काठमाडौँ । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । यस प्रदेशको कृषि, व्यापार, पर्यटन, उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गर्न लागेको हो । संघले २०६३ सालदेखि यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सव आयोजनाका लागि तीन करोड रुपियाँ खर्च हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सवमा करिब १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरेको सङ्घका अध्यक्ष पुष्प कुँवरले बताए।
महोत्सवमा कृषि, जडीबुटी, स्थानीय उत्पादन, अटो मोबाइल्स, होटल लगायतको गरी पाँच सय वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । यस वर्षको महोत्सव करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अध्यक्ष कुँवरले बताए । उनले महोत्सव तयारीको काम ७० प्रतिशत पूरा भइसकेको जानकारी दिए ।
महोत्सव उद्घाटनका लागि सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा दिएको छ । महोत्सव उद्घाटन अवसरमा प्रमुख अतिथिलाई १० किलोको फूलको माला लगाइने आयोजकले जानकारी दिएको छ । सुरुवाती चरणमा सङ्घले सुदूरपश्चिम प्रदेशको विकासका लागि राज्यसमक्ष २१ बुँदे माग राख्दै २१ किलोको फूलको माला लगाउने गरेको थियो ।
महोत्सवको १८ औं संस्करणसम्म आइपुग्दा अप्टिकल फाइबर, सुदूरपश्चिम विश्वविद्यालयलगायतका पाँच माग पूर्णरुपमा पूरा भएको सङ्घका महासचिव ओम विष्टले जानकारी दिए । उनले छ वटा माग पूरा हुने क्रममा रहेको र १० वटा माग अझै पूरा हुन बाँकी रहेको जानकारी दिए ।
गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गर्नुपर्ने, प्रदेश प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेज स्थापना, चीनसँग जोड्ने नाका खोल्नुपर्ने, प्रदेश सांस्कृतिक सङ्ग्रहालय निर्माणलगायतको माग पूरा हुन नसकेको सङ्घले जानकारी दिएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने जनाइएको छ । यसैगरी थारु गाउँसमेत रहने सङ्घले जानकारी दिएको छ । महोत्सवको हरेक टिकट बिक्रीबाट केही रकम सामाजिक विकासको क्षेत्रका लागि छुट्टयाइने सङ्घका अध्यक्ष कुँवरले बताए। उनले महिलाको आर्थिक सामाजिक सशक्तीकरणका लागि प्रति टिकट दुई, सङ्घको विपद् व्यवस्थापन कोषका लागि पाँच र लागु औषध दुर्व्यसनविरुद्धको अभियानका लागि एक रुपियाँ छुट्याइने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





