नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिका –५ वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा यस वर्ष नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लागेको छ ।
केही वर्ष अघिसम्म सुनसान रहने गरेको सो मन्दिरमा केही समय यता आएर धार्मिक पर्यटकको चाप अत्यधिक बढ्दै गएको हो । साउन महिनामा सबैभन्दा बढी पर्यटक त्यहाँ पुगेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
महादेव मन्दिर र त्यहाँको मनोरम दृश्य अवलोकन गर्न वार्षिक करिब ३० देखि ४० हजार नेपाली र भारतीयहरु त्यहाँ पुग्न थालेको जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले यस पटक साउन महिनामा मात्र १५ हजार बढी पर्यटक पुगेको बताए ।
सो मन्दिर नेपालगन्जबाट २५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर–पूर्व पहाडको चुचुरोमा अवस्थित छ । सन्तान नभएकाहरूले त्यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेकाले सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङ र सीमापारी भारतका विभिन्न स्थानबाट पर्यटकहरू दर्शनका लागि आउनेगरेका छन् ।
पर्यटकहरू पहाडको उकालो चढिरहँदा जति थकित देखिन्छन्, सन्तानेश्वर मन्दिर दर्शन गरेर फर्किदा उनीहरू त्योभन्दा बढी हर्षित र खुसी देखिने गरेका छन् । चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै पहाडको मनोरम दृश्य अवलोकन गर्न पाउनु सन्तानेश्वर महादेव मन्दिरको विशेषता हो ।
मन्दिर परिसरबाट राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको अवलोकन समेत गर्न सकिन्छ । मन्दिरको दर्शन गर्न नेपाल र भारतका विभिन्न ठाउँका भक्तजन यस पटक साउनमा धेरै ठुलो संख्यामा आएको नरैनापुर –६ का वडा अध्यक्ष प्रेम मौर्यले बताए ।
उनका अनुसार नरैनापुर कोहलाबाट दुई घण्टाको हिँडाइपछि सन्तानेश्वर महादेव मन्दिर रहेको फेदमा पुग्न सकिन्छ । त्यहाँबाट डाँडाको बाटो हुँदै करिब एक घण्टा पैदल हिँड्नुपर्छ ।
पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्दा भारतीय पर्यटकहरू उत्साहित हुनेगरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष साहको भनाइ छ । उहाँका अनुसार मन्दिरसम्म पुग्न सडक विस्तार भएसँगै पर्यटकको आकर्षण बढ्दै गएको हो ।
यसलाई पर्यटकीय हब बनाउन लुम्बिनी प्रदेश सभाका सदस्य कृष्णा केसी नमुनाले खानेपानी, सडक र सौर्य उर्जामा बजेट ल्याएर काम गराइरहेको बताए । उनले यसअघि त्यहाँ खानेपानी र विद्युतको समस्या रहेको बताए ।
स्थानीयका अनुसार सडक नहुँदा मन्दिरसम्म पुग्न निकै समस्या थियो । अहिले सडक बनेपछि पर्यटकहरु ठुलो संख्यामा आउन थालेको उनीहरुको भनाइ छ । बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका छन् ।
सिराज खान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह
- ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
- पञ्चकोट सर्किटः ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल


ट्रेन्डिङ
खबरमुकाम







