विजयादशमीको अवसरमा मध्यपुर थिमिमा मनाइने ‘खाँ पिहाँवइगु जात्रा’ सम्पन्न भएको छ । युद्धको झल्को दिने सो जात्रामा सेतो वस्त्र, जामा लगाएका, ढाल, तरबार र खड्ग भिरेका, फलामबाट निर्मित सिक्रीजडित टोपी लगाएकाले युद्ध परेड खेलेर नगर परिक्रमा गर्ने गर्छन् ।
मल्लकालदेखि चल्दै आएको विश्वास गरिने खड्ग, तरबार ढालसहित युद्धकला प्रदर्शन गरिन्छ । “खड्ग बोकेकाहरूले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डोमाथि प्रहार गर्छन्,” संस्कृतविद् तथा स्थानीय गणेशराम लाछीले भने, “कुभिन्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधीको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।”
उनले तत्कालीन दरबारबाट जात्रा निकालेर ‘खाँ पिहाँवइगु’ जात्रा माथिल्लो (थहने) टोलका रूपमा इनाएटोल, दुई पोखरी हुँदै दिगु भैरवसम्म र तल्लो (कोहने) टोलका रूपमा दथुटोल हुँदै बालकुमारीसम्म परिक्रमा गर्ने गरिने जानकारी दिए । विशेष गरी यो जात्रामा तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका (नायः पःमां), कर्माचार्य, जोशी, कुथु, प्याथः, खड्गी समुदायको प्रत्यक्ष संलग्नता हुन्छ । युद्ध परेड गर्दै बालकुमारीमा पुगेर कुभिन्डो काटेसँगै जात्रा सम्पन्न गरिन्छ ।
यसै गरी राजधानीको पुरानो व्यापारिक केन्द्र असनका नेवार समुदायका तुलाधरले खड्गजात्रा गरी दसैँ मनाएका छन् । विजयादशमीको भोलिपल्ट एकादशीको दिन विशेष बाजागाजासहित मनाइने उक्त जात्रामा आसुरी शक्तिलाई परास्त गरेर टीका, जमरा लगाउने गरिन्छ । स्थानीय राजेन्द्र तुलाधरले भने, “यस जात्राका लागि तुलाधर समाजभित्रका सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाइने परम्परा छ ।” उनका अनुसार कलात्मक शैलीमा दैत्यको चित्र बनाइएको दुई वटा कुभिन्डोमा सबभन्दा सानो बालकले मार हानेपछि असुरी शक्तिमाथि विजय प्राप्त गरिएको घोषणा गरी सो जात्रा मनाउने गरिन्छ ।
सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दु र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रूपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधि विधानपूर्वक जमरा रोपेर पूजाआराधना गर्छन् ।
दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएको विश्वास गरिएको जात्राका संरक्षक प्राज्ञारत्न तुलाधरले बताए । सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन आफन्त, नातागोता बोलाएर अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने गर्छन् ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा खड्गजात्रा मनाइने गरिन्छ । खड्गजात्रामा विभिन्न शक्तिपीठमा तन्त्रसाधना गरी खड्गधारण गरिएको हुन्छ । युद्धपछि चव्रmवर्ती सम्राट् बनेका अशोक खुसी र शान्त हुन नसकेपछि हतियार छाडेर बौद्धमार्गी बनेको सन्देश नयाँ पुस्तालाई दिनका लागि जात्राको परम्परा सुरु गरिएको तुलाधरले बताए ।
“शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट जात्रा चलाइन्छ,” उनले भने, “हिन्दु परम्पराका देवीलाई बौद्ध अनुयायीले शक्ति सञ्चयको केन्द्र मान्ने र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा सम्मान गर्ने हुँदा जात्राले दुवै धर्मावलम्बीमा सांस्कृतिक एकता जगाएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






