एजेन्सी । प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ । एसोसियट प्रेसका अनुसार गाजामा स्थानीय समयअनुसार आज बिहान ७ बजेदेखि युद्धविराम भएको हो ।
हमासले बन्दी मुक्त गर्ने र इसराइलले गजामा चार दिन युद्धविराम गर्ने सहमतिलाई इजराइली सरकारले मंगलबार अनुमोदन गरेको थियो ।
इजराइली सरकारले उक्त सहमति अनुमोदन गरेको तीन दिनपछि शुक्रबार बिहानदेखि गाजामा युद्धविराम भएको हो।
हमासले इजरायलबाट बन्धक बनाएर गाजा पुर्याएको इजरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो ।
बदलामा इजराइलले गजामा आक्रमण नगर्ने र इजराइली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो ।
एपीका अनुसार सहमति भएबमोजिम शुक्रबार दिउँसो हमासले १३ जना इजराइली बन्धकलाई मुक्त गरेको छ ।
इजराइलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ । रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी रहेको एपीले उल्लेख गरेको छ । उनीहरूमध्ये केही इजराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए ।
थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् ।
'विदेश मन्त्रालय र सुरक्षा निकायले १२ थाइ बन्धकहरू रिहा भइसकेको पुष्टि गरेका छन् । दूतावासका अधिकारीहरू उहाँहरूलाई लिन जाँदै हुनुहुन्छ। उहाँहरूको परिचय भने खुलिसकेको छैन,' प्रधानमन्त्री थाविसिनले एक्स (ट्विटर) मा लेखेका छन् ।
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सचिवालयले पनि हमासले १३ बन्धक रिहा गरेको जनाएको सिएनएनले उल्लेख गरेको छ । रिहा भएका बन्दीहरूलाई रेडक्रसको जिम्मा लगाइएको छ ।
शुक्रबार गाजा क्षेत्रमा बन्दुक र हवाइ हमलाका आवाज नसुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
हमासले प्रत्येक दिन कम्तीमा १० जना बन्धकहरू रिहा गर्ने र प्रत्येक रिहाइमा इजराइलले गाजामा थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ ।
इजराइली सरकारले हमासले गाजामा लगेको सबै बन्धकहरूलाई रिहा गर्ने विश्वास व्यक्त गरेको छ । उसले युद्धविरामका लागि पनि बन्धकहरूलाई रिहा गर्ने इजराइली प्रधानमन्त्री नेतन्याहुले बताएका थिए ।
युद्धविराम भएपछि गाजामा विभिन्न देशहरूले मानवीय सहायता पठाएको थियो । खाद्यान्न, इन्धन र औषधि बोकेका सैयौं ट्रकहरू गाजामा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युद्धविराम भएपछि त्यहाँका मानिसहरूले लामो समयपछि राहतको सास लिएका छन् । उनीहरूले युद्धविरामको खुलेर स्वागत गरेका छन् ।
अक्टोबर ७ को बिहानै हमास समूहले इजराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो । हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो ।
आक्रमणका दिन हमास समूहले त्यहाँबाट इजरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गाजा लगेको थियो । बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन् ।
त्यसयता इजराइलले गाजामा हमासविरूद्ध लगातार आक्रमण गर्दै आइरहेको थियो । इजराइलको आक्रमणबाट गाजामा अहिलेसम्म १३ हजार ३ सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ ।
ठूलो संख्यामा नागरिकहरू मारिएपछि गाजामा युद्धविराम गर्न इजराइलमाथि अन्तराष्ट्रिय शक्ति केन्द्रहरूको दबाब बढिरहेको थियो । संयुक्त राष्ट्र संघले पनि इजराइललाई गाजामा युद्धविराम गर्न आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी

ट्रेन्डिङ
खबरमुकाम







