काठमाडौँ । आज कार्तिक शुक्ल एकादशीको दिन सनातन धर्मावलम्बीहरुले हरिबोधिनी एकादशी मनाउँदै छन्। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। यसै दिन नवान्न ९नयाँ अन्न० को हवन गर्ने नेपाली परम्परा छ। आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।
अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्। अहिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष गरिने चतुर्मास व्रत समापन गर्न हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
पञ्चाङ्गहरूमा मङ्गलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






