
ललितपुर । ललितपुरको लुभुमा महालक्ष्मी महाभैरवको जात्रा सुरु भएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथको रथारोहण भएसँगै अक्षय तृतीयाको दिनदेखि लुभुमा महालक्ष्मी महाभैरवको जात्रा सुरु हुने गर्छ । महालक्ष्मी महाभैरवको जात्रामा एउटा खटमा गणेश, महालक्ष्मी, कुमार तथा अर्को खटमा गणेश, महाभैरव र कुमारीको मुकुट राखेर बाजागाजासहित टोल टोलमा खट बिसाउँदै नगर परिक्रमा गराइन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर चतुर्थीमा रथजात्रा सुरु हुन्छ भने यसको अघिल्लो दिन अक्षय तृतीयामा लुभुमा जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथको रथजात्रामा समावेश भएका चार पाङ्ग्रामध्ये अघिल्लो दायाँ पाङ्ग्रामा भैरव, लुभुको हयग्रिब भैरव रहेको विभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख रहेको स्थानीय तथा संस्कृति अभियन्ता रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो भैरवलाई रुद्रकुण्ड भैरव पनि भन्ने गरिन्छ । परापूर्वकालमा १२ वर्षसम्म पानी नपर्दा रातो मत्स्येन्द्रनाथलाई लिन गएको टोलीमा चार जना भैरव पनि रहेको किंवदन्ती छ । ती चार भैरवमध्ये लुभुका हयग्रिब भैरव पनि एक रहेको जनश्रुति छ । त्यसैले रातो मत्स्येन्द्रनाथको जात्रा गर्ने बेला लुभुको भैरवको पनि जात्रा चलाएको श्रेष्ठले बताउनुभयो । रातो मत्स्येन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिनसम्म चल्छ । सोही क्रममा आफन्त, साथीभाई, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । जात्रा सकिएलगत्तै महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइन्छ ।
ललितपुर लामाटार, टीकाथली, चाँगाथली, लुभुवासीले अक्षय तृतीयाका दिनदेखि एक सातासम्म जात्रा मनाउने गर्छन् । अष्टमीका दिन जात्रा मनाउनेले लुभुमा विराजमान गराइएको महालक्ष्मी र गणेशको भव्य पूजा गर्छन् । यसलाई स्थानीयले ‘सरकार पूजा’ पनि भन्ने गर्छन् । यसदिन गणेशलाई बोका बली दिने चलन पनि छ । जात्रा सम्पन्न नभएसम्म यस क्षेत्रका जात्रा मान्ने बासिन्दाले खेतबारी तथा निर्माण गर्न नहुने परम्परा रहेका श्रेष्ठले बताए । तत्कालीन राजा सिद्धिनरिसंह मल्लका पालादेखि लुभुमा यो जात्रा प्रारम्भ भएको भाषा तथा संस्कृतिविद् बुद्धिरत्न श्रेष्ठले बताए। उनले भने, “स्थानीय भाषामा ‘लुँ’ भनेको सुन र ‘भु’ भनेको थाल हो । भक्तपुरका राजा शिवसिंह मल्लको मृत्युपछि उनकी महारानी गङ्गाले सुनको थाल बेचेर हालको बस्ती बसालेपछि लुभु अर्थात् सुनको थाल भन्न थालिएको किंवदन्ती छ ।
जात्राको पहिलो दिन भगवती लाछीमा पूजा गरिएको छ । दोस्रा दिन देवीस्थान, तेस्रो दिन गोभ्रटारेश्वर महादेव प्राङ्गण, चौथो दिन नासल तगटु, पाँचौँ दिन सरकारी पूजाआजाका लागि कोयलाछी, छैटौँ दिन इँटाटोल नारायण देवल मन्दिर, सातौँ दिन महालक्ष्मी मन्दिरअगाडि र आठौँ दिन भगवती मन्दिरअगाडि पूजा गरी भोलिपल्ट बाजागाजासहित देवीदेवतालाई भित्र्याउने परम्परा छ ।
आकाश भैरवको जात्रा
महालक्ष्मी महाभैरवको खट जात्रा सुरु भएको तेस्रो दिन भने कागजमा कोरिएको चित्रको आकाश भैरवको छुट्टै खटमा राखेर जात्रा गरिन्छ । लुभुका बासिन्दाले बिरामी हुँदा सबैभन्दा पहिला आकाश भैरवलाई सम्झेर पूजा गर्छन् । संस्कृतविद् श्रेष्ठका अनुसार आकाश भैरवलाई जात्रा अवधिभर जमिनमा नछोई राख्नु पर्छ । आकाश भैरवलाई भुइँमा छुन नहुने मान्यता अनुसार पहिला पहिला जात्रा अवधिभर दिनरात नभनी पालो पालो रथ बोक्ने गरेकामा आजभोलि आकाश भैरवलाई भुइँमा नछुने गरी खटमा झुन्डाएर राख्ने उनले बताए। अन्तिम दिन आकाश भैरवलाई सेलाउने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन