पर्यटन प्रवर्धनमा टेवा पुर्याउन श्रमदान र चन्दा सहयोग सङ्कलन गरी स्थानीयले २७ किलोमिटर पदमार्ग बनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खयरवाराही ताल पुग्न स्थानीयवासीले पदमार्ग निर्माण गरेका हुन् । खयरवाराही तालनजिक प्रसिद्ध धार्मिक स्थल खयरभारानी थान रहेको छ । खयरवाराही ताल समुद्री सतहदेखि करिब चार हजार सात सय मिटर उचाइमा रहेको छ । पदमार्ग निर्माण गरेपछि खयरभारानी दर्शन गर्न जाने भक्तजन र पदयात्रीलाई सहज भएको छ ।
पाउद्वार गाउँदेखि सुरु हुने पदमार्गले पर्यटकीय स्थल खोप्रालेक हुँदै अन्नपूर्ण हिमालको फेँदीमा रहेको खयरवाराही तालसम्म निर्माण गरिएको छ । पदमार्ग सुन्दर र आकर्षक छ । पदमार्गमा अहिलेसम्म एक करोड ७० लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । आफन्तको सम्झना र स्मृतिमा गाउँलेले पदमार्ग, चौतारी र खानेपानीका धारा निर्माण गर्ने गरेका छन् ।
खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा, खयरखोला हुँदै खयरवाराही ताल जोड्ने पदमार्ग, चौतारी निर्माण र खानेपानीको सुविधा विस्तार गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले बताए । उनका अनुसार पाउद्वार र छिमेकी गाउँका तथा भक्तजनले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेका छन् ।
यो अवधिमा पदमार्ग र चौतारी निर्माण गर्न ६७ जनाभन्दा बढीले सहयोग गरेको उनले बताए । सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उनले बताए ।
पदमार्गमा पदयात्रा गर्दा हिमशृङ्खलाको सुन्दर दृश्य, पहाडी रमणीय भूगोल, वनजङ्गल र चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ । पाउद्वारदेखि खोप्रा हुँदै खयरवाराही ताल पुग्न दुई दिनसम्म पदयात्रा गर्नु पर्छ । पदमार्ग निर्माण भएपछि पर्यटकीय स्थल खोप्रा र खयरवाराही तालसम्मको पदयात्रा गर्न सहज भएको छ । स्थानीयको प्रयासबाट निर्माण भएको पदमार्ग उदाहरणीय भएको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले बताए ।
खयरवाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बली चढाउने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोसी बाढीमा बेपत्ता ७३४ जनाको शव फेला, कुन जिल्लामा कति ?
- चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए
- हिल्सा नाकाबाट फर्किने कैलाश मानसरोवर तीर्थयात्रीलाई पदयात्रा दस्तुर मिनाहा
- भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय



ट्रेन्डिङ
खबरमुकाम






