काठमाडौँ । पर्यटन याम सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो ।
बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पालाई समेटेर २०६८ मा गुरिल्ला ट्रेकको पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको पहलमा २०७२ सालमा उक्त पदमार्ग घोषणा गरिएको थियो । २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए ।
माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले ‘जनयुद्ध’लाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । गुरिल्ला ट्रेक ‘जनयुद्ध’को उद्गमस्थल मानिने रोल्पाको थवाङसहित ‘जनयुद्ध’ले सघन प्रभाव पारेका ठाउँलाई समेटेर नक्साङ्कन गरिएको थियो । पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका एक सदस्य सुरेन्द्र रानाले बजेटमा गुरिल्ला ट्रेकका नाम आउनु सकारात्मक भए पनि त्यसको कार्यान्वयन पक्ष महत्त्वपूर्ण हुने बताए ।
'गुरिल्ला ट्रेकको गाइड बुक, म्याप सन् २०१२ मा बनिसकेको छ, हामीले महिनौँ लगाएर यो पदमार्ग पहिचान गरेका थियौँ, सुरुसुरुमा केही प्रवर्द्धनका काम पनि भए, पछि बिस्तारै ओझेलमा पर्दै गयो' उनले भने, 'पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने दायित्व राज्यको हो, बजेटमा घोषणा गरेर मात्र हुँदैन, कार्यान्वयन हुनुपर्छ । टानसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाले सुरुसुरुमा केही प्रवर्द्धनात्मक काम गरेपनि पछिल्लो समय कुनैपनि पर्यटकीय गतिविधि यस क्षेत्रमा हुन सकेका छैनन् । “लामो दूरी भएकाले यो ट्रेक खर्चिलो पनि छ, व्यवस्थित पूर्वाधारलगायत पर्यटकलाई चाहिने सेवासुविधा नहुँदा हामीले पर्यटक पठाउन सक्ने अवस्था छैन । उनले सडक सञ्जाल विस्तारले पुराना र चल्तीका पदमार्ग सङ्कटमा परेको भन्दै तिनको संरक्षण गर्नुपर्ने बताए ।
सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । करिब १९ दिनमा गर्न सकिने मध्यम दूरीको पदयात्रा बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिन्छ । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्छ ।
ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ्गाउन सकिन्छ । बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिन्छ । बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ÷दश दिनमा टुङ्गाउन सकिन्छ । समय र अन्य व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर ‘गुरिल्ला ट्रेक’मा जान सकिन्छ ।
पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न ‘गुरिल्ला ट्रेक’को अवधारणा ल्याइएको थियो । अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी यो पदमार्गको विकास भने हुन सकेको छैन । ‘गुरिल्ला ट्रेक’ पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा परिरहेको स्थानीयवासीको गुनासो छ । चालु आवमा सङ्घ सरकारको बजेट विनियोजन गरेकाले केही आशा जगाएको स्थानीय बताउँछन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





