चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द 

चितवन । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जंगल सफारी सेवा आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ । निकुञ्ज प्रशासनले पर्यटकको सुरक्षा र वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म सफारी सञ्चालन नगर्ने निर्णय गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा जंगलभित्रका कच्ची सडक बिग्रिने, खोलानालामा आकस्मिक बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने भएकाले सफारी सेवा स्थगित गरिएको हो ।

उनले वर्षा याम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि पनि संवेदनशील समय भएकाले संरक्षणका दृष्टिले समेत यो निर्णय आवश्यक रहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष मनसुनको समयमा जंगल सफारी सेवा बन्द गर्दै आएको छ । मौसममा सुधार आएपछि, सामान्यतया दसैँ आसपासदेखि सफारी पुनः सञ्चालन गर्ने अभ्यास रहेको निकुञ्जले जनाएको छ ।

यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जिप सफारी भने यथावत् रहनेछ । सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न नाकाबाट पर्यटकहरू सामुदायिक वन क्षेत्रमा सफारीको सुविधा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै