मोरङ । दिव्य सिद्ध पुरुष परमपूज्य जगतगुरु महाराज शिव शक्ति बाबा हिजो मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका–१० स्थित माङ्लबारे डाँडामा अवस्थित ॐम सियार जम्बोलिङ बज्र गुम्बाको अवलोकन भ्रमणमा पुगे । पूर्व–पश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ रहेको उक्त गुम्बामा पुगेर उनले गुम्बाको वर्तमान अवस्था, संरचना तथा धार्मिक गतिविधिबारे विस्तृत जानकारी लिए ।
भ्रमणका क्रममा गुम्बाका गुरुज्यूहरू तथा व्यवस्थापन समितिका सदस्यहरूसँग भेटघाट गर्दै उनले आध्यात्मिक चिन्तन, धर्म संरक्षण तथा सामाजिक सद्भावका विषयमा गहन छलफल गरे । उनले यस्ता धार्मिक स्थलहरूलाई केवल पूजा–आराधनाका केन्द्रमा सीमित नराखी समाजलाई सकारात्मक दिशा दिने आध्यात्मिक विद्यालयका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
सोही अवसरमा सुनबर्सी नगरपालिकाका विभिन्न विद्यालयबाट आएका करिब १०० जना विद्यार्थी, शिक्षक तथा शिक्षिकासँग पनि उनले अन्तरक्रिया गरे । विद्यार्थीहरूले गुरुको दर्शन तथा आशिर्वाद प्राप्त गर्नुका साथै आध्यात्मिक मार्गप्रति प्रेरणा लिने अवसर पाए । शिव शक्ति बाबाले उनीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै नैतिक शिक्षा, अनुशासन र सकारात्मक सोचको महत्वबारे विशेष सन्देश दिए ।
त्यसैगरी, कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूका लागि फलफूल, पेय पदार्थ र पानीको व्यवस्था गरिएको थियो। सहभागीहरूले यसले गुरुको मानवीयता, उदारता र सेवाभाव झल्काएको प्रतिक्रिया दिएका छन् ।
गुरु शिव शक्ति बाबाले उक्त गुम्बासहित देशभर रहेका धार्मिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । “यस्ता सम्पदाहरू जोगाउन सके आगामी पुस्तालाई आध्यात्मिक चेतनासँग जोड्न सहज हुन्छ, जसले उनीहरूको सोच र जीवनशैली सकारात्मक बनाउँछ,” उनले भने ।
आध्यात्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय शिव शक्ति बाबा आफ्नो उदार हृदय र सहयोगी भावनाका लागि परिचित मानिन्छन्। विभिन्न सामाजिक, भौतिक तथा नैतिक कार्यहरूमा उनले आफ्नै स्रोतबाट उल्लेखनीय सहयोग प्रदान गरिसकेको बताइन्छ । उनलाई हालसम्म ११३ देशबाट निमन्त्रणा प्राप्त भइसकेको छ भने नेपाल र भारतका १०८ भन्दा बढी धार्मिक स्थलहरूको अवलोकन गरिसकेका छन् ।
हाल उनको मुख्य आश्रम मोरङको लेटाङ नगरपालिका–९ स्थित जातेमा रहेको छ, जहाँ दैनिक सयौँ भक्तजन तथा बिरामीहरू आशिर्वाद लिन आउने गरेका छन्। सामाजिक सञ्जालमार्फत पनि उनका गतिविधि तथा सन्देशहरू व्यापक रूपमा फैलिरहेका छन् ।
यस प्रकारका धार्मिक तथा आध्यात्मिक गतिविधिहरूले समाजमा सकारात्मक ऊर्जा, नैतिकता र सहिष्णुताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारले सुकुम्बासीलाई युद्ध अपराधीको व्यवहार गरेको गगनको आरोप
- यी हुन् रोल्पा दुर्घटनामा ज्यान गुमाएका २० जना
- बालेनलाई माधव नेपालको चेतावनी, मजदुरले आन्दोलनको नेतृत्व गर्छन्
- राष्ट्रपति कार्यालयमा पुग्यो अर्को अध्यादेश
- बुद्ध जयन्तीकै दिन ढालियो गुम्बा
- माङ्लबारे गुम्बामा शिव शक्ति बाबा : धर्म, शिक्षा र संरक्षणमा जोड
- बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री बालेनको फेसबुक स्टाटस यस्तो छ
- सुकुम्बासी बस्ती खाली गराउने आज दोश्रो चरण, बल्खुमा पुग्यो डोजर


ट्रेन्डिङ
खबरमुकाम







