युक्रेनको क्रिभी रिहमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । युक्रेनको क्रिभी रिह सहरस्थित एक सपिङ सेन्टरमा रूसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आक्रमणमा १३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये बालबालिका पनि छन् ।

स्थानीय अधिकारीका अनुसार आक्रमणपछि सपिङ सेन्टरको भग्नावशेषमा केही मानिस पुरिएको आशंका गरिएको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो गृहनगर क्रिभी रिहमा भएको आक्रमण दुई चरणमा गरिएको बताएका छन् । उनका अनुसार पहिलो ड्रोन आक्रमणपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए । त्यसको करिब ३० मिनेटपछि दोस्रो आक्रमण भएको र त्यसमा उद्धारमा खटिएका आपत्कालीन सेवाका कर्मचारीलाई समेत लक्षित गरिएको उनले दाबी गरेका छन् ।

जेलेन्स्कीले आक्रमणलाई ‘अत्यन्तै निन्दनीय’ भन्दै अन्तर्राष्ट्रिय समुदायलाई रूसमाथि दबाब बढाउन आग्रह गरेका छन् ।

क्रिभी रिह युक्रेनी राष्ट्रपति जेलेन्स्कीको गृहनगर हो । पछिल्लो आक्रमणलाई युक्रेनी अधिकारीहरूले ‘डबल–ट्याप’ आक्रमणका रूपमा वर्णन गरेका छन्, जसमा पहिलो आक्रमणपछि उद्धारकर्मी घटनास्थलमा पुगेका बेला दोस्रो आक्रमण गरिएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै