काठमाडौः नेपाली गजल संगीतमा प्रेम, आत्मीयता र भावनात्मक गहिराइ बोकेको गजल ‘अँगालो भित्र’ सार्वजनिक भएको छ । सरोज संगम रावलद्धारा लिखित, बबिना भट्टराई र विश्व नेपालीको स्वरमा रहेको गजल ‘अँगालो भित्र’ बबिना भट्टराईकै संगीतमा तयार भई उनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका गजल ‘अँगालो भित्र’ को मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् भने गजलको एरेन्ज साहस शाक्यले गरेका छन् । गजलमा तवला भुवन गन्दर्भले बजाएका छन् भने गितार सञ्जिव बराइलीले बजाएका छन् । केशव राज भट्टले निदेर्शन गरेको गजलको भिडियोको कलर र सम्पादन मीन रावलले गरेका छन् ।
प्रेमलाई आश्रय, शान्ति र आत्मिक अनुभूतिको प्रतीकका रूपमा प्रस्तुत गरिएको यस गजलका शब्दहरूले श्रोतालाई भावनाको गहिराइमा डुबाउँछन् भने स्वर, संगीत र भिडियो प्रस्तुतीकरणले त्यसलाई अझ जीवन्त बनाएको छ ।
दुनिया भुलेर आए तिम्रो अँगालो भित्र
संसार देख्न पाएँ तिम्रो अँगालो भित्र...
गजलको यो शेरले प्रेमको गहिरो अनुभूति र प्रिय व्यक्तिको सान्निध्यमा पाइने सम्पूर्णताको भाव अत्यन्त मार्मिक रुपमा व्यक्त गरेको छ । गजलकार सरोज संगम रावलले यहाँ प्रेमलाई केवल आकर्षण वा सम्बन्धका रूपमा होइन, जीवनकै सम्पूर्ण संसारका रूपमा प्रस्तुत गरेका छन् । प्रेमीले बाहिरी संसारका दुःख, तनाव, स्वार्थ, संघर्ष र कोलाहललाई बिर्सेर प्रिय व्यक्तिको अँगालोमा शरण लिएको छ । । संसारमा मानिस अनेक समस्याले थिचिएको हुन्छ तर साँचो प्रेमको न्यानोपनले ती सबै पीडा क्षणभरमै हराएझैँ लाग्छ । प्रिय व्यक्तिको अँगालो सुरक्षा, शान्ति र आत्मीयताको प्रतीक पनि हो, जसले प्रेमीको मनमा उत्पन्न हुने पूर्ण विश्वास र समर्पणलाई देखाउँछ ।
प्रेमीका लागि प्रिय व्यक्तिको साथ नै सम्पूर्ण संसार हो । उसले भौतिक संसारभन्दा पनि प्रेमभित्र जीवनको साँचो अर्थ, खुशी, अपनत्व र अस्तित्व भेटेको अनुभूति गरेको छ । गजलको यो शेरमा प्रियाको अँगालो केवल शारीरिक समिपता मात्र होइन त्यो भावनात्मक संसार हो जहाँ प्रेम, आशा, सपनाहरू र जीवनका सबै अर्थ समेटिएका हुन्छन् । यो शेरले प्रेमको शक्ति, आत्मीयताको महत्व र प्रिय व्यक्तिको साथमा प्राप्त हुने मानसिक शान्ति तथा पूर्णताको अनुभूतिलाई कलात्मक ढंगले व्यक्त गरेको छ । प्रेममा डुबेको व्यक्तिका लागि प्रियाको अँगालो नै सुरक्षित आश्रय र सम्पूर्ण संसार हो, बाहिरी संसार केहि पनि होइन उनको अँगालो नै चराचर जगत्, विश्व भुवन हो ।
रंगिन अथाह रंगीन देखेर जिन्दगी
के के सोचे रमाएँ तिम्रो अँगालो भित्र...
