• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

सौराहामा गोही संरक्षण मेला : घडियाल जाेगाउन समुदायमा सचेतना

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा ‘गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ गोही संरक्षण मेला गरिएको छ ।

केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा शनिवार मेला गरिएको हो ।

मेला संयोजक रञ्जना भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल वहादुर पुर्जा पुन रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको बताए ।

उनले भने, ‘गोही संगसंगै माछा पनि संरक्षण गर्नुपर्छ तब मात्र गोही पनि संरक्षण हुन्छ, माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्छन् ।’

घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाईने हुनाले गोही भारतसम्म जाने भएकाले यस्को संख्यामा कमी देखिएको उनको भनाई छ । यसको संरक्षणमा सरकार, निकुञ्ज, संरक्षणकर्मी, व्यवसायी तथा स्थानीय समुदाय एकजुट हुन जरुरी रहेको बताए ।

मेला संयोजक रञ्जना भट्टले गोहीको संरक्षण गर्न नदिको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताईन् । खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा जथाभावी निकाल्नु, माछा मार्नु, माछा मार्न प्रयोग गरिने जालका कारण गोहीको संख्या घट्दै गएको बताइन् ।

समुदाय स्तरमा गोहीको संरक्षणको सचेतना फैलाउन मेला आयोजना गरिएको संयोजक भट्टले बताईन् । देशभर २५० को हाराहारीमा घडियाल पाइने उनले बताइन् ।

कार्यक्रममा रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतो, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता प्रमुख अनिल प्रसाई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पुष्पराज श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।

नेपालमा दुई प्रजातिका गोही पाइन्छ । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । यस्तै मगर गोही पनि जोखिम अवस्थामा परेको जीव हो । नदी प्रदुषण र माछा मार्न प्रयोग गरिने तियारी जालका कारण नेपालमा घडियाल गोही संकटापन्न अबस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै