• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

तस्करले चोरेर अमेरिका पुर्‍याएका चारवटा पुरातात्त्विक मूर्ति फिर्ता

मुकाम डेस्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरूले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । 

न्यूयोर्क स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा  विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । 

१६ औँ र १७ औँ शताब्दीका नेपालका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव  पार्वती (उमा महेश्वर) र दुर्गाको डुङ्गाको मूर्ति रहेका छन् । 

न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरूले कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरेका हुन् । 

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याइएका नेपालका पुरातात्त्विक वस्तुहरू फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । कार्यवाहक महावाणिज्य दूत गौतमले नेपालको पुरातात्त्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरूलाई विशेष धन्यवाद व्यक्त गरे । उनले सांस्कृतिक कलाकृतिहरूको अवैध ओसारपसार विरुद्धको लडाइँमा सधैँ साथ रहेको पनि बताए । 

जिल्ला न्यायधिवक्ता ब्रागले आफूहरु पुरातात्त्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरूको खोजीका लागि सधैँ सहयोग गर्ने पनि बताए । 

यसअघि महावाणिज्य दूतावासको पहलमा १० औँ शताब्दीदेखि १७ औँ शताब्दीका १६ वटा पुरातात्त्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ । 

प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी महावाणिज्य दूतावासले छिट्टै नेपाल पठाउने बताएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै