वराहक्षेत्रः उत्पति, किम्बदन्ती र अवस्थिति

काठमाडाैँ । वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थ हो। कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र नगरपालिका वडा नं.- १ मा अवस्थित छ। ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो। बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआज हुने गर्दछ।

यो स्थान सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ। वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो। वि।सं। १९९० सालको भूकम्पबाट यहाँको मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा अन्तिम पटक जुद्ध शमशेरले यो मन्दिरलाई पुनर्निर्माण गराएका थिए। वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन्। त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू पाइएका छन्।

वराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट भइनै रहन्छ। तर पनि यहाँ ठूलाठूला मेलाहरू लाग्ने अवसर भने कार्तिक पूर्णिमा र मकर संक्रान्ति हुन्। कार्तिक पूर्णिमाका अवसरमा विशेषगरी भारत तिरबाट र मकर संक्रान्तिका अवसरमा नेपालको पहाडी भागबाट मेला भने ज्यादा जसो मानिसहरू बराहक्षेत्रमा आउने गर्दछन्। यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रसस्त मात्रामा बराहक्षेत्र पूग्ने गर्दछन्। तसर्थ उक्त स्थानमा दिनहुँजसो मेला लाग्ने जस्तो महशुस हुने गर्दछ। वराहक्षेत्र पूर्वी नेपालको सबै भन्दा महत्त्वपूर्ण पर्यटकीय स्थल हो। धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा टाढा सम्म फैलिएको छ। पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्त्वपूर्ण छ। वराहक्षेत्र वरपरका छौगा, धारा, पर्वत, वन जंगल तथा त्यहाबाट देखिने रमणीय दृश्यहरूले समेत यस स्थानको पर्यटनको विकासको सम्भावना लाई थप टेवा पुर्याएका छन् ।
हिन्दू पौराणिक कथाका चार क्षेत्रमध्ये २ भारतमा र २ नेपालमास् कुरुक्षेत्र र धर्मछेत्र भारतमा र बरहक्षेत्र र मुक्तिनाथ वा मुक्तिचेत्र नेपालमा छन्। भगवान विष्णु, वराहको अवतार लिएर आफ्नो लामो दाँतमा पृथ्वीलाई राखेर पातालमा डुब्नबाट बचाए। तब भगवान आफ्नो श्रीमती लक्ष्मीसँग हिमालय र पहाडको बेंसीमा कोशी नदीको किनारमा बस्नुभयो। त्यसो भएर त्यस ठाउँको नाम त्यो घटनाको पछाडि राखियो। त्यहाँ भगवान विष्णुको बरह अवतारको ठूलो र सुन्दर छवि छ।

बराह अवतार र हिरण्याक्षको कथा
हिन्दू धर्मका अनुसार भगवान विष्णुले (बराह बँदेल) को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने (हिरण्याक्ष) नाम गरेको राक्षसको बध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पृथ्वीको उद्दार गर्नु भएको थियो ।
पौराणिक कालमा कश्यप ऋषिकी पत्नी दितीलाई गर्भ रहेको ३ वर्ष सम्म पनि बच्चा जन्मिएन। यो देखेर सबै देवताहरू र ऋषी कश्यप ब्रम्हाजी सँग सोध्न गए। ब्रह्माजीले सबै कुरा सुने आफ्नो योग दृष्टी लगाए। त्यसपछी ब्रह्माजीले सबैलाई गर्भबाट २ वटा बालकहरू जन्मिने तर अनिष्टकार बालकको जन्म हुने बताए । यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए। केही दिन पछाडी दितीको गर्भबाट हिरण्याक्ष तथा हिरण्यकश्यपु नामका दुईवटा बालकहरूको जन्म भयो। बालकै छँदा यी दुवैले स्वर्ग मत्र्य तिनै लोकमा उप्रदव मचाउन थाले।
हिरण्याक्ष ठूलो भए पछि महाबली असुर भयो। ब्रह्माजीको कठोर तपश्या गरेकाले ब्रह्माजीले हिरण्याक्षलाई इछ्छा अनुसारको बरदान माग्ने अनुमती दिए। ब्रह्माजीको आज्ञा पाएर हिरण्याक्षले सँधै अमर रहन पाउने बरदान माग्यो। ब्रह्माजीले जन्मिएपछी मर्नु पर्छ अमरताको बरदान दिन सकिदैन यो बाहेक केही अरु बरदान माग्ने कुरा राखे तर हिरण्याक्ष आफू अमरता बाहेक अरु कोही बर नमाग्ने ढिट गर्न थाल्यो। हिरण्याक्षले गरेको तपश्यालाई ध्यानमा राखेर ब्रह्माजीले जनावर बाहेक मनुष्य, देवता, यक्ष, किन्नर, आदी कसैको हातबाट मृत्यु नहुने बरदान दिए। हिरण्याक्षले जनावर सामान्य नै हो भन्ने सोच गरेर ब्रह्माको बरदान स्विकार र्गयो तै पनि जनावर जो आमाको कोखबाट पैदा नभएको जनावरले मात्र मार्न पाउने बचन राखेरै छोड्यो। ब्रह्माको बरदान पाएर हिरण्याक्षले जता ततै उत्पात मचाउन थाल्यो। यसरी उत्पात मचाउदै जनावरहरू यसै पृथ्वीमा छन् यो पृथ्वी नै जलमा डुबाइ दिँदा आफू सँधै जिवित रहने छु भन्ने मनसायले एक दिन पृथ्वीलाई लात्तीले हानेर पाताल पुर्याई दिए। तब सारा चराचर जगत नै जलमग्न भयो। यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान बिष्णुको आराधना गरे।
त्यसैबेला ब्रह्माजीको नाकबाट भगवान विष्णु बँदेलरूप लिएर अवतरीत भए। उनले हिरण्य असुर मारेर भुमीलाई आफ्नो दाँतले उठाएर पूर्ववत गरे। बराह भगवानले नै श्राद्ध पद्धती चलाएको कुरा हिन्दू ग्रन्थमा लेखिएको छ।

बराह क्षेत्रदेखि खुवालुङ त्रिवेणीसम्मको पदमार्गले ब्युँताएको पर्यटन
नेपाली शब्दकोशका अनुसार पर्यटक भन्नाले देश–विदेश घुम्ने, भ्रमण गर्ने घुमक्कड व्यक्ति बुझिन्छ। विगतमा नेपाली समाजमा पर्यटकभन्दा विदेशी पर्यटक भन्ने बुझाइ थियो। समयको बदलाबसँगै विदेशी मात्र होइन नेपालीमा पनि स्वदेश र विदेश घुम्ने प्रचलनको विकास भएको छ। यसले आन्तरिक पर्यटन प्रवद्र्धनलाई टेवा र्पुयाएको छ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न ठाउँमा नयाँ पर्यटकीय गन्तव्यको विकास भएको पाइन्छ । पूर्वी नेपालमा धार्मिक, सांस्कृतिक, प्राकृतिक मनोरम दृश्यलाई जोडेर नयाँ गन्तव्य विकास गरिएको छ। जुन गन्तव्य हो ‘चतरा टु खुवालुङ ।’ जहाँ स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकले धार्मिक स्थलको दर्शन, मनोरम दृश्यको अवलोकन, जलयात्रा, सांस्कृतिक अवस्थाको अध्ययन र हाइकिङ पनि गर्न सकिन्छ।

सुनसरीको इटहरीबाट पकली, बक्लौरी, कालाबन्जार हुँदै चतरा पुग्न सकिन्छ। चतराबाट बराहक्षेत्र, अक्कररिभ हुँदै खुवालुङ, त्रिवेणीको करिब ११ किलोमिटर यात्रा निकै रोमाञ्चित हुन्छ।
कुनै बेलाको सुनसान हुने सुनसरीको चतरा आजभोलि व्यस्त छ। आन्तरिक पर्यटकको चहलपहल छ। शनिबार र सार्वजनिक बिदाको दिन कोशीपुल घुम्न आउने, पिकनिक आउनेले भरिभराउ हुन्छ। ‘जतिबेला धरान सहर विकसित हुँदै थियो त्यो बेला चतरा सुनसान थियो,’ स्थानीय वासिन्दा युवराज भट्टराईले भने, ‘अहिले पर्यटकीय गन्तव्य बनेको छ ।’ चतरा धनकुटा, उदयपुर र भोजपुर जाने पैदल यात्रीको बिसौनी पनि हो।

चतरासँगै आफ्नै लयमा बगेको छ–सप्तकोशी नदी। सप्तकोशी नदीको वहाब र दृश्यमा रोमाञ्चित हुनेहरू भेटिन्छन्। खोलाको कलकल पानी आफैमा संगीतमय लाग्छ। बाहिरी जिल्लाका आन्तरिक पर्यटक पनि त्यहाँ पुग्ने गर्छन्।
ताप्लेजुङको प्रसिद्ध पाथीभरा माताको दर्शनका लागि हिँडेका ललितपुर भैंसेपाटीका रवीन, श्रीमती र आफन्तका साथ चतरामा भेटिए। उनीहरू सप्तकोशीमा डुंगा सयर गर्दै रमाएका देखिन्थे। राजधानी काठमाडौंदेखि पूर्वी पहाड पुग्नेका लागि चतरा विश्राम स्थल पनि हो। चतरामा सप्तकोशी नदीको माछाको स्वाद चाख्न पाइन्छ।
यहाँका स्थानीय युवाले ‘चतरा हाइकिङ’को अवधारणा अघि सारेर प्रचार गरिरहेका छन्। पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्यका लागि फाइदा पुग्ने भएकाले हाइकिङ गर्नेको संख्या बढेको स्थानीय पत्रकार भीषण राई बताउँछन्। राईकै नेतृत्वमा ‘चतरा हाइकिङ’को अवधारणा आएको हो। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको चतरा ‘टुरिस्ट हव’ का रूपमा विकास भइरहेको छ।
 

सप्तकोशी नदीमा जलयात्रा गर्न पनि सकिन्छ। सप्तकोशी नदीमा व्यावसायिक जेट बोट सञ्चालनमा आएपछि जलयात्रा नयाँ गन्तव्य बनेको छ। आन्तरिक पर्यटक कोशी नदीको जलयात्रामा रोमाञ्चित हुने गरेका छन्। पर्यटकका लागि १० सिटे ओवियम बोटमा करिब १० मिनेट जलयात्राको मज्जा लिन सकिन्छ। चतराबाट बराह क्षेत्रसम्म पैदल र जलयात्रा दुवै गर्न सकिन्छ। जल यातायात तथा पर्यटन प्रालिले सुनसरी बराहक्षेत्रबाट सप्तकोशीमा बोट सञ्चालन भएपछि यात्रा सहज मात्र भएको छैन पर्यटकलाई आकर्षित पनि गरेको छ।
वराह क्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थ हो। ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत वराहको उल्लेख गरिएको छ।
वराह क्षेत्रमा वराह अवतार विष्णुको पूजाआजा पनि हुन्छ। वराह क्षेत्र धार्मिक महत्वको केन्द्र बिन्दु पनि हो। तल बगेकी कोकाह नदी, माथि हरियाली फाँटको बीचमा अवस्थित विष्णु अवतारको तेस्रो रूप वराह क्षेत्र हो।
वराह क्षेत्रमा वराह अवतार विष्णुको पूजा गरिन्छ। भारतमा कुरुक्षेत्र र धर्मक्षेत्र नेपालमा वराह क्षेत्र र मुक्तिनाथ छन्। यहाँ ठुलाठुला मेला कात्तिक पूर्णिमा र मकर संक्रान्तिमा लाग्ने गर्छन्। मेलामा भारत र नेपालका विभिन्न क्षेत्रबाट मानिसहरू आउँछन्। वराह क्षेत्रको पावन भूमिमा बगेकी कोकाह नदीको पनि छुट्टै विशेषता छ।
वराह क्षेत्र धाम हुँदै झोलुङ्गे पुल तरेपछि दक्षिणतर्फ अक्करेभिर हुँदै गाउँबस्ती छिचोल्दै कोशीको तिरैतिर तरेपछि धनकुटा र भोजपुरसम्म पुगिन्छ। तमोर–कोशी, अरूण–दुधकोशी किनारका बलौटे बगर, पाखा–भित्ताका गाउँलेको जीवन शैलीले परम्परालाई पछ्याउन छाडेको महसुस गर्न सकिन्छ। भरियाहरू नुन बोकेर हिँड्ने बाटा अहिले सुनसान छन्।
भोजपुर, खोटाङ, धनकुटा लगायतका जिल्लाबाट नुनसहित खाद्यान्न लिन सुनसरीको चतरा झर्ने ढाक्रे र भरिया पुरानो बाटोले अहिले बटुवा भेट्न छोडेको छ।

२०५० को दशकसम्म चतराबाट वराह क्षेत्र हुँदै भोजपुरको पदैल मार्गको मुख्य रुट कोशी किनारको अक्कर भिरको बाटो मुख्य थियो। सडक यातायात र जेट बोटका कारण मानिसहरू हिँड्न छाडे।
कुनै समय ढाकरमा बोकेर उपभोग्य सामग्रीको ढुवानीसमेत हुने यो बाटो अहिले सुनसान छ। ढाक्रेले बिसाउने चौतारा सुनसान छन्। कोशी नदीको जेटले यो बाटो बिरानो र सुनसान बनेको छ।
चतराबाट बराह क्षेत्र त्रिवेणी हुँदै खुवालुङसम्म हाइकिङ गर्न सकिन्छ। उदयपुर, धनकुटा र भोजपुरको संगम स्थल भएका कारण त्रिवेणी महत्वपूर्ण छ। तामाकोशी, भोटेकोशी, सुनकोशी, लिखु र दुध कोशी उदयपुरबाट, भोजपुरबाट अरूण र धनकुटाबाट तमोर नदी आएर त्रिवेणीको संगम बनेको छ।

त्रिवेणी धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण छ। त्रिवेणी नजिक रहेको खुवालुङले यहाँको महत्व अझ बढाएको छ। ‘खु’ भनेको पानी ‘वा’ भनेको नदी र ‘लुङ’ भनेको डुङ्गा हो। यसको अर्थ पानीमाथि बसेको डुङ्गा भन्ने अर्थ लाग्छ। पानीमाथि बसेको डुङ्गालाई राई, लिम्बु, याक्खा, सुनुवार जातिले खुवालुङ, खवाक्लुङ, खोवालुङ, खोलुङ मान्दछन्।
किराँत समूहबाट छुट्टाछुट्टै जातिको उत्पत्ति र विकासक्रमसँग जोडिएका किंवदन्ती अनेकौं छन्। करिब ६ हजार वर्ष पहिला भारतबाट गंगासागर बह्मपुत्र नदी हुँदै एउटा मानव समुदाय खोलै खोला हिँड्ने क्रममा त्रिवेणी आइपुगेपछि अघि बढ्न नसक्दा अदृश्य दैविक शक्ति रहेछ भनेर खुवालुङ क्षेत्रमा सेवापूजा गरेपछि ढोका खुलेको भन्ने किंवदन्ती रहेको खुवालुङ संरक्षणका अभियान्ता इन्द्र हाङ राई बताउँछन्।

खुवालुङ क्षेत्रमा विकसित किराँत सभ्यताका किंवदन्तीसँग उपन्यासमा वर्णित कोशी किनारको प्रकृति उस्तै छ। अरूण–दुधकोशी, तमोर–सप्तकोशी किनारमा पुग्दा ‘विभिन्न कथा, कविता चलचित्रमा वर्णन गरिएका कल्पनाशील दृश्यहरू यथार्थको नजिक देखिन्छन्। किराँत समुदायका खोजकर्ताहरूले खुवालुङमा विकसित किराँत सभ्यतामा राई, लिम्बु, यख्खा, सुनुवार एकै परिवारका दाजुभाइ भएको दाबी गर्छन्।

खुवालुङ संरक्षणका अभियन्ता इन्द्र हाङ राईका अनुसार खुवालुङबाटै ‘राई, लिम्बु, याक्खा, सुनुवार अरूण, तमोर, दुधकोशी, सुनकोसी पछ्याएर गएका थिए भनिन्छ।’ खुवालुङ किराँत सभ्यताको प्रतीक भएकाले अहिले पनि धार्मिक, सांस्कृतिक पूजा अर्चनाका लागि किराँत समुदायका जातिहरू जुट्ने गरेको बताइन्छ।
सङ्गीतका रागहरूको उत्पत्तिसँग खुवालुङको गहिरो सम्बन्ध भएको बताइन्छ। किराँत धर्म मान्नेहरूको सिमाना त्रिवेणी भएकाले किराँत धर्म मान्ने समुदाय बर्सेनि पूजा–अर्चनका लागि खुवालुङस्थल त्रिवेणी आउँछन्। सांस्कृतिक महत्वको खुवालुङ क्षेत्रमा पर्यटकीय पूर्वाधारहरू बनेमा यसको संरक्षण र आर्थिक विकास हुने स्थानीय कल्पन राई बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै