• वि.सं २०८३, साउन २२ शुक्रबार
  • Friday, 07 August, 2026
  • युनिकोड
  • Live

भरतपुरले ‘भिजिट भरतपुर २०२४’ मनाउनेः भरतपुर ‘भ्रमण वर्ष’ मनाउने पहिलो स्थानीय सरकार

काठमाडौँ । भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ मनाउने भएको छ । महानगर र पर्यटन बोर्डद्वारा आज आयोजित ‘सरोकारवाला निकायसँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको हो ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई पर्यटकीय सहरका रुपमा परिचित गराउन सन् २०२४ लाई भ्रमण वर्षका रुपमा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। मध्य नेपालको उत्कृष्ट गन्तव्यका रुपमा रहेको चितवनको भरतपुर महानगरपालिका ‘भ्रमण वर्ष’ अभियान सञ्चालन गर्ने पहिलो स्थानीय सरकार रहेको भन्दै यो अभियान महानगरको मात्र नभई समग्र मुलुकको रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्राकृतिक सौन्दर्यताको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न महानगरले चालेको पहल ऐतिहासिक रहेको बताइन् । पर्यटन क्षेत्रको संरक्षण र प्रवर्धनमा देखिएका कानुनी बाधालाई समीक्षा गरी समाधानतर्फ मन्त्रालय प्रयासरत रहेको उनको भनाइ थियो ।

‘प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा रहेको नेपालका सम्भावित क्षेत्रलाई पहिचान गरी पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्न खोज्नु आफैँमा सुन्दर पक्ष हो । काठमाडौं घुम्न आउने पर्यटक चितवन गन्तव्य बनाउन सक्नुपर्छ,’ राज्यमन्त्री ठकुरीले भनिन्, ‘एक क्षेत्रमा आएका पर्यटकलाई अन्य क्षेत्रमा आकर्षित गर्न सक्नेगरी काम गर्नुपर्छ । पर्यटन प्रवर्धन गर्न महानगरले चालेको अभियानले भ्रमण वर्षले ऐतिहासिक र सुन्दर चित्र कोरेको छ ।’

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले महानगरले चितवनमा लुकेका गन्तव्यलाई प्रकाश पार्न थालेको ‘भ्रमण वर्ष २०२४’ अभियान उपयुक्त समय रहेको भन्दै यस अभियानलाई सफल पार्न बोर्ड प्रतिबद्ध रहेको बताए ।

महानगरका आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले मुलुकको प्रमुख आयस्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको प्रर्वद्धन र विस्तार गर्न थालिएको अभियान प्रभावकारी हुने बताए । यहाँका सम्भावित स्थानको प्रसारप्रचार गरी पर्यटक भित्राउन सकिनेमा उनले जोड दिए ।

महानगरका पर्यटन विज्ञ सल्लाहकार डा. विश्व सुवेदीले आर्थिक समृद्धिको लागि यस अभियान आवश्यक रहेको भन्दै भ्रमण वर्षलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५२ कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए । 

नाटाका महासचिव कुमार थपलियाले महानगरसँगै चितवनका पर्यटकीय गन्तव्यलाई पनि समेट्नु पर्नेमा जोड दिए । गैरआवासीय नेपाली सङ्घका उपमहासचिव सोम सापकोटाले भरतपुरका साथै समग्र मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरी न्यू मिडियाको माध्यमबाट प्रसारप्रचार गर्नुपर्नेमा जोड दिए । 

नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अचुत गुरागाईंले पर्यटन बोर्डमा भएको बजेट कार्यान्वयन गर्न कार्यविधि नहुँदा पर्यटन क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्न नसकिएको बताए । विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धार, विविध प्राकृतिक सम्पदाले समृद्ध महानगर भरतपुर हो,’ उनले भने, ‘यहाँको सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक भू–बनोटलगायत आधारले पर्यटनको प्रमुख गन्तव्यका रुपमा विस्तार गर्न सकिने देखिएको छ ।’

पर्यटन प्रवर्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको सङ्ख्या र बसाइ अवधि वृद्धि गर्ने उद्देश्यले महानगरले निजी क्षेत्रसँग सहकार्यमा पहिलो पटक अभियान सञ्चालन गर्न लागिएको महानगरका उपप्रमुख अधिकारीले जानकारी दिए ।

भ्रमण वर्षमा अन्तर्राष्ट्रिय सफारी मार्ट, लगानी सम्मेलन, हेरिटेज म्याराथन, सरकार एवं सम्वद्ध पक्षको बैठक तथा भेला, जङ्गल फेस्टिवल, युवा तथा महिला सम्मेलन, साहित्यिक कार्यक्रम, र्‍याली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, ट्राभल एजेन्सी तथा टुर अपरेटरको सम्मेलन, विज्ञ समूहसहितको कार्यशाला गोष्ठी, खेलकूद प्रतियोगिता, पर्यटन तथा वातावरणसँग सम्वद्ध दिवस, जातीय सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा फुड फेस्टिवललगायत क्रियाकलाप निरन्तर आयोजना गरिने आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै