प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय अनभिज्ञ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले गत असार १९ गते गरेको भनिएको भारत भ्रमणबारे कुनै औपचारिक जानकारी नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले कुमार बेनको भारत भ्रमणबारे मन्त्रालयलाई कुनै जानकारी नभएको स्पष्ट पारे ।

कुमार बेन असार १९ गते काठमाडौं हुँदै सिमरा र भैरहवा पुगेपछि स्थलमार्गबाट भारत प्रवेश गरी गोरखपुर हुँदै हवाईजहाजमार्फत नयाँदिल्ली गएको समाचार सार्वजनिक भएको थियो ।

यस विषयमा प्रवक्ता क्षत्रीले भने, ‘उहाँको भारत भ्रमणबारे कुनै जानकारी छैन। औपचारिक जानकारी हामीकहाँ आएको छैन ।’

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही साउनभित्र चीन भ्रमण गर्न लागेको भन्ने विषयमा पनि हालसम्म परराष्ट्र मन्त्रालयमा कुनै औपचारिक जानकारी नआएको प्रवक्ता क्षत्रीले बताए ।

उनले उक्त भ्रमण दुई देशका राजनीतिक दलबीचको विषय भएको उल्लेख गर्दै आवश्यक समन्वयका लागि सम्बन्धित पार्टीले अनुरोध गरेमा परराष्ट्र मन्त्रालयले सहजीकरण गर्ने बताए ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे पनि अहिलेसम्म कुनै औपचारिक निर्णय नभएको मन्त्रालयले जनाएको छ । प्रवक्ता क्षत्रीले उपयुक्त समय र मितिमा उच्चस्तरीय भ्रमण हुन सक्ने भए पनि हालसम्म भ्रमणको मिति तय नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै