अलौ पर्व वि.सं. १९०४ साउन महिनामा राजा राजेन्द्रको समयमा उनी बनारसबाट फर्केर नेपाल आउँदा वीरगञ्ज नजिकै अलौ भन्ने ठाउँमा जङ्गबहादुर राणाको हातबाट सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयासको उपज हो ।
राजा राजेन्द्र र जङ्गबहादुरका सेनाबीच हालको पर्सा, अलौमा भएको लडाइँ हो । त्यस युद्धमा जङ्गबहादुरको सेनाले राजा राजेन्द्रको सेनालाई पराजित गरी राजालाई कैद गरिएको थियो ।भण्डारखाल पर्वपछि राजा राजेन्द्र विक्रम शाह पनि रानीसँगै केही समयका लागि काँशी गए । तर राजा नफर्केर षड्यन्त्रमा व्यस्त रहेकाले प्रधानमन्त्री जङ्गबहादुरले वि.सं. १९०४ मा राजालाई पदच्युत गरी युवराज सुरेन्द्रलाई गद्दीमा राखे ।
राजा राजेन्द्र केही समयका लागि मात्र काँशी गएका भए पनि त्यहाँ जम्मा भएका भारदारहरूको उक्साहटमा लागेर जङ्गबहादुरको हत्या गर्ने षड्यन्त्र गर्न लागे । जङ्गबहादुरले राजासँगै पठाएका आफ्ना गुप्तचरहरूद्वारा काँशीमा भएका सबै षड्यन्त्र एवम् योजनाको बारम्बार जानकारी पाइरहन्थे ।
जसको परिणामस्वरुप राजा राजेन्द्र विक्रम शाहका सैनिक टोलीलाई वीरगञ्जनजीकै अलौ भन्ने ठाउँमा बाटो ढुकी सबैको हत्या गरियो र राजा राजेन्द्र शाहलाई गिरफ्तार गरी जरबन्दमा राखियो ।भण्डारखाल पर्वपछी रानी लक्ष्मीदेवी राज्यबाट निकाला भई दुई छोराहरूसहित काँशी गइन् ।
.jpg)
राजा राजेन्द्र विक्रम शाह पनि रानीसँगै तीर्थयात्राका निम्ति काँशी वा बनारस जान भनी अग्रसर भए । यिनलाई काँशीतर्फ जानबाट रोक्न नवनियुक्त मुख्तियार वा प्राइम मिनिस्टर जनरल जङ्गबहादुर कुँवरले आफ्नोतर्फबाट सक्दो प्रयास गरे । तर राजाको दृढ निश्चयका अगाडि यिनको केही चलेन ।
आखिर तीर्थयात्रामा जान अनुमति प्रदान गर्न यिनलाई पनि करै लाग्यो । फलस्वरुप, प्राइम मिनिस्टर जनरल जङ्गबहादुरको निर्देशनअनुसार, ‘म तीर्थयात्राबाट फर्किएर नआएसम्म मेरो प्रतिनिधि भई देशको राजकाज तिमीले नै चलाउनू, कथम् कदाचित म त्यहाँ पक्रिएमा तिमीले गद्दीमा बसे हुन्छ ।
म नआएमा मेरो उमेर ४० वर्ष पूरा भएपछि तिमीले गद्दीमा बसे पनि हुन्छ’ भन्ने अधिकारपत्रका साथ युवराज सुरेन्द्र विक्रम शाहलाई आफ्नो प्रतिनिधि नियुक्त गरेर १९०३ साल पुषकृष्ण पञ्चमी मङ्गलवारका दिन ८ घडी ३२ पलाको साइतमा (१९०३ मङ्सिर १० गते) नेपालसरहद पार गरी भारत प्रवेश गरे । राजेन्द्रविक्रमको काँशी आगमनको सूचना पहिले नै प्राप्त भएको हुँदा इष्टइण्डिया कम्पनीका तर्फबाट कुवाडिमा डेरा दण्डाको राम्रो प्रबन्ध गरी दिएको थियो ।
राजा तथा निर्वासित भारदारको भेट
कुवाडीदेखि नै जङ्गबहादुरका विरोधीहरू राजेन्द्रविक्रमको सम्पर्कमा आउन थालिसकेका थिए । राजेन्द्रविक्रम शाहको निर्वासित भारदारहरूसँग भेट्ने क्रममा अरू तीव्रता आउन थाल्यो । कोतपर्व तथा अन्य विभिन्न समयमा नेपालबाट भागेर गएका भारदारहरूसँग राजाको भेट भयो । यसै क्रममा गोरखपुरमा बसेका प्रभु शाहलाई पनि वनारसमा भेट गर्न आऊ भनी बोलावटको पत्र गएको थियो ।
सम्वत् १९०३ साल पुष शुक्लषष्ठी वृहस्पतिबारका दिन छपरावाट राजेन्द्रविक्रमले वनारसका लागि प्रस्थान गरे । यसवेला सम्ममा श्री ५ राजेन्द्र र प्रधानमन्त्री जङ्गबहादुरबीचको खाडल झनझन गहिरो र चौडा हुँदै गइरहेको थियो । यस्तो स्थितिमा जङ्गबहादुरले राजालाई नेपाल फर्कन बारम्बार अनुरोध पत्र पठाइरहे ।
तसर्थ राजेन्द्रविक्रम शाह महारानी राज्यलक्ष्मी र चौतरीया गुरुप्रसाद शाह आदि निर्वासित भारदारहरूको सल्लाहबमोजिम अन्य पुराना बागीहरूलाई समेत प्रभावमा पारी जङ्गबहादुरलाई सिध्याउने योजनामा संलग्न हुन पुगे । यसै सिलसिलामा उदयबहादुर र शम्शेरबहादुर पाँडेलाई, माथवरसिंह थापालगायतका भारादारसहित ‘तेरा बाबु वीरकेशर पाँडेलाई मार्ने पनि जङ्गबहादुर नै हो तसर्थ म मुडको वदला मुड बक्सौँला तँ डराउनु पर्दैन’ भनी राजेन्द्रविक्रमले खातिरदारीको पञ्जा–पत्र गरी आफ्नो पक्षमा मिलाएका थिए ।
लगभग तीन महिनाको वनारस बसाइपछि आफ्ना विशेष सहयोगीहरूको परामर्शमा श्री ५ राजेन्द्रविक्रम महारानी राज्यलक्ष्मीलाई पनि पुनः दरबारमा भित्र्रयाउने उद्देश्य लिएर नेपाल फर्कने तरखरमा लागे । सम्वत् १९०३ साल चैत ७ गते वृहस्पतिवार दिनको १६ घडी १५ पलाको साइतमा वनारसबाट प्रस्थान गरी चैत्रशुक्ल नवमी अर्थात् रामनवमीका दिन दरबार प्रवेश गर्नेछु तसर्थ कान्छा बडामहारानीलाई जसरी हुन्छ त्यही साइतमा नेपाल फर्काउने काम गर भनी जीवनाथ शर्मालाई राजेन्द्रविक्रमले पत्र लेखे ।

परन्तु राजेन्द्रविक्रमको यो अभियान पनि सफल हुन सकेन । निर्वासित भारादार र श्री ५ राजेन्द्रका बीच भएको सरसल्लाह र योजनाका एक एक सूचना खड्गबहादुरहरूद्वारा प्राप्त भइरहेकाले राजेन्द्रविक्रम कुन उद्देश्य लिएर नेपाल फर्कंदैछन् भन्ने कुरा पनि जङ्गबहादुरबाट छिपेको थिएन । तसर्थ रामनवमीका दिन हनुमानढोका प्रवेश गर्ने श्री ५ राजेन्द्रको यो योजना पनि असफल रह्यो र उनी सुगौलीमै रोकिन बाध्य भए ।
आफ्ना सारा कार्यक्रम र योजना विफल भएपछि राजेन्द्रविक्रम निकै आत्तिए । स्थितिलाई सामान्य पार्ने विचारले ‘हामी दुईका बीचमा फाटो ल्याउने उद्देश्यले कसैले केही कुरा सुनाए पनि नपत्याउनू । मैले तँलाई केही भनेको छैन र भन्ने पनि छैन । तर भगुवाहरूले र श्री ५ कान्छा बडामहारानीले तेरा विरुद्धमा जति कुरा मसँग गरेका छन् ती सबै म त्यहाँ आएपछि तेरा सामुन्यमा निरूपण गर्नेछु’ भनी सुगौलीबाट राजेन्द्रविक्रमले चैत्रशुक्ल पूर्णिमाका दिन जङ्गबहादुरलाई पत्र लेखे ।
राजेन्द्रविक्रम नेपाल आइनपुग्दै बीचैमा रोकिएको खबरले बागी भारादारहरू सुगौलीमा जम्मा हुन थाले । यी विद्रोहीहरूमध्ये विशेष गरेर शाह, पाँडे, थापा एवम् बस्नेतहरू नै मुख्य थिए र पुराना दरबारिया हुँदा यिनीहरूप्रति राजेन्द्रविक्रम विशेष आशावादी पनि थिए ।
अब जङ्गबहादुरलाई सिध्याउनुसिवाय अर्को विकल्प नभएको ठहर गरी यसको उचित व्यवस्था गर्न चौतरिया गुरुप्रसाद शाह, काजी जगतराम पाँडे र रघुनाथ पण्डित आदि नियुक्त गरिए । यसमा राजेन्द्रविक्रमलाई गोपालपुरका राजाको पनि नैतिक समर्थन प्राप्त थियो । यो योजना सफल भएमा गुरुप्रसाद शाहलाई प्रधानमन्त्री, जगतराम पाँडेलाई कमाण्डर इन चिफ र रघुनाथ पण्डितलाई बडागुरुजुको पदमा आशीन गराउन राजेन्द्रविक्रम तयार थिए । तर जङ्गबहादुरलाई नपन्छाई कुनै पनि कार्य फत्ते गर्न नसकिने भएकाले उसको वध गर्नु नितान्त आवश्यक थियो ।

यसै कुरालाई दृष्टिगत गरी आफ्ना विश्वस्त तीन सैनिकलाई भरिएको पिस्तोलसहित जङ्गबहादुरलाई जहाँ भेटे पनि मार्ने भन्ने लालमोहर गरी गोप्यरूपले काठमाडौँ पठाइयो । जङ्गबहादुरको हत्या गर्ने उद्देश्यले गुप्त भेषमा आएका ती सैनिकहरू किलागलस्थित एकजना दासको घरमा लुकेर बसी अनुकुल समयको प्रतीक्षा गर्दै थिए ।
परन्तु जङ्गबहादुरका गुप्तचरहरूले शङ्काका लागि उनीहरूको जीउ खानतलासी गर्दा लालमोहरसहित पिस्तोल बरामद भयो । तत्पश्चात् तिनीहरूलाई श्री ५ सुरेन्द्रविक्रमसमक्ष उपस्थित गराई केरकार गर्दा षड्यन्त्रको सारा भेद खुल्यो । षडयन्त्रको पर्दाफास भएपछि जङ्गबहादुरले बिगुल फुक्न लगाई भाइ–भारादारलगायत सम्पूर्ण कर्मचारीलाई टुँडिखेलमा सामेल हुने आदेश दिए ।
तत्कालीन राजा राजेन्द्र भारतको तीर्थवर्त गर्न गएका बेला श्री ३ महाराजसमेत बन्न सफल जङ्गबहादुरले राजा राजेन्द्रलाई विभिन्न षड्यन्त्र गरी राज्यच्युत गरेका थिए । भारतमा निर्वासित जीवन बिताइरहेका चौतारिया गुरूप्रसाद शाह, रङ्गनाथ पौड्याल र अन्य व्यक्तिहरूले राजा राजेन्द्रलाई नेपाल फर्की जङ्गबहादुरलाई मारी राज्य चलाइबक्सनुपर्दछ यस काममा हाम्रो सहयोग रहने छ भनी राजा राजेन्द्रले ४०० जना जति फौज तयार गरे ।

४०० जनाको फौज र आफ्ना समर्थकको सहयोगमा राजा राजेन्द्रले वि.सं. १९०४ मा बरेवा कब्जा गरी अलौ भन्ने ठाउँमा क्याम्प खडा गरे । यस कुराको सुइँको जङ्गबहादुरले थाहा पाएपछि जङ्गबहादुरले ककन सिंह र बमबहादुरको नेतृत्वमा राजा राजेन्द्रका फौजसँग लड्न केही फौज पठाए ।
राजा राजेन्द्र र जङ्गबहादुरका फौजमा दुवैतिर घमासान युद्ध भयो र आखिरीमा राजा राजेन्द्रका फौजको पराजय भयो । राजा राजेन्द्रलाई राजबन्दीको रूपमा हनुमानढोकामा राखियो र वि.सं. १९३८ मा बन्दी अवस्थामा नै उनको मृत्यु भयो । यसै घटनालाई नेपालको इतिहासमा अलौ पर्व भन्ने गरिन्छ ।\
(यो आलेख मुकामको वैभव वीरगंजको धार्मिक–औद्योगिक पर्यटन विशेषाङ्क (भदौ–कात्तिक, २०८२) मा प्रकाशित छ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना



ट्रेन्डिङ
खबरमुकाम






