गोसाइँकुण्ड यात्रा गर्दै हुनुहुन्छ ?
यदि गोसाइँकुण्डको यात्रा गर्दै हुनुहुन्छ र फरक यात्रा अनुभूति गर्न चाहनुहुन्छ भने तपाईँका लागि दुप्चेश्वर तर्फको बाटो उपयुक्त विकल्प हुन सक्छ । हुन त धुन्चे र दुप्चेश्वर दुवै तर्फका मार्गहरुको आआफ्नै विशेषता छन् । दुवै मार्गले यात्रीहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्छन् । मुख्य कुरा तपाइँ कस्तो अनुभूति चाहनुहुन्छ भन्ने हो ।

सामान्यतया गोसाइँकुण्ड जानका लागि रसुवा र नुवाकोटतर्फका बाटाहरु प्रयोग हुन्छन् । ती मार्गहरुको आआफ्नै विशेषता छन् । रसुवा तर्फको बाटो बढी चलनचल्तीमा रहेको बाटो हो । उक्त बाटोमा तिर्थयात्रीको भार पनि बढी छ । बढी चल्तीको अर्को बाटो भने दुप्चेश्वर तर्फको हो ।

दुप्चेश्वर तर्फ समुन्द्रटारघ्य, ङफेदी, सिसिपु, तालु, फेदी, हाइक्याम्प, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । त्यस्तै दुप्चेश्वर, माला भञ्ज्याङ, गोसाइँकुण्ड, गोल्फूभञ्ज्याङ–ठाडेपाटी, सूर्यकुण्ड, गोसाइँकुण्ड नुवाकोट तर्फका अन्य वैकल्पिक मार्गहरु हुन् । यी मार्गहरुमा पनि तिर्थयात्रीको चाप बक्लै हुने गर्दछ । यी मध्ये दुप्चेश्वर, घ्याङफेदी, गोसाइँकुण्ड मार्ग तुलनात्मक रुपमा छोटो छ । यो पुरानो बाटो हो तर पदमार्गका रुपमा विकास गरिएको भने भर्खरै मात्र हो ।
धुन्चेबाट गोसाइँकुण्ड पुग्दासम्म एउटै डाँडाको यात्रा तय गर्नुपर्ने हुन्छ भने दुप्चेश्वर तर्फबाट थुप्रै डाँडा, खोँचहरु पार गर्दै जानुपर्ने भएकाले यात्रा रोमाञ्चक हुने पक्का छ। करीब १००–२०० मिटरको फरकमा भेटिने मनोरम झरना, खोला र खोल्चाहरुको चिसो पानीसँगको साक्षात्कार, विभिन्न जातका फूल तथा चराचुरुङ्गीको सामिप्यता दुप्चेश्वर तर्फको मार्गको विशेषता हो ।

नजिकबाट तामाङ जातिको संस्कृति बुझ्न, पदयात्राको साँच्चिकैको अनुभूति गर्न, थाइ विमान दुर्घटना स्थलको आवलोकन गर्न, भेडा र चौँरीको बथानसँग जम्काभेट गर्न यो बाटो उत्तम विकल्प हो । दुप्चेश्वर महादेव, बछलादेवी, घ्याङकी इन्द्रायणी देवीको दर्शन र सूर्यमति नदीको उद्गम स्थल सूर्यकुण्डको स्नानको समेत अवसर पाइनु दुप्चेश्वर तर्फको बाटोको अर्को विशेषता हो ।

दुप्चेश्वर तर्फबाट गोसाइँकुण्ड जाँदा दुप्चेश्वर मन्दिर आसपासमा सुविधासम्पन्न होटलहरु सञ्चालनमा छन् भने सिसिपुसम्म बोलेरो जीप, टाटा सुमो जस्ता गाडीहरु लैजान सकिन्छ । सिसिपुमा पर्यटक÷तिर्थयात्रीलाई ध्यानमा राखेर केही होटलहरु सञ्चालनमा आएका छन् । त्यस्तै तालुमा केही होमस्टे समेत सञ्चालनमा छन् । त्यसपछि आउने फेदीमा सुन्दरीजल–गोल्फुभञ्ज्याङ तर्फबाट आउने बाटो जोडिन्छ ।

दुवै तर्फका तिर्थयात्रीहरु त्यहाँबाट सँगसँगै यात्रा गर्न पाउँछन् । फेदीमा पर्यटक लक्षित होटलहरु सञ्चालनमा छन् । समग्रमा भन्नुपर्दा करिब २ किलोमिटर यात्रा पछि कुनै होटल भेटिन्छ।
फेदीबाट हिँडेका तिर्थयात्रीहरु हाइक्याम्प पुगेर चिया नास्ता गर्न रुचाउँछन् । त्यसो त हाइक्याम्पमा पनि बसोबासको व्यवस्था छ । मेलाको समयमा, फेदी, हाइक्याम्प र सूर्यकुण्ड क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाले स्वास्थ्य सिविर पनि राख्दै आएको छ । फेदीबाट सूर्यकुण्ड सम्मको यात्रामा ठाउँठाउँमा भेँडाका बथान र चौँरीको हुल भेटिन्छ ।
सूर्यकुण्ड पुग्दा हामी ४ हजार ६ सय ३२ मिटरको उचाइमा पुग्छौँ । यहाँबाट गोसाइँकुण्ड ९४३८० मिटर० पुग्नका लागि करीब १ घण्टा ओरालो झर्नुपर्छ । धुन्चेतर्फबाट गोसाइँकुण्ड पुगेकाहरु थाकिसकेका कारण धेरैजसो सूर्यकुण्ड नपुगी फर्कन्छन् भने दुप्चेश्वर तर्फबाट जाँदा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वती कुण्डको अलावा पावर्ती कुण्ड, गणेश कुण्ड, वर्ध कुण्ड जस्ता थुपै्र कुण्डको दर्शनको सौभाग्य मिल्छ । साथै, सूर्यकुण्ड छेउको थुम्काहरुबाट तल निहाल्ने हो भने अन्य थुप्रै कुण्ड र चुचुराको मनोरम दृश्यावलोकनको सौभाग्य मिल्छ ।

अर्को कुरा गोसाइँकुण्ड र सूर्यकुण्डको जल दुप्चेश्वर महादेवलाई चढाएपछि मात्र तिर्थयात्रा पुरा हुने जन विश्वास छ। यो बाटो प्रयोग गर्दा एउटै यात्रामा दुप्चेश्वर दर्शनको समेत सौभाग्य मिल्छ ।

दुप्चेश्वर तर्फको बाटोबाट जानेहरु हिँड्न नसकेमा घोडाको सुविधा खासै छैन र घोडाको टाप र त्यसको लिदीले बनाएको हिलाम्मे बाटो पनि छैन । गत सालसम्म तालु र फेदीको बीचमा पर्ने जङ्गलको बाटोमा केही समस्या थियो तर अहिले त्यहाँ पनि सिँढी सहितको बाटो निर्माण गरिएको छ ।

दुप्चेश्वर तर्फको बाटोमा चन्दनबारीको जस्तो चिजको स्वाद लिन पाइँदैन तर यहाँको स्थानीय उत्पादनको स्वाद भने अवश्य पाइन्छ । मूल्यमा एक रुपता यहाँको अर्को विशेषता हो । आफ्नो अनुकुलता अनुसार जताबाट यात्रा गरे पनि हुन्छ तर, मेलाको समयमा गोसाइँकुण्ड क्षेत्रमै गरिने बसाइ कष्टकर भएको हाम्रो अनुभव छ । त्यसैले दर्शन पछि बाटो छोट्याएकै राम्रो हुन्छ।

करीब ५०० मिटरको उचाइबाट ४६३२ मिटरको उचाईमा पुग्नु पक्कै पनि चुनौतीपूर्ण छ । छोटो दुरीमा पुग्न तुलनात्मक रुपमा बढी उकालो चढ्नै पर्छ ।
यात्रा गर्दा आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गर्नुहोस् । जोसिएर भन्दा पनि सुस्तरी एकनाशको हिँडाइ उचित हुन्छ । अहिले ठाउँठाउँमा बसोबासका लागि थर्पुहरु समेत बनाइएका छन् । आफ्नो अवस्था र समय बिचार गरी यात्रा गर्नुहोस् र समयमै बास बस्नुहोस् । यहाँहरुको सबैको यात्रा सुखद् रहोस् । जय दुप्चेश्वर ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
आरडी शर्मण