गजलको यो शेर प्रेम, कल्पना र जीवनका अनन्त अनुभूतिहरूलाई अत्यन्त भावपूर्ण ढंगले अभिव्यक्त गर्ने सुन्दर काव्यात्मक प्रस्तुति बनेको छ । प्रिय व्यक्तिको अँगालोलाई केवल प्रेमको प्रतीकका रूपमा मात्र होइन, जीवनका अनेक रंग, सपना र आनन्दको संसारका रूपमा चित्रण गरिएको छ, जीवनलाई अनेक रंगहरूले भरिएको विशाल चित्रका रूपमा प्रस्तुत गरिएको छ । मानव जीवन सुख, दुःख, आशा, निराशा, प्रेम, विछोड, संघर्ष र सफलताजस्ता असंख्य अनुभवहरूले बनेको हुन्छ । यी सबै अनुभव “अथाह रंग” का रूपमा जीवनमा प्रेमको आगमन भएपछि ती रंगहरू अझ चम्किला र अर्थपूर्ण बनेका छन्। प्रिय व्यक्तिको साथले जीवनमा नयाँ उत्साह, उमंग र सौन्दर्य थपिएको छ ।
प्रेमीको कल्पनाशील र भावुक मनोदशा पनि गजलको यो शेरमा उजागर भएको छ । प्रियाको अँगालोमा बसेर उसले अनगिन्ती सपना देखेको छ, भविष्यका कल्पना बुनेको छ र जीवनका अनेक मधुर अनुभूतिमा रमाएको छ। “अँगालो” केवल शारीरिक समीपता र निकटता मात्र होइन आत्मीयता, विश्वास, सुरक्षा र भावनात्मक सन्तुष्टिको प्रतीक हो। प्रेमीले प्रिय व्यक्तिको साथमा आफूलाई पूर्ण, आनन्दित र संसारकै सबैभन्दा सुखी अनुभूति गरेको छ । यो शेरले प्रेमले जीवनमा ल्याउने रंगीनता, आशा र आनन्दलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । प्रिय व्यक्तिको सान्निध्यले जीवनलाई नयाँ अर्थ दिन्छ, मनमा अनन्त सपना जगाउँछ र मानिसलाई संसारका सबैभन्दा सुन्दर अनुभूतिहरूसँग परिचित गराउँछ भन्ने भाव गजलको यस शेरमा व्यक्त भएको छ ।
मरुभूमि थियो कि सागर अञ्जानमै रहेछु
कुन मादमा हराए तिम्रो अँगालो भित्र...
यो शेर प्रेमको गहिराइ, मोहको तीव्रता र आत्मविस्मृतिको भावलाई अत्यन्त कलात्मक ढंगले अभिव्यक्त गर्ने सशक्त र भावपूर्ण रचना हो। प्रिय व्यक्तिको अँगालोमा पुगेपछि आफूले संसार, यथार्थ र आफ्नै चेतनासमेत बिर्सिएको अवस्थालाई प्रतीकात्मक भाषामा प्रस्तुत गरिएको छ । मरुभूमि थियो कि सागर अञ्जानमै रहेछु... जीवनको वास्तविक स्वरूपप्रति प्रेमी अनभिज्ञ बनेको अवस्था यहाँ चित्रित गरिएको छ। “मरुभूमि” ले सुखविहीन, शुष्क र पीडादायी जीवनलाई संकेत गर्छ भने “सागर” ले गहिरो, विशाल र भावनाले भरिएको संसारलाई जनाउँछ। प्रियाको प्रेममा यति धेरै डुबिएछ कि आफ्नो जीवन दुःखको मरुभूमि थियो वा भावनाको अथाह सागर त्यो छुट््याउने चेतनासमेत बाँकी रहेन । प्रेमको मोहले यथार्थलाई ओझेलमा पारिदिएको छ । कुन मादमा हराए तिम्रो अँगालो भित्र .... प्रेमको मादकता र त्यसले ल्याउने आत्मविस्मृति यहाँ उजागर भएको छ । “माद” अर्थात् प्रेमको नशा, मोह वा सम्मोहन । प्रिय व्यक्तिको अँगालोमा पुगेपछि प्रेमी यति धेरै भावनात्मक रूपमा डुबेको छ कि उसले आफूलाई कहाँ र कसरी हरायो भन्ने पनि थाहा पाउन सकेको छैन । त्यो अँगालो उसका लागि केवल शारीरिक निकटता नभई भावनात्मक संसार, आत्मीयता र सम्मोहनको केन्द्र बनेको छ । गजलको यो शेरले प्रेमले मानिसलाई यथार्थबाट टाढा पुर्याएर भावनाको गहिरो संसारमा हराउन बाध्य बनाउने अवस्थालाई चित्रण गरेको छ । प्रेमको मादकतामा मानिसले जीवनका दुःख,सुख, वास्तविकता र आफ्नो चेतनासमेत बिर्सन सक्छ भन्ने गहिरो भाव यस शेरमा अभिव्यक्त भएको छ ।
सोचेर हो अँगालो चौतारी प्रेम बसि
पिडा विसाए तिम्रो अँगालो भित्र...
गजलको यो शेर प्रेमको आश्रयदायी स्वरूप, आत्मीयताको शीतलता र मनका पीडाहरूलाई बिर्साउने प्रेमको शक्तिलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गर्ने सुन्दर अभिव्यक्ति हो । प्रिय व्यक्तिको अँगालो जीवनका दुःखबाट विश्राम दिने चौतारी हो । उनको अँगालो “चौतारी” जस्तै हो, जसरी चौतारीमा थकित यात्रुले केही समय विश्राम लिन्छ, शीतलता अनुभव गर्छ र मन हल्का बनाउँछ त्यसैगरी, प्रेमीका लागि प्रिय व्यक्तिको अँगालो जीवनको संघर्ष, थकान र मानसिक बोझबाट विश्राम पाउने स्थान हो, त्यो अँगालो प्रेमले भरिएको, आत्मीयता र अपनत्वले सजिएको सुरक्षित आश्रय हो ।
मानिसको जीवन अनेक पीडा, चिन्ता र अभावले भरिएको हुन्छ तर जब उसले साँचो प्रेमको स्पर्श पाउँछ तब ती दुःखहरू क्षणभरका लागि भए पनि हराएझैँ लाग्छन्। प्रिय व्यक्तिको अँगालोमा पुगेपछि प्रेमीले आफ्ना सबै पीडा बिसाएको, मन हल्का बनाएको र आत्मिक सान्त्वना पाएको अनुभव गर्छ। यहाँ उनको अँगालो केवल शारीरिक आलिङ्गन होइन, भावनात्मक सहारा, विश्वास र मानसिक शान्तिको प्रतीक बनेको छ ।
गजलको यो शेरले प्रेमलाई जीवनका दुःख र पीडाबाट मुक्ति दिने शीतल चौतारीका रूपमा प्रस्तुत गरेको छ । साँचो प्रेमले मानिसको मनलाई शान्त बनाउँछ, पीडालाई बिर्साइदिन्छ र जीवनलाई नयाँ ऊर्जा दिन्छ भन्ने गहिरो भाव यस शेरमा अभिव्यक्त भएको छ ।
पत्थर हुँ सोच राख्थे मायाको मामिलामा
नौनी भई विलाए तिम्रो अँगालो भित्र...
यो शेर प्रेमको प्रभावले हृदयको परिवर्तन र कठोर मनसमेत प्रेमको सामु कोमल बन्न सक्ने सत्यलाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गर्ने भावपूर्ण अभिव्यक्ति हो । गजलकार सरोज संगम रावलले आफ्नो स्वभाव, सोच र भावनात्मक अवस्थाको परिवर्तनलाई प्रतीकात्मक भाषामा चित्रण गरेका छन् ।
पत्थर हुँ सोच राख्थे मायाको मामिलामा... गजलकारले आफूलाई “पत्थर” सँग तुलना गरेका छन् । पत्थर कठोर, संवेदनाहीन र सजिलै नपग्लिने अत्यन्त कडा वस्तुको प्रतीक हो । सोच प्रेमप्रति पत्थर जस्तै कठोर थियो; प्रेमलाई महत्व नदिने, भावनामा नबग्ने वा मायाबाट टाढा रहने धारणा थियो, प्रेमको मामिलामा अडिग र भावनाहीन ठानिएको थियो
तर त्यहि प्रेममा उनी यसरी पग्लििए कि जसरी थोरै तातोपनमा पनि नौनी पग्लन्छ । प्रेममा उनी “नौनी भई उनको अँगालो भित्र” विलाएका छन् । त्यो कठोरता प्रेमको न्यानोपनमा पग्लिएको अवस्थालाई गजलको यो शेरले अत्यन्त प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । “नौनी” कोमलता, मिठास र सजिलै पग्लिने गुणको प्रतीक हो । प्रिय व्यक्तिको प्रेम, आत्मीयता र अँगालोको न्यानोपनले कठोर मनलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । उनी अब संवेदनशील, प्रेममय र भावुक बनेका छन् । गजलको यो शेरले साँचो प्रेमको शक्ति र त्यसले मानिसको मनमा ल्याउने परिवर्तनलाई अत्यन्त कलात्मक रूपमा व्यक्त गरेको छ । प्रेमले कठोर हृदयलाई पनि कोमल बनाइदिन्छ, घमण्ड र दूरीलाई पगालेर आत्मीयतामा रूपान्तरण गरिदिन्छ भन्ने सन्देश यस शेरमा पाइन्छ ।
यी सबै शेरहरूलाई समग्र रूपमा हेर्दा गजलकार सरोज संगम रावलद्धारा लिखित गजल ‘अँगालो भित्र’ अत्यन्त भावुक, प्रेमप्रधान र आत्मीय अनुभूतिले भरिएको गजलका रूपमा देखिन्छ। गजलका प्रत्येक शेरमा प्रिय व्यक्तिको अँगालोलाई केन्द्र बनाएर प्रेमका विभिन्न रूप,शान्ति, आश्रय, मोह, आत्मविस्मृति, परिवर्तन र जीवनको पूर्णतालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गजलकारले प्रेमलाई केवल दुई व्यक्तिबीचको आकर्षणका रूपमा होइन जीवनलाई अर्थ दिने गहिरो अनुभूति र आत्मिक संसारका रूपमा चित्रण गरेका छन् ।
गजल ‘अँगालो भित्र’ ले सम्पूर्ण गजललाई भावनात्मक एकता दिएको छ । प्रियाको अँगालो यहाँ केवल शारीरिक निकटताको प्रतीक होइन; त्यो प्रेम, सुरक्षा, आत्मीयता, विश्राम, भरोसा र मानसिक शान्तिको फरक संसार बनेर आएको छ । गजलकारले संसारका दुःख, पीडा, अन्योल, कठोरता र जीवनका थकानहरू प्रिय व्यक्तिको प्रेममा आएर हराएको अनुभूति गरेका छन् ।
कुनै शेरमा प्रेमले जीवनलाई रंगीन बनाएको छ, कुनैमा यथार्थ बिर्साएर भावनाको गहिराइमा डुबाएको छ, कुनैमा पीडालाई बिसाउने चौतारी बनेको छ भने कुनैमा पत्थरझैँ कठोर मनलाई नौनीझैँ कोमल बनाइदिएको छ । यसरी प्रत्येक शेरले प्रेमको फरक फरक मनोवैज्ञानिक र भावनात्मक पक्षलाई उजागर गरेको छ ।
गजल ‘अँगालो भित्र’ ले मूलतः एउटा गहिरो सन्देश दिन खोजेको छ, साँचो प्रेम मानिसको जीवन बदल्ने शक्ति हो, प्रेमले मानिसलाई शान्ति दिन्छ, दुःख बिर्साउँछ, जीवनलाई नयाँ अर्थ दिन्छ र कठोर हृदयलाई समेत नौनी झैं कोमल बनाइदिन्छ । जब मानिसले साँचो आत्मीयता पाउँछ तब उसले संसारको वास्तविक सुख बाहिरी भौतिकतामा होइन भावनात्मक नजिकपन र विश्वासमा भेट्छ भन्ने भाव गजलभरि प्रवाहित भएको छ ।
गजल ‘अँगालो भित्र’ प्रेमको मादकता, आत्मीयताको गहिराई र प्रिय व्यक्तिको साथमा प्राप्त हुने मानसिक पूर्णताको अत्यन्त सुन्दर र प्रभावकारी काव्यात्मक अभिव्यक्ति हो ।
यो गजलका शेरहरू पढ्दा मात्रै पनि प्रेमको गहिरो अनुभूति हुन्छ, यस गजललाई बबिना भट्टराई र विश्व नेपालीले मीठो स्वरमा सजाएका छन् भने बबिना भट्टराई स्वयले गजलको भावलाई बुझेर त्यसअनुसार संगीत सिर्जना गरेकी छिन्, भिडियोमा पनि बबिना भट्टराई र विश्व नेपाली फिचर्ड भएका छन् जसले गजल निकै सुन्दर बनेको छ । बबिना भट्टराईको स्वरमा रहेको कोमलता, मधुर कम्पन र भावनात्मक गहिराईले प्रत्येक शेरको मर्मलाई स्वाभाविक रूपमा बोकेको छ । गजल सुनिरहदा उनले शब्दलाई केवल गाएकी मात्र छैनन्, अनुभूतिसँग जोडेकी छिन् । गजलका शेरहरूमा स्वरको उतारचढावले भित्री संवेदनालाई निकै प्रभावकारी बनाएको अनुभूति हुन्छ । त्यसैगरी, विश्व नेपालीको स्वर र उपस्थितिले गजलमा संवादात्मक प्रेमभाव थपेको छ । गजलमा रहेको आत्मीय प्रेम, समर्पण र भावुकताको पक्षलाई पुरुष आवाजले सन्तुलन दिएको छ । दुई स्वरको मेलले गजललाई केवल एकल अनुभूति नभई दुई आत्माबीचको भावनात्मक संसारजस्तो बनाएको छ ।
बबिनाको संगीत शान्त, मृदु र शब्दमुखी छ, जसले श्रोतालाई शब्द र भावमा केन्दि्रत गराउँछ । गजलको प्रकृति नै संवेदनशील र आत्मिक हुने भएकाले बबिनाको संगीतले त्यसलाई आवश्यक शीतलता र गहिराइ दिएको अनुभव हुन्छ । संगीतले शब्दलाई ढाकेको छैन, बरु शब्दलाई अझ जीवन्त बनाएको छ ।
भिडियो पक्षमा पनि बबिना र विश्व नेपालीको प्रस्तुतिले शेरहरूको भावलाई न्याय गरेको छ । मेहफिलमा गजल गाइरहेको उनीहरूको हाउभाउ, नजर, निकटता र मौन अभिव्यक्तिहरूले गजलको भावनात्मक संसारलाई दृश्यात्मक रूप दिएका छन्। विशेषतः “अँगालो” लाई केवल रोमान्टिक दृश्य नभई भावनात्मक आश्रयका रूपमा प्रस्तुत गरिएको पक्ष प्रभावकारी रहेको छ । भिडियोमा अत्यधिक नाटकीयता नभई सरल र अनुभूतिमूलक प्रस्तुति भएकाले गजलको मर्म अझ स्वाभाविक बनेको छ ।
समग्रमा गजल ‘अँगालो भित्र’ शब्द, स्वर, संगीत र दृश्य चारै पक्षबाट सन्तुलित र भावपूर्ण सिर्जना बनेको छ । गजलले व्यक्त गर्न खोजेको प्रेमको गहिराइ, आत्मीयता र भावनात्मक शान्तिलाई बबिना भट्टराईको स्वर तथा संगीत र बबिना भट्टराई र विश्व नेपालीको फिचर्ड प्रस्तुतिले निकै हदसम्म न्याय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एमाले सचिव बस्नेतकी पत्नीसहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँको आदेश
- ‘अंगालोभित्र’ लिएर आए बबिना भट्टराई र विश्व नेपाली (भिडियो सहित)
- वर्षाको कारण वीपी राजमार्ग फेरी बन्द
- पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा दोहोरो सुविधाको गाडी फिर्ता
- यी हुन् समस्याग्रस्त १० सहकारीका ऋणीहरु (नामावलीसहित)
- आज बागमती प्रदेशमा सार्वजनिक बिदा, यस्तो छ कारण
- यस्तो छ आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
- संवैधानिक परिषद्को बैठक आज बस्दै, को बन्ला प्रधानन्यायाधीश ?


ट्रेन्डिङ
खबरमुकाम





