धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन अगाडि बढाएको छ।
संघीय राजधानी काठमाडौँबाट पाँच घन्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रबर्द्धनलाई अगाडि बढाइएको हो।
गङ्गाजमुनाले भने गाउँपालिकाभित्रका सातवटै वडा जोड्ने गरी नयाँ पदमार्गको कामलाई अगाडि बढाएको छ।
आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गर्न अगाडि बढाइएको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवद्र्धनात्मक तथा अन्वेषणात्मक कार्य सुरु गरिएको छ।
गङ्गाजमुना गाउँपालिका र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले सुरु गरेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रबर्द्धनात्मक तथा अन्वेषणात्मको कामको आइतबार सोही गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले शुभारम्भ गरे।
गोरखाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको बुढाथुममा भव्य समारोहबीच शुभारम्भ गरिएको हो।
गाउँपालिका अध्यक्ष लामाले धार्मिक, सांस्कृतिक एवं प्राकृतिक महत्व भएको गङ्गाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गर्न उक्त पदमार्गलाई अगाडि बढाइएको बताए।
यसअघि धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रबर्द्धन गर्न गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो।
सम्झौतासँगै टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन, पदमार्ग विकास तथा प्रवद्र्धन योजना, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवद्र्धनात्मक वृत्तचित्र निर्माण, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायतका काम गरिने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताउँछन्।
गङ्गाजमुनाभित्र ‘क्यानोनिङ’ गर्न ठूलाठूला झरना, ‘रक क्वाइबिङ’का लागि ठूलाठूला चट्टानका पहरा, पर्यटक सत्कारका लागि होमस्टे, जीपलाइन, अग्लो र लामो झोलुङ्गेपुल लगायतका पूर्वाधार छन् ।
यस्तै, उक्त गाउँपालिकामा ब्रह्माणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृतिको अनुभव लिन पाइन्छ । वरिष्ठ उपाध्यक्ष दाहालका अनुसार पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको छ ।
गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ गङ्गाजमुनाको पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ७० लाख रूपैयाँ बजेट विनियोजन गरेको बताउँछन्।
‘गङ्गाजमुनाबाट चुमभ्याली र रुवीभ्याली हुँदै लाङटाङ जोड्ने ‘ग्रीन ट्रेकिङ ट्रेल’लाई पालिकाले गौरवको आयोजनाका रुपमा अगाडि बढाएको छ,’ उनले भने।
होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि गाउँपालिकाको वडा नं ३ स्थित अम्बोटे गुरुङ गाउँमा ‘होमस्टे’, वडा नं ६ को भैँसे गाउँमा ‘भैँसे पाहुना घर’ निर्माण भइरहेको छ।
गङ्गाजमुनाको पर्यटन प्रबर्द्धन गर्न ठाउँठाउँमा सूचना पाटी निर्माण, पर्यटन मन्त्रालय र पर्यटन बोर्डको सहकार्यमा ‘गङ्गाजमुना पर्यटन पूर्वाधार विकास योजना’अन्तर्गत गङ्गाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माणलगायत काम अगाडि बढाइएको छ।
‘कृषि, पर्यटन र पूर्वाधार:गङ्गाजमुना विकासको आधार’ नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम–गङ्गाजमुना–सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न लागेको छ। नयाँ पदमार्ग अगाडि बढाएसँगै गङ्गाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा सहयोग पुग्ने गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल बताउँछन्।
पूर्वपर्यटन व्यवसायीसमेत रहेका उनी स्थानीय उत्पादन र यहाँको संस्कृतिलाई पर्यटनसँग जोड्दै समृद्ध गङ्गाजमुना निर्माण गर्न पदमार्गबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्छन्।
उक्त पदमार्ग भएर समुद्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा रहेको गोरखाको आर्खेत बजारदेखि तीन हजारभन्दा बढी उचाइसम्म रहेको तीनसुरे ‘भ्यू प्वाइन्ट’ सम्म पुग्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






