सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई समितिको अन्तिम प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि मुलाहिजा नराखेर प्रतिवेदन आएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । आयोगले प्रतिवेदन पेस गरेलगत्तै मन्त्रालयले आफ्नो ‘वेबसाइट’मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार सार्वजनिक गरेको ८७ पृष्ठ लामो प्रतिवेदनमा २९ बुँदे निश्कर्ष प्रस्तुत गर्दै सौर्य जहाज दुर्घटना प्रविधिक कारण नभई मानवीय त्रुटीका कारण भएको निष्कर्ष निकालेको हो । आयोगले सौर्य एयरलायन्स कम्पनी, विमान चालक, फेरी उडान सम्बन्धी कार्यविधि पालना नगर्नुलाई घट्नाको मुख्य चार कारक उल्लेख गरेको छ ।
आयोगको प्रतिवेदनमा सौर्य एयरलायन्सको जहाज दुर्घटनाको प्रमाण नष्ट गर्न केन्द्रित रहेको उल्लेख छ । २९ बुँदे निश्कर्षका २२ नम्बर बुँदामा भनिएको छ, ‘घटनाको दिन दुर्घटनास्थलबाट सामानहरू हटाउनु र सौर्य एयरलाइन्सको कार्यालय, सिनामंगलमा ढुवानी गर्नु प्रमाण नष्ट गर्नु जस्तै हो । यसले विमान दुर्घटनाका घटनाहरूमा प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न विमानस्थल प्राधिकरणको लापरबाहीलाई देखाउँछ।’
सरकारी आयोगको प्रतिवेदनमा दुर्घटनाको कारण ‘जहाज टेक अफ गर्ने क्रममा अत्यधिक गतिका साथ सिधा माथि उठ्नु’ थियो र त्यसले जहाजलाई ‘डिप स्टल’ मा लगेको र जहाज खसेको उल्लेख छ । जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको प्रतिवेदनमा उल्लेख छ । जहाज दुर्घटनामा पर्नुभन्दा ३४ दिन अगाडिदेखि बिग्रेर विमानस्थलमा थन्केको अवस्थामा रहेको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनमा यो उडानलाई ‘फेरी फ्लाइट’ भनिएको छ । फेरी फ्लाइट भनेको जहाज मर्मतका लागि उडाउने जहाज बुझिन्छ । फेरी जहाज उडान गर्दा मर्मतसँग सम्बन्धित प्रविधिक मात्र बोक्न पाउने स्पष्ट कार्यबिधि पालन नगरेर एयरलायन्स कम्पनीले गम्भीर लापरबाही गरेको समेत प्रतिवेदनमा छ । साथै कार्गो र ब्यागेज व्यावस्थापन सबै प्रक्रियामा समेत कम्पनीको लापरबाही देखिएको छ । ‘सामान राम्रोसँग नबाँधिएको, उडान व्यवस्थापन हतारमा गरिएको र सामानहरू यात्रुको क्याबिनमा समेत राखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लुब्रिकेन्ट, कन्ट्याक्ट क्लिनर जस्ता प्रज्वलनशील वस्तु समेत क्याबिनमा राखेको पाइएको उल्लेख छ ।
गत वर्ष साउन ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा पाइलट मनीष शाक्य भने बाँच्न सफल भएका थिए । जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







