विजयकुमार साह
वन, वातावरण र वन्यजन्तु संरक्षणको अभियान सक्रिय देवनारायण मण्डलले तीन दशकअघिको मधेश बुझाउन ‘कल्चर भिलेज’ सञ्चालन गरेका छन् । उनले धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरनदाहामा ‘कल्चर भिलेज’ सञ्चालन गरेका हुन् ।
जनकपुरधाम–धनुषाधाम मार्गमा पर्ने यस कल्चर भिलेजमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी परम्परागत फुसको घर बनाइएका छन् । मिथिलाका कला संस्कृति, वेशभूषा, रहनसहन अवलोकन गर्ने सुविधा छन् । मिथिलाका परम्परागत खानपान उपलब्ध छन् ।
मण्डलले तीन–चार दशक अगाडि मधेशको गाउँघर, रहनसहन, वेशभूषा, खानपान र कलासंस्कृतिबारे चिनाउन यो भिलेज सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘हामीले यसलाई खुला सङ्ग्रहालयको रूपमा खोलेका छौँ । उबेला जस्तो गाउँघर थियो त्यही शैली र त्यस्तै सामानको प्रयोग गरेर घर बनाइएको छ । त्यसबेलाका घरायसी बस्तु तथा कृषि कामकाजमा प्रयोग हुने उपकरणसमेत सङ्कलन गरी यहाँ राखिएको छ ।’
उनका अनुसार बाह्य पर्यटक तथा सहरमा उकुसमुकुसको जिन्दगी व्यतीत गरिरहेका व्यक्तिका लागि पुनर्ताजगी प्राप्त गर्ने यो उत्तम स्थान छ । बाहिरका पर्यटक आउँदा यहाँको प्रकृति र संस्कृतिमा रमाउन चाहन्छन् । पर्यटकले खोजेको जस्तो वातावरण दिन परम्परागत किसिमको व्यवस्था गरिएको छ ।
यहाँ पाहुनालाई मधेशको संस्कृति देखाउन प्रत्येक साँझ झिझिया, झरिझरी, ढोलपिपिही, सामा चकेवा, जटजटिनलगायत लोकनृत्य आयोजना गरिन्छ । झिझिया टिममा ३० जना संलग्न छन् । ढोलपिपही बजाउने पाँच जना छन् र झरीझरी खेल्ने २० जनाको समूह गरी कला क्षेत्रमा ७८ जना आबद्ध छन् । त्यस्तै, यस कल्चर भिलेजसँग स्थानीय ११६ घरपरिवार जोडिएका छन् । आफूसहित स्थानीयको जीविकोपार्जनमा दिगोपनाका लागि सबैलाई जोडिएको मण्डलले बनाए ।
भिलेजमा आउने अतिथिका लागि सोही परिसरभित्र उत्पादन गरिएको जैविक खेतीको तरकारी, दाल र अन्य परिकार खान पाउने सुविधा छन् । शाकाहारीका लागि दाल, भात, अचार, पापड, तिलौरी, तिसौरी, बिरियाको तरकारी, कुम्हरौरीको तरकारी, अदौरीको तरकारी, पुदिनाको अचार, धनियाँको चटनीसहित अतिथिको मागका आधारमा खाना तयार गरिन्छ । मांसाहारी अतिथिका लागि भने बेग्लै व्यवस्था छ ।
यहाँ माटोकै भाँडामा खाना पकाइन्छ र माटाकै भाँडामा खाना दिइन्छ । माटाकै भाँडामा पानी, चिया, काढा दिइन्छ । यहाँ चिया–कफी पाक्दैन । यसको साटो आफ्नै खेतमा उब्जाएको सोइजन (सैजुन) को काँढा तयार गरिन्छ । मकैको जुँगा, मेवाको पात, अर्जुनाको डाँठ र तुलसीको काँढा पनि बन्छ। लेमन ग्रासको चिया पाइन्छ ।
कल्चरल भिलेजमा जैविक विधिबाट खेती हुने उनको भनाइ छ । रासायनिक मल र कीटनाशक विषादीको प्रयोग हुँदैन । स्थानीय केही किसानलाई जैविक खेतीसम्बन्धी तालिमसमेत दिएका छन् । ती किसानले उत्पादन गरेको अन्न, तरकारी र फलफूल कल्चरल भिलेजले किन्छ । हाल दस जना किसानबाट जैविक उत्पादन खरिद गरिरहेको छ। उनीहरूलाई बिउ र जैविक मल पनि भिलेजले नै दिन्छ ।
‘एकैपटक जैविक खेतीतर्फ नगई क्रमशः अघि बढ्न परामर्श दिइएको छ । वरिपरिका गाउँका पाँच सय किसानलाई जोड्ने लक्ष्य छ । अहिले ११६ परिवारलाई जोडिसकेका छौँ,’ देवनारायणले भने । हाल किसानहरूलाई आलु, काउली र टामाटर खेती गर्न भनिएको छ । किसानका यस्ता सबै उत्पादन किनेर पाउडर, चिप्स, सस बनाएर बेच्ने योजना छ । यहाँ फलफूल र सागपात पनि उब्जनी हुने गरेको उनले बताए ।
दुध, मल र इन्धनका लागि आठ वटा गाई पालिएको छ । खाना गोबर ग्यासबाट पकाइन्छ । ग्यासमा प्रयोग भएको गोबरबाट झोल मल बनाइन्छ । अहिले खेती भइरहेको नौ बिघा जग्गामा यहीँको मल र जैविक कीटनाशक पर्याप्त रहेको उनले बताए । यहाँ चार वटा पोखरीमा माछा पालिएको छ । पोखरीमा कुखुरा र हाँस पाल्ने र बाख्रापालनको पनि तयारी छ । मण्डलले नौ बिघा जग्गा भाँडामा लिएर कच्लर भिलेज खोल्नुभएको छ । भिलेज निर्माणमा हालसम्म ६० लाख रुपियाँ खर्च भइसकेको र योजना अनुसार काम पुरा हुन अझै ४० लाख रुपियाँ खर्च लाग्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अदालतले म्याद थप्न अस्वीकार गरेपछि एकै दिनमा छुटे दुर्गा प्रसाईं
- राष्ट्रिय सभा साउन २१ सम्मका लागि स्थगित
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

ट्रेन्डिङ
खबरमुकाम






