काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले डिजिटल प्रविधिले बैंकिङ क्षेत्रमा कारोबार गर्न सहजता र अवसर सिर्जना गरे पनि यसले नयाँ प्रकारका जोखिमहरू समेत भित्र्याएको बताएकी छन्।
आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भविष्यको बैंकिङ क्षेत्रलाई सुरक्षित र दिगो बनाउन प्रविधिको सदुपयोगसँगै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
डेपुटी गभर्नर ढुंगानाले कोभिड महामारीपछिको सुस्तताबाट मुलुकको अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्किएको समेत बताइन् । उनले भनिन्, ‘समग्र आर्थिक गतिविधिमा क्रमशः सुधार देखिएको छ। चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान छ भने मुद्रास्फीति ४.४ प्रतिशतको लक्षित सीमाभित्रै छ। यसले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको सङ्केत गर्छ।’
डिजिटल बैंकिङको विस्तारले भुक्तानी प्रणालीमा क्रान्ति ल्याएको स्वीकार गर्दै उनले यसका चुनौतीबारे सचेत समेत गराइन् । ‘पहिले कुनै बैंकमा समस्या आउँदा पैसा झिक्न मानिसको लाइन लाग्थ्यो तर अब मोबाइलबाटै एकैछिनमा ठूलो रकम झिक्न सकिन्छ, जसले नयाँ प्रकारको तरलता जोखिम सिर्जना गरेको छ,’ उनले भनिन्, ‘बढ्दो डिजिटल बैंकिङ, अनलाइन भुक्तानी र बढ्दो सूचना प्रविधिको प्रयोगसँगै साइबर सुरक्षाको जोखिम पनि बढेको छ।’
राष्ट्र बैंकले यिनै जोखिम न्यूनीकरण र नियमनका लागि २०७५ सालमा भुक्तानी प्रणाली विभाग स्थापना गरी काम गरिरहेको उनले जानकारी दिइन्। उनले राष्ट्र बैंकले बैंकहरुलाई लाइसेन्स दिन हतारमा कुनै निर्णय नलिने समेत स्पष्ट पारिन्। केही वर्षअघि अस्वस्थ प्रतिस्पर्धाका कारण बैंकहरूलाई मर्जरमा जान बाध्य पारिएको स्मरण गर्दै उनले भनिन्, ‘राष्ट्र बैंकले गरेको अध्ययनले नै १५ देखि १८ वटा वाणिज्य बैंक उपयुक्त हुने देखाएको छ। कुनै ठोस अध्ययन र आधारबिना हतारमा नयाँ बैंक खोल्ने र केही समयपछि फेरि मर्जरमा जाने नीतिगत अस्थिरताले कसैलाई फाइदा गर्दैन।’
उनले बैंकिङ क्षेत्रका विद्यमान समस्याहरू जस्तै बढ्दो खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताए । ‘बैंकहरूले दिएका सुविधाहरूलाई ‘टेकन फर ग्रान्टेड’ रूपमा लिनु हुँदैन,’ उनले भनिन्, ‘कर्जा प्रवाह गर्दा व्यावसायिक ढंगले विश्लेषण गर्न र कर्जा असुलीमा ध्यान केन्द्रित गर्न आवश्यक छ।’ उनले संस्थागत सुशासन र व्यावसायिक संस्कृतिको विकास गर्न सके बैंकिङ क्षेत्र थप बलियो हुने विचार समेत व्यक्त गरिन् । डेपुटी गभर्नर तिम्सिनाले राष्ट्र बैंकले भविष्यका चुनौतीहरूलाई सामना गर्न र वित्तीय स्थायित्व कायम गर्न आवश्यक नीतिगत व्यवस्था र नियमनमा निरन्तर काम गरिरहेको समेत बताइन् । उनले बैंकिङ क्षेत्रको दिगो विकासका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






