रासस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताउनुभएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१ औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
“विज्ञान तथा प्रविधि विकासका लागि सरकारले रू एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ”, नास्टका कुलपतिसमेत रहेका दाहालले भने, “केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ ।” विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरुले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उनले मुलुकमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताए ।
“सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेका छैनौँ । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन्”, प्रधानमन्त्री दाहालले भने, “म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्वबारे जानकार छु ।” उनले आगामी सोह्रौँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गरे ।
“सोह्रौँ योजनामा के कस्ता कार्यक्रम समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ”, प्रधानमन्त्री दाहालले भने, “देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाको खाका तयार गर्न अनुरोध गर्दछु ।”
सो अवसरमा प्रधानमन्त्री दाहालले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा नास्टका वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कर्णाली समृद्ध छः समस्या राज्यको दृष्टिकोण र पूर्वाधारको अभावमा छः माधवप्रसाद चौलागाईं
- ओटीएम मुम्बई २०२६ : भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
- सिटिजन्स बैंकद्वारा "MAN–Citizens Aspiring Manager Award" पुरस्कार वितरण
- सानिमा रिलायन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त
- कोशी प्रदेश पयर्टन वर्ष २०८२ ले उघार्दैछ कोशीको पर्यटनको नयाँ क्षितिज
- पर्यटन भनेकै ‘तामझाम’ हो, हल्ला नगरी पर्यटक आउँदैनन्– भविषकुमार श्रेष्ठ
- प्रादेशिक ललितकला प्रदर्शनी सुरु
- नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक


ट्रेन्डिङ
खबरमुकाम





