चुच्चेखोला चिनिएको खुवाले, खुवालाई चिनाएको हाम्रो बुवाले !

हेटौँडाको कान्तिराजपथ भएर यात्रा गर्दै हुनुहुन्छ भने चुच्चेखोलामा एकछिन् रोकिन करै लाग्छ । चुच्चेखोला पुग्दा सडकबाटै खुवा घोट्दै गरेका दृश्यहरु देखिन्छन् । यहाँ लहरै रहेका झन्डै एक दर्जन पसलहरुमा बिहानदेखि बेलुकैसम्म खुवा (कुराउनी) पकाइन्छ, जसको मीठो वासना सडकसम्म फैलिएको हुन्छ । यो बाटो हुँदै आवतजावत गर्नेलाई यहाँ नरोकिई सुख हुँदैन, किनभने पूर्वपश्चिम राजमार्गको बाजेको पेडाजस्तै यहाँको खुवाको चर्चा व्यापक छ । यस खुवाको आत्मकथा तपाईंलाई नसुनाई भएको छैन, तपाईंलाई खुवा नचखाई भएकै छैन ।

चुच्चेखोलाको खुवाको चर्चा हेटौँडामा मात्रै हैन, पोखरादेखि वीरगञ्ज, नारायणगढ र जनपुरसम्म छ । हेटौँडाको चुच्चेखोलामा तयार हुने खुवाको प्रमुख बजार पनि यिनै शहर हुन् । हेटौँडा पुगेकाहरुले चुच्चेखोलासम्म पुगेर कोसेली लैजाने प्रचलन पुरानै हो । फेरि रमाइलो कुरा के भन्दा, देशका जतिसुकै आर्थिक मन्दि भए पनि यहाँका खुवा व्यवसायीलाई बजारको कुनै पीर चिन्ता नै छैन । उनीहरुको व्यवसाय यथावत्रुपमा चलिरहेकै छ । 

दूधलाई ३ चरणमा फरक–फरक चुल्होमा तताएपछि चौथो चरणमा मात्रै खुवा तयार हुन्छ । एक चरणमा खुवा तयार गर्न २० मिनेट मात्रै लाग्छ । यहाँका अधिकांश पसलमा परिवारका सदस्यहरुले पालैपालो बसेर खुवा घोट्छन् । खुवा घोट्ने प्रक्रियामा दाउराकै प्रयोग गरिने हुँदा मिठो खुवा खाइरहँदा आँत पनि तातो हुन्छ, जीउ पनि न्यानो हुन्छ । 

बिहान ८ बजे रामकुमार तिमिल्सिना ‘श्री कृष्ण खुवा’ घोटिरहेका छन्, उनका बुबा कृष्णप्रसाद तिमिल्सिनाकै कारण चुच्चे खोलाको खुवाले ख्याति कमाएको हो । उनी गर्वसाथ भन्छन्, ‘चुच्चेखोला चिनिएको खुवाले, खुवालाई चिनाएको हाम्रो बुवाले ।’ 

बुबाले अँगालेको व्यवसायले निरन्तरता दिइरहेका छन् रामकुमार । उनी बिहान ५ बजेदेखि बेलुका अबेरसम्म खुवा घोटिरहेका हुन्छन् । उनकी श्रीमती पसल सम्हालिरहेकी छन् भने बुबा कृष्णप्रसाद वरपरका कृषकका गाईभैँसीका हालखबर बुझिरहेका हुन्छन्, आना प्राचीन मित्रगणसँग बात मारिरहेका हुन्छन् । 
श्री कृष्ण खुवा पोखरा, जनकपुर, काठमाडौँसम्म पुग्छ । दैनिक रुपमा बसमार्फत् खुवा बाहिर पठाउने गरिन्छ । हेटौँडा बाहिरका मिठाइ व्यवसायीहरु ‘श्री कृष्ण खुवा’ भनेपछि आँखा चिम्लेर ग्रहण गर्छन् । श्री कृष्ण खुवा चुच्चेखोलाको ब्रान्ड बनेको छ । खाद्य जिज्ञासुका लागि यो थलो नपुगी नहुने गन्तव्य हो ।

 
 

कृष्णप्रसाद तिमिल्सिनाले २०३६ सालदेखि स्थानीय कृषकबाट दूध सङ्कलन गरी खुवा बनाउन सुरु गरेका हुन् । त्यतिबेला दूधको भाउ एक रुपैयाँ माना थियो । काभ्रेबाट हेटौँडा झरेका कृष्णप्रसादले प्रतिकिलो १५ रुपैयाँमा बेच्न सुरु गरेको खुवाले अहिले देशभर ख्याति कमाएको छ । ‘यहाँ सानो बजार थियो तर वस्तु पाल्ने, दूध बेच्ने चलन थिएन । बुबाले खुवा बनाउन थालेपछि भैँसी पाल्ने किसानहरु पनि व्यावसायिक रुपले अगाडि बढे र हाम्रो व्यवसाय पनि बढ्दै गयो,’ छोरा रामकुमार बताउँछन् । यस पसल चलेसँगै वरिपरि अन्य १०÷१२ वटा खुवा पसल पनि थपिएका छन् । चुच्चे खोला खुवाको लागि नामचिन थलो बन्दै गएको छ । 
यहाँ भैँसीकै दूध प्रयोग गरी खुवा बनाइन्छ । १२ महिना खुवा बनाइने यहाँ दिनको २०० लिटर दूध ठेक्का रहेको छ । ‘चाडबाडमा दोब्बर÷तेब्बर खुवा बनाउँदा पनि पुग्दैन । बनाउन सक्नुप¥यो त्यतिबेला जति पनि जान्छ,’ तिमिल्सिना भन्छन् । यहाँको खुवा नेपालभरि मात्रै नभएर अमेरिका–अष्ट्रेलिया जानेहरुले पनि लिएर जाने गरेका छन् । प्रतिकिलो रु ५०० मा खुवा बेच्दै आएका तिमिल्सिनाले गुँदपाक, घ्यू, पनिर र मिठाइ पनि बेच्दै आइरहेका छन् ।

श्रीकृष्ण तिमिल्सिना २०२४ सालमा जन्मथलो काभ्रे छाडेर कलकत्ता पुगे । कलकत्तामा ७ वर्ष बसेपछि काठमाडौँपुगेका उनी त्यही ४ वर्ष रहे । ‘साहुका काम ग¥या’थेँ। काम गर्दै जाँदा साहुले नराम्रो वचन भन्यो । यसपछि अर्काको नोकरी जिन्दगीमा गर्दिनँ भनेर काम समातेँ,’ तिमिल्सिना आनो विगत सम्झँदै भन्छन्, ‘नोकरी छाडेँतर, के गर्ने भन्ने थाहा थिएन । घर बस्न मन थिएन । ७÷८ जना दाजुभाई थियौँ। मलाई यो गर्, उः गर् भनेर सल्लाह दिने मान्छे पनि कोही भएन । बगली छाम्दा ४०० रुपियाँ भेटेँ। मेरो मामाघर यहीँमाथि थियो, मामाघर आएँ ।’ मामाघर आएर १० दिन झोक्य्राइसकेपछि उनी चुच्चेखोला झरे । यहाँ उनले चिया पसल गरिरहेका काभ्रेकै एक मान्छे भेटे । ‘यो पसल गर तिमी भनेर उसले मलाई छाडिदियो । ६÷८ महिना मैले सोही चिया पसल सम्हालेँ। दिनहुँ चिया उमाल्दा नौलो काम के भन्ने सोचिरहेँ,’ उनले खुवा व्यवसाय थाल्नुपूर्वको पूर्वकथन तुरे । 

यसपछि उनले मकवानपुर जिल्लामै नभएको नौलो खुवा व्यवसाय सुरु गर्ने विचार गरे । यसका लागि गाउँका एक किसानलाई दुईवटा भैँसी किन्न सुझाए । ‘तपाईं भैँसी किन्नुस्, म कराई किन्छु भनेर बोलेपछि खुवा बनाउन सुरु भयो,’ तिमिल्सिना भन्छन्, ‘दुईवटा भैँसीको बिहान–बेलुकाको दूध घोटेर कचौरामा राखे, तर कसैले चिन्दैन । यो मान्छे हिँड्ने बाटो एवम्् भारी बिसाउने थलो भएकाले आउजाउ गर्ने सबैलाई चखाउन थालेँ। विस्तारै हेटौँडातिर थाहा भयो । मान्छेले कोसेली बोक्न थाले । हात्तीको पाइलासरह खुवाको चर्चा बजारतिर लम्कँदै गयो,’ उनले भने । 

तिमिल्सिनाको खुवा शहरतिर लम्किन थालेसँगै स्थानीय कृषकहरुका गोठमा गाईभैँसी थपिन थाले । कृषकहरुले आनो दूध बेच्ने थलो भेट्टाए । गाईभैँसी पाल्ने कृषकको सङ्ख्या अहिले निकै बढेको छ, वरपर खुवा पसलहरु पनि थपिएका छन् । 

चुच्चेखोलमा सबैले देख्ने गरी आगो नै बालेर सफा र शुद्ध तवरले खुवा घोटिन्छ । यहाँ गाईको दूधबाट खुवा बनाइँदैन । किनभने गाईको दूधको खुवा खान पनि उत्ति स्वादिलो हुँदैन भने देख्न पनि त्यति राम्रो हुँदैन । खुवा घोट्दा डढ्ने समस्याका कारण पनि गाईको दूधलाई चुच्चेखोलाका व्यवसायीले रोजेका छैनन् । अहिले भैँसी पाल्ने क्रम ह्वात्तै घटेको छ । विकासे प्रजातिका गाई पाल्ने क्रम बढ्दै गर्दा भैँसीको दूध पाउन मुस्किल हुन्छ । भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले किसानले पाल्नै छाडेका छन् । 

एउटा भैँसी किन्न नै एक लाखसम्म खर्चिनुपर्ने भएपछि किसानले ठूलो खर्च गर्ने आँट पनि गर्न छाडेका छन् । यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत् ऋण झिकिदिन्छन् । त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्छन् । त्यसरी भैँसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्छन् । ९० रुपैयाँ प्रतिलिटरमा भैँसीको दूध किनिन्छ । त्यही दूधको पैसाबाट केही महिनामा नै सहकारीको ऋण तिरेपछि किसानले भैँसी आनो बनाउँछन् । भैँसीको दूध पाउनै छाडेपछि खुवा व्यवसायीले यस्तो उपाय लगाएका हुन् । यसबाट किसानले पनि दूधको मूल्य डेरीमा भन्दा राम्रो पाएका छन् भने जिविकोपार्जनमा पनि खुवा पसल चलाउनेहरुको साथ पाएका छन् ।

चुच्चेखोला खुवाकै लागि चर्चित छ । अब कान्तिराजपथ काठमाडौँसँग पुरै दुई लेनको कालोपत्रे सडकबाट जोडिँदै छ । यस सडकमार्फत् खुवा व्यवसाय अझ बढ्ने यहाँका व्यवसायीहरु बताउँछन् । 

कसरी पुग्ने ?

चुच्चेखोलाबाट हेटौँडा ७ कि.मी. रहेको छ । कान्तिलोकपथ सडक अन्तर्गत चुच्चे खोलाबाट २० मिनेटको गाडी÷बाइक यात्रामा ऐतिहासिक मकवानपुर गढी पुग्न सकिन्छ । वि.सं. २०१३ मा राजा महेन्द्रले शिलान्यास गरेपछि यो ‘राजपथ’ निर्माण सुरु गरिएको थियो । काठमाडौँ–हेटौँडा वैकल्पिक सडकको योजनाका रुपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिई छुट्टै योजनाका रुपमा कामअघि बढाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै