दिन विजय जुलुस निकाल्ने चलन चलाएका थिए । राणाकालमा पनि त्यस परम्पराले निरन्तरता पायो । प्रधानमन्त्रीसहित सबै रोलवाला राणा वसन्तपुरको पटाङगिनीमा जम्मा हुने र प्रधामनन्त्री (श्री ३) लाई २१ तोपको सलामी दिएर कुमारीको दर्शन गरी रथ यात्रा गर्दै जङ्गी पोशाकमा सजिएका राणाजीहरू कोही हात्तीमा, कोही बग्गीमा त कोही घोडामा सवार हुन्थे ।

(माथेमा, २०७३, पृ.११९) ।’ त्यही दिन शक्तिशाली बम पड्काएर प्रधानमन्त्रीसहित रोलवाला राणाहरूलाई एकै चिहान वनाउने योजनाको अन्तिम हुँदै गर्दा पक्राउ परेका मिसन टोलीका एक सदस्यले सूचना चुहाई दिएपछि सुन्दरराज चालिसे, दिलमान सिंह थापा मगर, राजदासवादे श्रेष्ठ,लगायत सैनिक अधिकारीहरू प्रतापविक्रम शाह, तोरण शमशेर जवरा, नोदक्रिम शाह, कृष्णविक्रम शाह, महेन्द्रविक्रम शाह आदी पक्राउ परे (जवरा, २०७०, पृ. २२२)। यसरी प्रधानमन्त्रीसहित प्रमुख राणाहरूलाई मार्ने नेपाली काङ्ग्रेसको योजना विफल भयो ।

काङ्ग्रेसले बम हान्छ भन्ने व्यापक हल्ला चलेकाले त्यो वर्षको इन्द्रजात्रामा धेरै रोलवाला राणाहरू सहभागी भएनन् (सिंह, २०७२, पृ. ४७)।’ यसरी पहिलो मिसन सफल हुन सकेन ।

राजालाई पाल्पा लैजाने योजना बिफल

गणेशमान सिंहले राजा त्रिभुवनको सवारी टुडिखेल चलाउने अनी त्यही महावीर शमशेरको हिमालयन एयरवेजको जहाज अवतरण गराई राजालाई पाल्पा लैजाने योजना बनाएका थिए । नेपाल (२०७५) लेख्छन्- राजा र क्रान्तिकारीबीच सम्पर्क स्रोतका रूपका काम गर्ने व्यक्ति थिए, सुवर्णशमशेर । दुवैबीच निरन्तर पत्राचार भैरहेको थियो ।

त्यसैका आधारमा राजालाई कसै गरी पाल्पा पुर्याउने, त्यहीबाट क्रान्ति चलाउने र सिंहदरबारमा बम हानेर राणाहरूलाई मारी दिने अनि राजालाई काठमाडौँ ल्याएर शासन चलाउने योजना बनेको थियो तर सफल हुन सकेन (नेपाल, २०७५, पृ. ८४-८९) । त्यसबीच अर्को एउटा गुप्त योजना बन्यो ।

ती दिन युवराज महेन्द्रकी श्रीमती इन्द्रराज्य लक्ष्मी बिरामी थिइन् । उनी सिकिस्त भएको खवर गरी प्रधानमन्त्रीलगायत सबै राणालाई एकै स्थानमा जम्मा गर्ने र हाते बमले उडाउने (माथेमा, २०७३, पृ. ११९) ।’ त्यो योजना पनि कार्यान्वयन हुन सकेन । साङ्कृत्यायन (सन् १९६६) का अनुसार (राणाहरूलाई नारायणहिटी दरबारमा बोलाउने, उनीहरूलाई क्लोरोफम सुँघाएर बेहोस गर्ने अथवा गोली हानेर मार्ने अनि त्रिभुवनले सत्ता हातमा लिने योजना पनि थियो (पृ. १३)।’ तर सिंह नेतृत्वको टोलीले योजना कार्यान्वयन गर्न नपाउँदै उनका सबै जसो सहयोगी साथी, हतियार र सञ्चार उपकरण पक्राउ परिसकेकाले गणेशमान सेनाविनाको सेनापतिझैँ केही गर्न नसक्ने अवस्थामा थिए ।

क्रान्तिका वेला हल्ला र अफहवा कहिले कही हतियारको तुलनामा कैयौँ गुणा बलशाली हुन्छन् । ‘जति हतियार बरामद भएको थियो त्योभन्दा सयौँ गुणा बढी हल्ला चल्यो । हल्ला सुन्दा सुन्दै राणाहरूलाई लाग्न थाल्यो मानौ काठमाडौँमा रोलवाला राणा वाहेक सबै काङ्ग्रेस भइसके (सिंह, २०७२, पृ. ५९)।’ 
 

राणाद्वारा सिंहको खोजी तीव्र  

काठमाडौँमा गणेशमान देखिए भन्ने चलेदेखि राणाहरूको होसहवास उडेको थियो । सरकारले उनलाई पक्रन पुरै शक्ति लगायो । त्यही त्रासमय वातावरणका बीच सेनाले सिंहको खोजी तीव्र बनायो ।

काठमाडौँ बस्न सक्ने अवस्था नभएपछि राँगा खरीद बिक्री गर्ने धनी ज्यापुको भेषमा घरबुना बाक्लो भोटो, सुरुवाल, इष्टकोट र भादगाउँले टोपी लगाएर उनी ठोरी (चितवन) को जङ्गल हुँदै भारतीय सिमानामा पुगे (सिंह, २०५१, पृ. ८५)।’ कैयौँ दिन भोकै यात्रा गरेकाले थाकेर लखतरान भएका गणेशमान नेपाल भारत सीमामा पर्ने एउटा खाजा पसलमा खाँदै गर्दा सुरक्षाकर्मीको पञ्जामा परे । त्यो घटनालाई राणाहरूले ठूलो विजयका रूपमा लिए  ।

वि.सं. १९९७ को प्रजापरिषद काण्डमा पक्राउ परी राणाको जेलबाट भागेका गणेशमान पक्राउ परेको घटनाबारे ‘मशहुर फरार फेला पर्यो’ शीर्षकमा गोरखापत्रले प्रथम पृष्ठमा मुख्य समाचार बनायो ।

अघि नेपाल सरकारको विरुद्ध षड्यन्त्र गरी आजन्म कारावासको सजाय पाको काठमाडौँको झ्याखनाबाट २००१ मा फरार भैराखेको गणेशमान श्रेष्ठ केही दिनअघि ठोरीमा पक्राउ भई काठमाडौँ ल्याइएको छ ।

यो व्यक्ति नेपालबाट भागेर भारतमा गएदेखि यसले नेपाल विरोधी संस्थाहरूमा प्रमुख भाग लिने गरेको मात्र होइन की सिमानामा हाम्रो निशस्त्र पुलिस माथि पेस्तोलले गोली हानी मार्ने चेष्टामा शरीकसमेत भएकाले यसको सुपुर्दगीका निमित्त भारत सरकारसंग लेखापढी चलिरहेको थियो ।

हाल गणेशमान पनि नेपालमा हिंसात्मक षड्यन्त्रमा भाग लिनालाई सुन्दरराज चालिसे, १० महिनासम्म कलकत्तामा सुवर्णशमशेरको नोकरीमा रही निजले लुकुवा हत्यारा गरी पठाएको मेजर भनाउँदो दिलमान थापा मगरइत्यादीसंग यहाँ चोर बाटाबाट आई निजका साथीहरू पक्रिएपछि लुकेर भारततर्फभाग्न खोजेका बेला ठोरीमा निजको पक्राउ भएको हो । तहकिकातको कारर्वाही चलिरहेको छ । सिंहको गिरफ्तारीले राणाहरूमा खुसीको सीमा रहेन । उनीहरूले आफूमाथिको ठूलो सङ्कट टरेको अर्थमा त्यो घटनालाई लिए । 

पक्राउ गर्ने प्रहरीलाई पुरस्कार

गणेशमान र उनका साथीहरूलाई पक्राउ गर्ने सुरक्षाकर्मीलाई सरकारले एक तह बढुवा गरी नगद इनामसमेत दिएको थियो । यस सम्वन्धमा ‘नुनको सोझो र मुलुको हित गर्नेको कदर’ शीर्षकमा गोरखापत्रले प्रथम पृष्ठमा प्रकाशित गरेको समाचारअनुसार गणेशमान सिंह नेतृत्वको टोलीले प्रधानमन्त्रीसहित रोलवाला राणाहरूलाई मार्न भनि ल्याएका हतियार मध्ये स्टेनगन १, पेस्तोल २ गन, पेस्तोलका गोलीहरू टीएनटी ११, वायरलेस सेट १ र विष्फोटक पदार्थ सरकारले बरामद गरेको थियो ।

आफ्नो टोलीका धेरै सदस्य पक्राउ परे पछि भेष वदलेर भारत जाने क्रममा ठोरी पुगेका गणेशमान पुलिसको फन्दामा परेका थिए । उनलाई गिरफ्तार गर्ने निम्न प्रहरीलाई एक तह वढुवा गरी राणा सरकारले नगद पुरस्कारसमेत दिएको थियो । पुलिस हवल्दार विष्णु सिंहलाई ठानेदारमा बढुवा गरी रु। १००० बकस, पुलिस सिपाही जंगी अहिरलाई हवल्दार दर्जामा बढुवा गरी रु। ७०० र सिपाही नरबहादुरलाई सुवर्णशमशेरले रुपैयाँ दिइ ब्यारेकका सरकारी फौजलाई आफ्नोतर्फ मिलाई सरकार विरुद्ध गराउन रुपैयाँसमेत जिम्मा दी पठाएको बद्री भन्ने तेजनन्दन जोशी नेवारलाई पक्राउ गराएकोमा हवल्दार दर्जामा बढुवा गरी रु। ९०० बकस दिइएको थियो ।

त्यसै गरी हवल्दार गम्भिरबहादुर बस्नेतलाई जमदार दर्जा, सिपाही कृष्णबहादुरलाई हवल्दार दर्जा, जमदार पूर्णबहादुर महत क्षेत्रीलाई रु। ५०० बकस र व्यारेकको सिपाही समीरबहादुर के रु। २०० बकस दिइएको थियो (गोरखापत्र, २००७ कात्तिक २१, पृ. १ )।

इन्द्रजात्राको दिन बम हानेर प्रधानमन्त्री र रोलवाल राणालाई मार्ने उद्योग गरेको अभियोग गणेशमान सिंहसहित दिलमान सिंह, तोरणशमशेर, राजदासवादे श्रेष्ठ, प्रतापविक्रम शाह, सुन्दराज चालिसेलाई जर्नेल हरिशमशेर जवरजाको इजलासले फाँसीको सजाय सुनायो ।

पाँडे (२०४५) लेख्छन्( दामल, प्राणदण्ड, सर्वस्वहरण, खर्चको मर मिनाह, बिर्ता, जात लिने, दिने कागजमा प्रधानमन्त्रीले राजाको लालमोहल लाउनुपर्थ्यो । त्यो लालमोहर एक बलियो कन्तुरमा भित्र नारायणहिटीमा राखिन्थ्यो र कन्तुरको साँचो सिंहदरबारमा रहन्थ्यो (पृ. २७०)।’ सिंहसहितका राजबन्दीमाथिको मृत्युदण्डमाथि लालमोहर लगाउन प्रधानमन्त्रीले चर्को दबाब हालेका भए पनि राजा त्रिभुवनले आलटाल गरिरहेका थिए ।

त्यतिबेला मोहनशमशेरपछि प्रधानमन्त्रीको रोलक्रममा रहेका बबरशमशेरले पेस्तोल ताकेर राजालाई मारिदिने धम्कीसमेत दिएका थिए (अधिकारी, २०७१, पृ. ८८) । २००७ सालको क्रान्तिपछि एक दिन राजा त्रिभुवनले गणेशमानलाई नेवारी भाषामै भनेका थिए ‘तपाईंलाई म कत्रो माया गर्थें ।

जव तपाईंहरूको फाँसीको सजाय कार्यान्वयनका लागि प्रधानमन्त्री लालमोहर माग्न आए, मैले तिमीहरूले मन लागेका बेला आफू मर्जी गर्यौं । लालमोहरका लागि मसँग सोध्ने सोधेनौ । अहिले कसैलाई मार्नुपर्यो भने मेरो लालमोहर किन चाहियो (गौतम, २०६०, पृ. १३४)रु वि.सं. १९९७ मा दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथिमा र शुक्रराज शास्त्री चारैजना शहीदलाई फाँसी दिँदा राजाबाट लालमोहर लगाइएको थिएन । त्यति बेला राजाले लालमोहर लगाउन आलटाल गरेको र लगत्तै नेपाली काङ्ग्रेसले शुरु गरको सशस्त्र क्रान्तिबाट राणा शासन पतन भएकाले गणेशमान र उनका साथीहरूको ज्यान जोगियो ।

निष्कर्ष 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा २००७ सालको क्रान्तिको ठूलो महत्व छ । त्यही क्रान्तिले राणाहरूको हुकुमी शासन अन्त्य गर्दै रैतीलाई नागरिकको हैसियत दियो, राणाहरूको कठपुतली बनाएका राजाहरूले शासनको अधिकार प्राप्त गरे । देशमा शिक्षा, स्वास्थ्य, यातायातको विकासको बाटो खुल्यो ।

जनताले आफ्नो अभिमतबाट सरकार बनाउने र परिवर्तन गर्ने प्रजातान्त्रिक अधिकारको जग बसाउन पाए । नेपाल र नेपाली जनताको मुक्तिका लागि प्राणको बाजी लगाएर सङ्घर्ष गरेका गणेशमान सिंह २००७ सालमा ज्यान जोगाएर काडमाण्डौंबाट पहाड खोलानाला, वनजङ्गल हुँदै ठोरी पुगेको रुटलाई क्रान्तिकारी पर्यटन मार्गका रूपमा ब्राण्डिङ गरी चलाउन सक्ने हो भने नेपालको प्रजातान्त्रिक आन्दोलन र त्यसका योद्धाहरूप्रति सम्मान हुने छ ।

त्यति मात्र होइन, भावी पुस्तालाई हामीले उपभोग गरिरहेको स्वतन्त्रता त्यसै आएको रहेनछ भन्ने ज्ञान हुने छ । पर्यटन प्रवर्धनमा टेवा पुगी मुलुकको अर्थतन्त्रमा सुधारसमेत टेवा पुग्ने छ । 

(रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौँमा उपप्राध्यापक डा. जगत नेपालद्वारा लिखिति यो आलेख मुकामको वैभव वीरगंजको धार्मिक–औद्योगिक पर्यटन विशेषाङ्क (भदौ–कात्तिक, २०८२) मा प्रकाशित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै