तेहरान । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी आक्रमणको जवाफस्वरूप यस्तो कदम चालिएको भन्दै इरानी अधिकारीहरूले कुनै पनि जहाजले उक्त जलमार्ग प्रयोग गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएका छन् ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) र संयुक्त सैन्य कमान्डद्वारा जारी वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको तथा हालैका सैन्य हमलाका कारण स्ट्रेट अफ हर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको दाबी गरिएको छ ।
फारसको खाडीलाई विश्व बजारसँग जोड्ने यो जलमार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा ठूलो मात्रामा तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात हुने गर्दछ । साउदी अरब, इराक, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारजस्ता प्रमुख ऊर्जा उत्पादक देशहरूको निर्यात यही मार्गमा निर्भर छ ।
जलमार्ग बन्द भएसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार तेल आपूर्ति अवरुद्ध भएमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्नेछ । यसले विश्वव्यापी मुद्रास्फीति बढाउनुका साथै आर्थिक मन्दीको जोखिमसमेत निम्त्याउन सक्छ ।
यसको प्रत्यक्ष असर भारत, चीन, जापान र दक्षिण कोरियाजस्ता ऊर्जा आयातमा निर्भर राष्ट्रहरूमा पर्ने देखिएको छ । युरोपेली मुलुकहरूमा समेत इन्धन आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । समुद्री यातायातमा बढ्दो जोखिमका कारण बीमा कम्पनीहरूले कभरेजमा कडाइ गर्न थालेका छन् भने व्यापारीहरू समेत सतर्क बनेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य बढेमा त्यसको प्रभाव नेपालमा पनि पर्ने निश्चित छ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्न सक्ने सम्भावना छ । यसले ढुवानी, उद्योग, कृषि तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा थप दबाब सिर्जना गर्न सक्छ ।
अमेरिका, इजरायल र इरानबीचको तनाव चुलिँदै गइरहेका बेला स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको निर्णयलाई क्षेत्रीय द्वन्द्वको नयाँ चरणको संकेतका रूपमा हेरिएको छ । अन्तर्राष्ट्रिय समुदायले तत्काल वार्ता सुरु गरी समुद्री मार्ग पुनः सञ्चालनमा ल्याउन आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







