काठमाडौं । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सेवा सुरु गरेको यस होटल सातौं वर्षमा प्रवेश गरेसँगै वार्षिकोत्सव मनाउन सफल भएको हो ।
होटलको यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको जनाइएको छ । स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको छैन, बरु यसले नेपालमा गहिरो जरा गाडेको छ । आफू स्थापित शहरबाट प्रेरणा लिँदै होटलले काठमाडौंको आत्मीयता, समृद्ध संस्कृति र धैर्यलाई आफ्ना सम्पूर्ण सेवाहरूमा समेटेको छ ।
होटलका संचालक गौरव अग्रवालले सुरुवाती दिनहरू सम्झँदै भने, “सात वर्षअघि यो केवल व्यवसायिक निर्णय मात्र थिएन, एउटा विश्वास थियो । नेपाल, यहाँका आत्मीय मानिस, समृद्ध संस्कृति र भव्य प्राकृतिक सौन्दर्यले विश्वकै हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट स्थान पाउन योग्य छ भन्ने विश्वास। त्यसबेला हामी केवल भवन निर्माण गरिरहेका थिएनौं, हामी विश्वासको जग हालिरहेका थियौं, उच्चस्तरीय मापदण्ड बनाइरहेका थियौं । हामी त बलियो प्रतिवद्धता निर्माण गरिरहेका थियौं ।”
त्यस्तै, महाप्रबन्धक शंकुष महाजनले भने, “सात वर्षको यात्रा पार गरिसकेपछि अब हाम्रो लागि लक्जरी भनेको जिम्मेवारी पनि हो । जिम्मेवार स्रोत व्यवस्थापनदेखि ऊर्जा दक्षतासम्म, हामी एलईईडी गोल्ड सर्टिफाइड होटल हुन पाउँदा गर्व गर्छौं । यस स्थानलाई आजको स्वरूप दिन सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद ।”
वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथीहरू, ग्राहकहरू, ट्राभल एजेन्ट तथा होटलसँग सम्बन्धित परिवार र शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका चर्चित पर्वतारोही, गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल तथा पिओलेट डि’ओर एशिया प्राप्त गर्ने पहिलो नेपाली मिंग्मा डेभिड शेर्पाको उपस्थिति थियो । पर्वतारोहण क्षेत्रको ‘ओस्कार’ मानिने उक्त सम्मान प्राप्त गरेका शेर्पाको उपस्थिति नेपाली उत्कृष्टता, महत्वाकांक्षा र गौरवको उत्सव सम्मिलित साँझको थिमसँग पूर्ण रूपमा मेल खान्थ्यो ।
यो साँझले लक्जरीसँगै जिम्मेवारी पनि आउँछ भन्ने काठमाडौँ मेरियट होटलको विश्वासलाई प्रतिबिम्बित गरेको थियो । पाहुनाहरूलाई सम्झनाको चिनोस्वरूप गमलासहितको बिरुवा प्रदान गरियो, जसले होटलको दिगोपनाप्रतिको प्रतिबद्धताको सानो तर अर्थपूर्ण संकेत दिएको थियो । बलरूममा तीन पटक राष्ट्रिय पुरस्कार प्राप्त कलाकार कृष्ण लामाका कलाकृतिहरू प्रदर्शन गरिएका थिए, जसमा बेइजिङ इन्टरनेशनल आर्ट बिएन्नेलबाट भर्खरै ल्याइएको चित्र पनि समावेश थियो । ती कलाकृतिको बिक्रीबाट प्राप्त नगदको केही हिस्सा प्रिजनर्स असिस्टेन्स नेपाललाई प्रदान गरिने व्यवस्था गरिएको थियो । प्रिजनर्स असिस्टेन्स नेपालकी अध्यक्ष सुवानी आले मगरको उपस्थितिले पनि यस साँझलाई अझ अर्थपूर्ण बनाएको थियो, जुन केवल उत्सव मात्र नभई उद्देश्यसँग जोडिएको कार्यक्रम पनि थियो ।
काठमाडौं मेरियट होटलले नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न महत्वपूर्ण पहलहरू सञ्चालन गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने प्रतिबद्धता अनुरुप होटल सन् २०१९ मा मेरियट इन्टरनेशनलको विश्वव्यापी अभियानमा सहभागी भएको थियो । सन् २०२३ सम्म आइपुग्दा, होटलले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै साझेदारी विस्तार गरेको छ र आतिथ्य केवल गन्तव्य मात्र नभई पाहुनासँगको सम्बन्ध पनि हो भन्ने सन्देश दिएको छ ।
स्थापनाको सात वर्षमा काठमाडौं मेरियट होटल नेपालका सबैभन्दा परिचित लक्जरी आतिथ्य गन्तव्यमध्ये एकका रूपमा स्थापित छ । निरन्तर सेवा, सामुदायिक सहभागिता र सांस्कृतिक लगानीमार्फत यसले आफ्नो अन्तर्राष्ट्रिय ब्रान्डलाई स्थानीय सन्दर्भमा सफलतापूर्वक रूपान्तरण गरेको छ । काठमाडौं मेरियट होटलका बारेमा राजधानीको मुटुमा अवस्थित काठमाडौं मेरियट होटल नेपालको प्रमुख लक्जरी आतिथ्य गन्तव्य हो ।
मेरियट इन्टरनेशनलको विश्वव्यापी नेटवर्क अन्तर्गत रहेको यस होटलले विश्वस्तरीय सेवा मापदण्डलाई नेपालका मानिस, संस्कृति र समुदायप्रतिको गहिरो प्रतिबद्धतासँग जोडेको छ । सन् २०१९ मा स्थापना भएदेखि यो होटल फुर्सदिला यात्री, व्यवसायिक पाहुना तथा स्थानीय साझेदारहरूका लागि विश्वासिलो गन्तव्यका रूपमा स्थापित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारविरुद्ध मोर्चाबन्दीमा विपक्षी दलहरु
- त्रिविका पदाधिकारीहरुद्वारा सामूहिक राजीनामा
- मनोहरा नदीको ११५ रोपनी जग्गा व्यवस्थापनमा डंगोलको परामर्श
- एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई ट्यांकी र पम्प प्रदान
- फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै
- काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
- दुर्गम क्षेत्रम नेपाल टेलिकमको भीस्याट र अन्य प्रविधिमार्फत सेवा
- मीनप्रकाश ओलीको राष्ट्रभक्तिमा समर्पित ‘के भयो भयो जगतमा’


ट्रेन्डिङ
खबरमुकाम







