काठमाडौं । साउन १५ गते बिहीबार नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।
संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताए । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उनले भने ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ ।
चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







