‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास

काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको चलचित्र ‘लालीबजार’ शुक्रबारदेखि चौथो सातामा प्रवेश गरेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली चलचित्र भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । चलचित्रले देशभर एक सय ६० शो पाएको छ । पहिलो दिन एक सय ८० शो पाएको चलचित्रले चौथो सातामा प्रवेश गर्दै झनै दर्शकको साथ पाएको छ ।

चलचित्र प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए । ‘हाम्रो कानूनी विवादले गर्दा फिल्म परिवारले हेर्न मिल्दैन कि भन्ने दर्शकमा परेको रहेछ, त्यसैले पहिला धेरै दर्शक एक्लै हेर्न आउए । फिल्म त परिवारले नै हेर्नु पर्ने रहेछ भन्ने लागेपछि अहिले दर्शकहरू आफ्नो परिवार नै लिएर हल आएका छन् । विहिबार मात्र हल भिजिटका क्रममा भक्तपुरमा एउटा १८ जना र अर्को १७ जनाको परिवार भेटका थियौँ, अहिले फिल्म हेर्न तीन पुस्ता नै हलमा आएका छन्,’ उनले भने ।

उनले हजुरबुवादेखि नातीपुस्तासम्म हलमा भेटिएको सुनाए । चौथो सातामा प्रवेश गरेको चलचित्र ‘लालीबजार’ ले शुक्रवारका लागि नेपालभर १४० शो पाएको थियो । चौथो साताको शुक्रवार र शनिवार चलचित्रले प्राप्त गरेका अधिकांश शोहरूमा दर्शकको चाप बढ्नुका साथै शोहरू हाउस फुल हुँदैछन् ।

अभिनेता बानियाँले नेपालभरबाट दर्शकको माया उस्तै पाएको बताए । ‘म नेपालभरका मुख्य सहरमा पुगेर दर्शक भेटेर फर्किएँ, हामीलाई जुन विश्वास गरेर दर्शक आएका छन्, फर्किंदा समय र पैसाको सदुपयोग भयो भन्ने लागेको छ । फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्शाएको थियो, त्यसलाई आम दर्शकले राम्रोसँग बुझे । फिल्मले काठमाडौँ र मोफसलमा उस्तै व्यापार गरेको छ, यसले पनि हामीले नेपालभरबाट एकसाथ माया पाएका छौँ,’ उनले भने ।

यम थापाको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास प्रदर्शकको छ । ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । चलचित्र हेरेर निस्किने अधिकांशले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् । दर्शकले दिएको ‘वर्ड अफ माउथ’ले तेस्रो साताको विकेन्ड फिल्मका लागि सुखद भएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय छ । यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेका छन् ।

विशाल थियटरमा काम गरिरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभियन्ताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छ भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै