मान्मा । कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै आएको हो ।
पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको कालीकोट महावै गाउँपालिका ४ ओदानकुका रजबहादुर शाहीले बताए। कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन् । महावै पाटनका नामबाट दैलेखमा महाबु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ ।
पाटनकाबिचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ । हरेक वर्ष जनैपूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ । मेलमाका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । शिव मन्दिरलाई यहाँका स्थानीयले महाबु जगन्नाथ भन्ने प्रचलन रहेको बताउँदै महावै जगन्नाथलाई पनि महादेवको प्रतीकका रूपमा लिने गरिएको शाहीले बताए । “पूजाप्रार्थना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ”, उनले भने, “शिव मन्दिरको मेला भर्नका लागि प्रत्येक वर्ष जनैपूर्णिमाका दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेतबाट श्रद्धालु भक्तजन यहाँ आउने गरेका छन।”
देशका एकसय महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महाबुधाम समेटिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । यस क्षेत्रको भौतिक पूर्वाधारसहित विकासमा पहल थालिएको उनको भनाइ छ । “यहाँको पर्यटन प्रवर्द्धन गर्न धर्मशालालगायत अन्य भौतिक संरचना निर्माणको पहल थालेका छौँ”, उनले भने “पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेका छन् ।”
धाममा धर्मशाला, सडक र मन्दिरलगायत अन्य संरचना निर्माण गर्न ठुलो रकमको आवश्यकता रहेको बताउँदै सिंहले अहिले दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार यहाँबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, बर्दिया, टीकापुर र नेपालगन्जका अधिकांश स्थान देख्न सकिन्छ ।
“महावैमा वर्षा याममा कालीकोट र दैलेखबाट चरनका लागि ल्याउने भेडाबाख्रा तथा गाईभैँसीलाई गोठ बनाइएका छन्”, अध्यक्ष सिंहले भने, “वर्षायाममा हरियाली फाँटमा भेडाबाख्रा, घोडा, गाईभैँसीका बथान देख्न सकिन्छ, यसले यहाँको आकर्षण थप बढेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना



ट्रेन्डिङ
खबरमुकाम






