धनपालगढी
सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये मोरङको धनपालगढी पनि एक हो । यसलाई सेनवंशी राजाहरुभन्दा पूर्वका बङ्गालका पालवंशीय राजाकै पालाको गढी रहेको मानिन्छ । हरेक वर्ष वैशाख १० गते मेला लाग्दै आएको धनपालगढीमा ऐतिहासिक र पुरातात्विक महत्वको राजाको दरबारको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भ्रियाउन सकिन्छ । हालको अवस्थातिर मध्यनजर गर्ने हो भने चारैतिर मानव बस्तीले घेरिएको ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जङ्गलभित्र धनपाल राजाको ऐतिहासिक दरबारको अवशेष मात्र बाँकी छ ।
दरबारका केही इट्टा र ताम्रपत्र, देवालको भग्नावशेष, इनारको पाटा मात्रै अवशेषका रुपमा छन् । राजा धनपालकी छोरी फूलवादेवी असाध्यै राम्री र शक्तिशाली भएकाले उनले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेको किम्बदन्ती छ । भारतबाट आएका अल्लाहरुदल नामका राजकुमारले राजकुमारीसँग कुस्तीमा पराजय भोगेपछि धनपालसँगै युद्ध गरेका थिए । धनपालसँग पनि हारेपछि अल्लाहरुदलले छलकपट गरेर हजाममार्फत दाह्री काट्ने निहुँले धनपालको घाँटी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनविश्वास छ ।
धनपाल राजाले खनेका नौ पोखरीमध्ये तीन पोखरी अझै बाँकी रहेको मानिएको छ । गढीमा रहेको राजाको मन्दिरलाई विशेष गरी यहाँका थारू समुदायले पुज्ने गरेका छन् । यहाँ भाकल गरेको सबै कुरा पुग्ने जनविश्वास गरिन्छ । विराटनगरबाट २१ किलोमिटर उत्तर पूर्व र महेन्द्र राजमार्गको बेलबारीबाट आठ किलोमिटर दक्षिणमा रहेको छ ।

सुनवर्षी पोखरी
प्राकृतिक रुपमा निकै सुन्दर देखिने पोखरीको पानीमै टेकाएर हजारौं संख्यामा फूलघोडा गाडिएको छ । हात जोड्दै प्रार्थना गर्नेको भीड उत्तिकै छ । पोखरीको चारैतिरका वनमा टहलिनेको संख्या झन् धेरै देखिन्छ । कञ्चन पानीमा रुखको छायाले पोखरीको सुन्दरतामा निखार ल्याइदिएको छ । झट्ट हेर्दा लाग्छ सुनवर्षी पोखरी स्वर्गकै कुनै टुक्रा हो । र, त्यहाँ उपसना गर्नेहरु यही भावले सुनवर्षीको ऐतिहासिकतालाई थप महत्व दिँदैछन् ।
हरेक नयाँ वर्षमा मोरङको साबिक गोविन्दपुर हाल रतुवामाई नगरपालिका ५ मा अवस्थित सुनवर्षी पोखरी नयाँ वर्षको दिनका झकिझकाउ हुने गर्छ । तराईका आदिवासी ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाउने गर्छन् । वैशाखभरि विभिन्न थानमा मेला भर्ने प्रचलन छ । सुनवर्षीबाट शुरु भएको मेलाको क्रम सिरुवा मेलाका रुपमा अन्यत्र महिना दिनसम्म चल्छ । मेला भर्न एवम् सुनवर्षी महाराजको ग्रामथानमा पूजाअर्चाना गर्न पूर्वी तराईको झापा,मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् ।
तीन विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी रहेको छ । परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको छ । हाल आएर स्थानीय राजवंशीहरूले सुनवर्षी पोखरीको डिलमा महाराजको एउटा मन्दिर पनि निर्माण गरेका छन् । मन्दिरमा आएर भाकल र पूजा गर्ने चलन छ । भाकल पूरा भए हर्षोल्लास गरिन्छ । सुनवर्षीलाई साक्षात् ईश्वर मान्दछन् ।
मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना



ट्रेन्डिङ
खबरमुकाम






