काठमाडौँ - म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा रहेको सुन्दर पहेँली बराह तालमा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको छ । धौलागिरी आइसफल पदमार्गमा पर्ने अग्लो पहाडको टुप्पोमा गोलो आकारमा रहेको पहेँली बराह ताल प्राकृतिक रुपमा अति सुन्दर छ । बेनीदेखि सुरु भएर रघुगंगाको रुइसे भेडी ओडार–सोबाङ दूरी हुँदै धौलागिरी आधार शिविर पुगेपछि त्यहाँबाट पहेंली बराह, कालीबराह हुँदै मुस्ताङको लेते निस्कन सकिन्छ ।
व्यवस्थित पदमार्ग निर्माण र प्रचार–प्रसारको अभावमा पहेँली बराह ताल ओझेलमा परेको हो । पहेँली बराह तालदेखि केही तल यसै क्षेत्रमा अर्को कालिबराह ताल समेत छ । चार हजार ६ सय मिटरको उचाइँमा रहेको पहेँली बराह ताल करिब ८ सय मिटर लम्बाइ र चारसय मिटर चौडाइमा फैलिएको छ ।
तालमा पुगेपछि वरपर सुन्दर हिमचुचुरा र प्राकृतिक सुन्दर दृश्यको अवलोकन गर्न सकिन्छ । तालमा पुग्नुभएका बेनीका स्थानीयवासी किरण कार्कीले तालको सुन्दरताको बयान गर्दै भने , ‘‘प्राकृतिक रुपमा ताल धेरै सुन्दर छ । हिउँदका समयमा वरपर हिउँले ढाकेको र बिचमा गोलो आकारको ताल देखिन्छ । चिमखोलादेखि दुई दिनको थकानपूर्ण यात्रालाई तालको सुन्दरताले बिर्साइदिन्छ ।’’
प्राकृतिक रुपमा सुन्दर भूगोल भए पनि पर्यटकीय पूर्वाधारको अभावमा यस क्षेत्र ओझेलमा परेको उनले बताउछन । ‘‘बेनीदेखि सवारीसाधनको प्रयोग गरेर एक दिनमा चिमखोला गाउँ पुग्न सकिन्छ । चिमखोलाबाट दुई दिनको पैदलयात्रा पछि सो तालमा पुग्न सकिन्छ” वडाध्यक्ष थकबहादुर पाइजाले भनेका छन ।
प्रचुर पर्यटकीय सम्भावना भएर पनि ताल ओझेलमा परेको स्थानीय गुनासो छ । भौगोलिक विकटताका कारण तालसम्म पुग्ने व्यवस्थित पदमार्गको अभाव छ । तालको प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचार–प्रसार हुनसकेको छैन ।’’
भेडा गोठालाहरु र यार्सागुम्बा टिप्न चिमखोलावासीहरु पुग्ने गरेको उनको भनाइ छ । वडा नम्बर –८ को सुंगुरथलादेखि कछुवा ओडारसम्म पदमार्ग निर्माण गरिए पनि त्यहाँदेखि भिर, जंगल र खोलाको तीर हुँदै दुईदिनको उकालो पैदलयात्रा पछि पहेँली बराह ताल पुग्न सकिन्छ ।
व्यवस्थित पदमार्ग लगायत पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले डिपिआर बनाएर सम्बन्धित निकायमा बजेट माग गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउछन । धौलागिरी आइसफल पदमार्गलाई पूर्णता दिँदै आधार शिविरदेखि कालिबराह, पहेँली बराह हुँदै मुस्ताङको लेतेसम्म जोड्न सकेमा पदयात्राका लागि उत्कृष्ट मार्ग बनाउन सकिने उनको भनाइ छ ।
स्रोत: गोरखापत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





