मुकाम खोज शृङ्खला १ः ठोरी–माडी क्षेत्रको अयोध्या तथ्य कि कथ्य ?

हालका प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (वि. सं. २०७७ असार २९ गते भानु जयन्तीको अवसर) मा ठोरीलाई श्रीरामको जन्म भएको स्थान हो भनेर अभिव्यक्ति दिए । देशकै सबैभन्दा जिम्मेवार पदमा बसेको व्यक्तिले वीरगंजपश्चिम ठोरीलाई राम र अयोध्यासँग जोडेपछि देशविदेशमा प्रधानमन्त्री ओलीमाथि हचुवा अभिव्यक्ति दिएको भन्दै विभिन्न टिकाटिप्पणी भए । यसले विवाद मात्रै जन्माएन, सँगै रामको जन्मस्थल यकीन गर्नका लागि अध्ययन अनुसन्धानका लागि बाटो खोल्यो । हामीले यसै विषययमा हालसम्म प्राप्त भएका तथ्य र प्रमाणका आधारमा ठोरी–माडी क्षेत्रमा रहेका रामायणकालीन भनिएका चिजबस्तुबारे खोजबिन गरेका छौँ ।

भगवान श्रीरामको तपस्याका लागि सीताले गुफामा बस्दा आफ्नै हातले ढुङ्गामा कपेर बनाएको शिवलिङ्ग हालसम्म पनि छ । त्रेता युगमा अस्तित्वमा रहेको सीतागुफावरिपरि विभिन्न किसिमका चट्टानले कम्पाउण्ड वालको काम गरेको हो किजस्तो लाग्ने विभिन्न स्वरूपका ढुङ्गाका आकार अझै देखिन्छन् । त्यहाँका चट्टानको प्रकृति अन्यत्रको भन्दा केही फरक देखिन्छ ।

सुमेरु पर्वतलाई नै सुमेश्वर पर्वत भन्न थालेको स्थानीयको दाबी तथ्यसङ्गत नै देखिन्छ । किनकि सयौँ वर्षसम्म उस्तै अटल छ सुमेरु पर्वत र चीता नदी पनि अटुट बगिरहेकै छ ।  त्यही सुमेरू–चीताबीचका अझै क्षयीकरण नभएको भौगोलिक अवशेष नै हाम्रो ठूलो प्रमाण हो– त्यहाँ पुग्ने जो कोहीले देख्न सक्छन् । सयौँ वर्ष लामो इतिहास बोकेको सीतागुफाजस्तो पवित्रस्थल रहेका कारण सुमेरु पर्वतलाई भग्नावशेष मात्रै मान्न हुन्न ।

उता रामायणमा पनि सुमेरू पर्वतको वर्णन छ । त्यस ढुङ्गालाई स्थानीयहरू हालसम्म पनि हनुमानले उठाएको सुमेरू पर्वतको अवशेष भनी ढोग्छन् । त्यसै गरी मनले चिताएको पूरा हुने भएकाले यहाँको नदीलाई चीता नदी भनिएको हो भन्ने किम्बदन्ती रहेको स्थानीय अगुवाहरूको तर्क छ । चिता र ठुटे खोलाको सङ्गमस्थल गुफाको पूर्वतर्फ छ । दुई नदीको सङ्गमस्थलभन्दा पश्चिमतर्फ रहेको यो पहाडमा एकपटक उठाएर फेरि थपक्क राखेझैँ ठूलो चट्टान ढुङ्गो स(साना ढुङ्गामाथि ट्याक्क अडेको छ ।

ठोरीको दक्षिणतर्फ लमतन्न छ– सुमेश्वर पर्वत । यस पर्वतको ६०/६५ किलोमिटर पश्चिममा वाल्मीकि आश्रम छ । ठोरीको अमृतधाराभन्दा दक्षिणतर्फ कलकल बगिरहेको चीता नदी छ । बस्तीभन्दा उचाइमा रहेर उत्तरतर्फ फर्किएको यस पर्वत टाढाबाट हरियाली डाँडाजस्तो मात्र देखिन्छ । त्रेता युगकी जगतमाता सीताको गुफा (सीतागुफा) लाई बोकिरहेजस्तो देखिन्छ ।  सीतासँगको यत्रो मिल्दोजुल्दो विषयवस्तु र नजीकै हनुमान नगर, ब्रह्मनगर, शिकारीबास, हालको र्यु नदी (सरयु नदीको अपभ्रंश नाम), साविकको ठोरी–माडीमा अयोध्यापुरी गाउँ, थोरै पश्चिममा वाल्मीकि आश्रम, त्यहीँ रामका छोरा लव र कुशको जन्म अनि शिक्षादीक्षा सबै हुनुले श्रीराम अन्यत्रका हुन् भन्ने कुरा नै गलत साबित हुने स्थानीय बुद्धिजिबी बताउँछन् । 

रामले अश्वमेघ महायज्ञ गर्दा छोडेको घोडा पश्चिमतर्फ लागेको र वाल्मीकि आश्रममा लवकुशले घोडा समातेर बाँधेको प्रसङ्गले पनि वाल्मीकि आश्रमको पूर्वतर्फको ठोरी-माडी क्षेत्र नै अयोध्या हो भन्न योभन्दा जबरजस्त प्रमाण अरू केही चाहिँदैन । तर, यो कुरा आधिकारिकरूपमा पुष्टि गर्न राज्य,  पुरातत्त्व विभाग, धर्मशास्त्रका विज्ञ, अध्ययनरअनुसन्धानकर्ता र शोधकर्ता लाग्नुपर्ने आजको आवश्यकता रहेको छ ।

 
माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका धेरै तथ्य छन् । प्रमाण जुटाउन पहिले पनि इतिहासविद्, भूगोलविद्,  पुरातत्त्वविद लयायतको टोलीद्वारा खोज(अनुसन्धान गरिएको र यो कार्य हालसम्म पनि जारी रहेको माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी महतोले बताइन् । उनले भनिन्, ‘पुरातत्त्व विभागलगायत माडीका धार्मिक गुरुहरूको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरिएको थियो ।’

महतोले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण जुटाउन सकिने बताइन् । उनले भनिन्, ‘अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन् । यी धार्मिक स्थलमा पुराना भग्नावशेष, पुराना इँटाका टुक्रा, तामाका पैसा, माटाका भाँडा, इनार आदि छन् ।’
यी सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्ने विषयमा विश्वस्त रहने आधार फेला पार्न सकिन्छ भन्ने ठाउँहरू पर्याप्त छन् । यसका लागि प्रमाणहरू जुटाउनेतर्फ लाग्नुपर्छ । तीनै तहका राज्यको सहयोग मिले पुरातात्त्विक वस्तुको उत्खनन् र प्रमाण जुटाउन सकिने माडी क्षेत्रको विकासमा योगदान दिइरहेका महदत्त काफ्लेले बताए । उनले भने, ‘यहाँ केही न केही छ, अहिलेसम्म ओझेल परेको छ, प्रधानमन्त्रीले त्यत्तिकै बोल्नुभएको छैन ।’ 

माडीमा मानव बस्ती बसाउने सुरुवाती चरणमा घर बनाउँदा, जग्गा सम्याउँदा पुराना सिक्का, मूर्ति भेटिने गरेका थिए । अहिले पनि कतिपय ठाउँमा खन्दा त्यस्ता पुरातात्त्विक वस्तु फेला पर्ने गरेका छन् । कतिपय प्रमाणहरू भेटिएका भए पनि व्यक्तिको घरघरमा रहेका छन्, तिनको संरक्षण र अनुसन्धान हुन सकेको छैन ।

माडी नगरपालिका– ८ मा पर्ने आयोध्यापुरी गाउँ अहिले चर्चामा छ । अयोध्यापुरी भरतपुरबाट ४८ किलोमिटर दूरीमा दक्षिणतर्फ पर्छ । यहाँ वरिपरि ठूला डाँडा छन् । यसै अयोध्यापुरीमा राम सीता बसेको बैकुण्ठ ताल, राम-सीता गुफालगायतका प्राचीन संरचना छन् । माडी वडा नं. ९ को सीमानजीक रामसीता नामका गुफा छन् । वडा नं. ८ मा बैकुण्ठ तालसँगै एक घण्टा पैदल हिँडेपछि धनलक्ष्मी छहरा पुगिन्छ । यी सबै संरचना राम सीतासँग जोडिन्छन् । माडीकै वडा नं. १ मा अवस्थित वाल्मीकि आश्रम पनि राम सीतासँग जोडिन्छ । रामले सीतालाई सो आश्रममा छाडेको र लव कुशको जन्म तथा शिक्षा लिएको ठाउँको रूपमा वाल्मीकि आश्रमलाई लिइन्छ । यो आश्रम अयोध्यापुरीबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मुकामसँग भने, ‘हिन्दू धर्मावलम्बीहरूको लागि मर्यादा पुरुषको रूपमा स्थापित भगवान रामको जन्मस्थलबारे विश्वव्यापीरूपमा खोज, अनुसन्धान चलिरहेकै बेला प्रधानमन्त्रीस्तरबाट खुलासा हुनु सबैको लागि खुशीको कुरा हो । किनभने ठोरी नेपालकै वाल्मीकि आश्रमसँग जोडिएको क्षेत्र हो ।’  

त्यसै गरी माडीस्थित त्रिवेणीधाम वाल्मीकि आश्रमदेखि ठोरीसम्मको क्षेत्र वाल्मीकि ऋषिको तपस्याक्षेत्र हो । ठोरीस्थित सुमेश्वर पर्वतको छेउ सरस्वती नदी किनारामा धार्मिक महत्त्वको सीतागुफा छ । महर्षि वाल्मीकिले छोरी मानेको सीता मातालाई केही समय यही गुफामा राखेको जनविश्वास छ । यहाँ बस्दा सीता माताले पूजा अर्चना गरेको शिलाहरू अझै पनि अवशेषको रूपमा छन् । रामायण र पुराणहरूमा उल्लेख गरिएका वर्णन ठोरी(माडी क्षेत्रसँग मिल्ने भएकाले रामको वास्तविक जन्मभूमि यसै क्षेत्रमा हो भन्न सकिन्छ ।

मर्यादा पुरुषोत्तम रामसँग सम्बन्धित सबै ठाउँलाई जोडेर निर्माण हुने रामायण सर्किटमा माडी–ठोरीलाई जोड्नुपर्छ । किनभने त्रेतायुगमा माता जानकी जनकपुरबाट जाँदा एक रात ठोरी क्षेत्रमा विश्राम गरेको किम्बदन्ती छ  । भारतको अयोध्यामा भगवान रामको जन्म भएको कुरा रामायणलगायतका धार्मिक शास्त्रहरूमा उल्लिखित लक्षण तथा चिह्नसँग नमिल्ने भएकाले अयोध्यापुरी नै वास्तविक अयोध्या भएको प्रमाणहरू जुटाउन लाग्नुपर्छ । 

त्यसै गरी वाल्मीकि आश्रम र देवघाटको समदूरीमा अयोध्यापुरी छ । राम र लक्ष्मण शिकार खेल्न वाल्मीकि आश्रम क्षेत्रकै जङ्गलमा जान्थे भनिन्छ । रामचन्द्र गुरु वशिष्ठकहाँ शिक्षा लिन डुङ्गा चढेर देवघाट जान्थे भन्ने तथ्यलाई विश्वास गर्ने हो भने ठोरी-माडी क्षेत्रको अयोध्या नै वास्तविक अयोध्या हो । यस क्षेत्रमा पुरातात्त्विक शिला, प्राचीन मूर्तिका अवशेषहरू पनि प्रशस्तै पाइन्छन् । 

वाल्मीकि आश्रमदेखि ठोरी–माडी क्षेत्रको सुमेश्वर पर्वत मालासम्ममा रामायणसँग सम्बन्धित अन्य प्रशस्तै धार्मिकस्थलहरू रहेका छन् । राजा दशरथले नुहाउने गरेको भनी विश्वास गरिएको वैकुण्ठ ताल, राम र सीताले आराम गर्ने रामसीता गुफालगायतका धार्मिकस्थल अयोध्यापुरीमा रहेका छन् र उक्त स्थानमा विभिन्न तिथिमा भव्य पूजाआराधनासमेत हुँदै आएको पाइन्छ ।

रामायणमा उल्लेख गरिएको अयोध्याबाट बग्ने सरयू नदी हाल माडी अयोध्यापुरी नजीकैबाट बग्ने र्यु नदी भएको स्थानीयको दाबी छ । ‘सरयु’को ‘स’ लोप भएर ‘रयू’ भएको हुन सक्ने देखिन्छ– यसबारे गम्भीर अनुसन्धान गर्न जरूरी छ । रयु र राप्ती नदीबीचका केही उच्च स्थलमा हजारौँ वर्ष पुराना वस्तुहरूको अस्तित्व केही वर्षअगाडि फेला परेको हुनाले सोको अनुसन्धान र ठोरी–माडी आसपासका क्षेत्रमा उत्खनन तथा खोज, अनुसन्धान हुनुपर्नेमा स्थानीयले जोड दिँदै आएका छन् ।

राज्यको वेवास्ता खेप्दै आफैँ तङ्ग्रिँदै माडी–ठोरीको पर्यटन 

दूरपश्चिम मधेसको दक्षिण कुनामा एकान्तबास बसेजस्तै लाग्थ्यो कुनै बेलाको ठोरी । सुरुआती समयमा त ठोरीबाट चितवन पुग्न पनि कठिन थियो । बाटो असहज थियो, अन्कन्टार जङ्गल थियो । हिँडडुल गर्नुपरे जङ्गलको यात्रा गर्नुपर्ने अर्को बाध्यता थियो । तत्कालीन ठोरीको बस्तीमा बसेका बासिन्दालाई चितवन जिल्ला सदरमुकाम जानभन्दा पर्साको सदरमुकाम वीरगंज जान सहज हुने भन्दै सीमा पुनर्गठन समितिले २०३४÷३५ सालमा ठोरीलाई पर्सा जिल्लामा गाभेको थियो ।

हुलाकी राजमार्गको चहलपहलपछि भने ठोरी आफ्नो अनुहारमा चमक ल्याउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम उ त्यहीँ ठोरीमा जन्मिएका हुन्’ भन्दै अघिल्लोपटकको प्रधानमन्त्री कालमा विवादास्पद अभिव्यक्ति दिएपछि ठोरीको कुनै न कुनै रूपमा चर्चा हुन थाल्यो । चर्चाको हिसाबले अहिले ठोरी अन्य पर्यटकीय गन्तव्यभन्दा कुनै पनि हिसाबले कम छैन । तर, पर्यटकीय पूर्वाधार लगभग शून्य छ ।

जङ्गल र पहाडले घेरेर राखेको ठोरीको एकान्त बस्ती आफैँमा सिङ्गै पर्यटकीय प्याकेज हो । वीरगंजबाट हुलाकी राजमार्गको बाटो पश्चिम लाग्ने जो कोहीले पनि कुनै युरोपियन बस्तीको सयर गरेको अनुभव गर्न सक्छ । त्यसमाथि पर्सा राष्ट्रिय निकुञ्जसँग समेत जोडिएको हुँदा यहाँ पर्यापर्यटनको समेत सम्भावना रहेको छ । तराई÷मधेसमा पर्ने भए पनि ठोरी गाउँपालिका पहाडैपहाडले घेरिएको मनोरम उपत्यका हो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि रिजर्भ एरियाको संगमस्थलमा पर्ने भएकाले पनि वन्यजन्तु तथा पर्यापर्यटनका लागि उपयुक्त स्थल हो ।

ठोरीबाट वीरगंजसँग कालोपत्रसहितको दुई लेनको चौडा सडक बनेको छ । त्यति मात्रै होइन, चितवन छिचोल्ने कच्ची सडकसमेत तयार भइसकेको छ । अहिले पर्यटकीय आकर्षणको केन्द्र बन्ने वातावरण बन्दै आइरहेको छ ।

ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ सरकारका काम कारबाहीप्रति सन्तुष्ट छैनन् । सांस्कृतिक ऐतिहासिकरूपमा यति ठूलो महत्त्व बोकेको ठोरी राज्यको पर्यटकीय प्राथमिकतामा कहिल्यै नपर्नुले हैरान छन् । ‘ठोरीमा पर्याप्त मात्रामा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभावका कारण पर्यटकीय गतिविधि चाहेजति बढाउन सकिरहेका छैनौँ,’ श्रेष्ठले भने, ‘सुविधासम्पन्न होटल तथा अन्य पूर्वाधार नहुँदा पर्यटकलाई यही क्षेत्रमा रोक्न सकिरहेका छैनौँ ।’ उनले वन्यजन्तु पर्यटन र ऐतिहासिक गन्तव्य भएकाले पनि पर्यटनको प्रचुर सम्भावना रहेर पनि सङ्घीय र प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा अपेक्षाकृत सहयोग नगरेको गुनासो गरे ।

मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरेको केवल कागजमा मात्रै सीमित भएको छ । तत्कालीन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७८ साल चैत ११ गते ठोरीमा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ठोरीलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नका लागि रु १० करोड विनियोजन गर्ने घोषणा पनि गरेको थियो । अहिलेसम्म आएका कुनै पनि प्रदेश सरकारले ठोरीको पर्यटन विकासका लागि पूर्वघोषणा गरेअनुरूपको बजेट विनियोजन गरेका छैनन् ।

ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरे पनि बजेट भने विनियोजन नगरेको बताए । ‘मधेस प्रदेशको मन्त्रिपरिषदकै बैठक बसेर पर्यटकीय गन्तव्य निर्माणका लागि रु १० करोड बजेट विनियोजन गर्ने निर्णय हुँदा यस क्षेत्रमा पर्यटनको विकास हुने ठूलो आशा गरेका थियौँ तर मधेस सरकारको घोषणा केवल कागजमा मात्रै सीमित हुँदा हामी निराश भएका छौँ,’ उनले भने ।

सबै दलका शीर्ष नेता पूर्वप्रधानमन्त्रीहरू नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ठोरीको अवलोकन भ्रमण गरिसकेका छन् । ठोरी क्षेत्रको विकासमा सहयोग गर्ने आश्वासन पनि दिएका छन् । तर, ‘राम उ त्यहीँ ठोरीमा जन्मिएका हुन्’ भनेर अभिव्यक्ति दिएर लामो समयसम्म आलोचना खेपेका प्रधानमन्त्री ओली नै हालसम्म ठोरी नपुगेका अध्यक्ष श्रेष्ठको गुनासो रहेको छ । 

यो आलेख पर्यटनप्रधान त्रैमासिक म्यागेजिन मुकामको वैभव वीरगंजको धार्मिक औद्योगिक पर्यटन विशेषांक (भदौ असोज कार्तिक, २०८१) मा प्रकाशित छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै