कोशी प्रदेश पयर्टन वर्ष २०८२ ले उघार्दैछ कोशीको पर्यटनको नयाँ क्षितिज

नेपालको पूर्वी भूगोल- जहाँ हिमाल, पहाड र तराई एकैसाथ बोल्छन्- अथाह प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको खानीका रूपमा कोशी प्रदेश उभिएको छ । प्रकृतिले नै कुँदेर निर्माण गरेको अनुपम संरचनाको प्रतीक बनेको यो प्रदेशमा अपार सम्भावना र स्रोत-साधन हुँदाहुँदै पनि उचित प्रचार प्रसारको अभावका कारण कोशी ओझेलमा परेको मात्र होइन, देशको समृद्धिका महत्वपूर्ण आधारहरू समेत शून्यतामा हराइरहेका छन् । यही शून्यतालाई अब कोशी प्रदेश सरकारले रंग भर्ने तयारी थालेको छ । कोशीलाई पर्यटनको विश्व नक्सामा स्थापित गर्ने तयारीसहित प्रदेश सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको छ ।

यसै सन्दर्भमा कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी पर्यटन प्रवर्द्धन वर्ष’ घोषणा गरी कार्य अघि बढाएको छ । उक्त अभियानलाई प्रभावकारी बनाउन निर्देशक समिति गठन गरिएको छ भने सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्रका पर्यटन व्यवसायी तथा कलाकारहरूसँग सहकार्य गर्दै कोशीका पर्यटकीय क्षेत्रलाई उजागर गर्ने लक्ष्य लिइएको छ । पर्यटन बोर्ड र निजी क्षेत्रसँगको सहकार्यविना पर्यटन प्रवर्द्धन सम्भव छैन भन्ने निष्कर्षसहित प्रदेश सरकारका पर्यटन मन्त्रीको नेतृत्वमा रहेको टोली काठमाडौँ आइपुगी विभिन्न तहमा छलफलमा जुटेको हो ।

काठमाडौँ भ्रमणको मूल उद्देश्य नेपाल पर्यटन बोर्डसँग सहकार्यलाई औपचारिक बनाउनु रहेको थियो । सो प्रयोजनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा पर्यटन प्रवर्द्धनका सन्दर्भमा पेशागत र प्राविधिक सहयोग लिने उद्देश्यसहित नेपाल पर्यटन बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौताअनुसार नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा कोशी प्रदेशका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न, प्रदेशको क्षमता विकासमा सहयोग पुर्‍याउन तथा पेशागत र प्राविधिक सहयोग प्रदान गर्नेछ ।

यसका साथै सङ्घीय संरचनाभित्र रहेका पर्यटनसम्बद्ध विभिन्न व्यावसायिक संस्थाहरू- होटल सङ्घ (हान), ट्राभल एजेन्सी सङ्घ (टान), नाटा, पर्वतारोहण सङ्घ (एनएमए) लगायतका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई काठमाडौँमा एकै स्थानमा भेला पारेर कोशी प्रदेशका पर्यटकीय उपज, सम्भावना र प्राथमिकताबारे विस्तृत जानकारी गराइएको छ । आगामी दिनमा क्षेत्रगत आधारमा पर्यटकीय ‘आइटिनरी’ विकास गर्दै सम्बन्धित संस्थासँग छुट्टाछुट्टै सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य नगरी पर्यटकीय प्रवर्द्धन सम्भव छैन भन्ने निष्कर्षका साथ प्रदेश सरकारका पर्यटन मन्त्रीसहितको टोलीले काठमाडौँमा विभिन्न तहमा छलफल गरेको हो ।

पर्यटन मन्त्री, सदानन्द मण्डलले भने, यदि पूर्वी नेपालको पर्यटनलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकियो भने चितवन र पोखरालाई समेत प्रतिस्पर्धा दिन सकिन्छ । उदाहरणका रूपमा भेडेटारमा भारतीय पर्यटकहरूको बाक्लो आवागमन यस्तो मौसम र दृश्यको अनुभूति लिन पर्यटकले ५०० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्छ । चितवन र पोखरा चिनिएका गन्तव्य हुन्, अब नचिनिएको कोशीलाई चिनाउनु सबैको साझा दायित्व हो । तपाईं कलाकार र अभियन्ताहरूका धेरै फलोअर्स हुनुहुन्छ, त्यसैले कोशीको प्राकृतिक सौन्दर्यका पक्षहरू उजागर गर्न सहयोग गर्नुहोस् । कोशी प्रदेश सरकारले दिने सक्ने विभिन्न सहुलियतहरूको व्यवस्था म बजेटमै सुनिश्चित गर्नेछु । तपाईंहरू काठमाडौँका ठूला भवनमा बस्नुहुन्छ भने पनि आफ्नो जरा (इटहरी वा पूर्व) लाई नबिर्सिनुहोस् । काठमाडौँमा पनि कोशी छ भन्ने कुरा प्रष्ट पार्नुपर्छ । सबैको सहयोग र सहकार्यले कोशी अब मुस्कुराउनेछ ।”

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भने, ‘हामीले आउटपुट दिने सिर्जनात्मक कार्य गर्नुपर्छ । कोशी प्रदेशका महत्वपूर्ण गन्तव्यहरू जस्तै इलाम, बुढासुब्बा वा तिनजुरे समेटेर ३० सेकेन्डदेखि डेढ मिनेटसम्मको प्रोमो निर्माण गर्नुपर्छ । चलचित्र विकास बोर्डले ती सामग्रीहरू देशभरका हलहरूमा निशुल्क प्रदर्शन गर्नेछ । पर्यटन वर्ष एकैपटकमा सम्पन्न हुने कार्यक्रम होइन, यो दीर्घकालीन प्रक्रिया हो ।’

पछिल्लो समयको मेघाहिट चलचित्र परानका निर्देशक दीपक आचार्यले भने, ‘सिनेमा क्षेत्रलाई आकर्षित गर्न विशेष ‘प्याकेज’ आवश्यक छ । चलचित्र निर्माण गर्नेहरू कोशी प्रदेशका मात्र होइनन्, अन्य प्रदेशका पनि छन्, त्यसैले उनीहरूलाई कसरी समेट्ने भन्ने विषयमा स्पष्ट सोच आवश्यक हुन्छ । कोशी प्रदेश साँच्चै ‘लकी’ सावित भएको छ- चाहे ‘उनको सुटर’ होस्, सगरमाथाको कथामा आधारित ‘जेरियन टप’ होस्, ‘अन्जिला’ होस् वा धनकुटामा छायाङ्कन गरिएको ‘परान’ नै किन नहोस्, यी सबै चलचित्रहरू सफल भएका छन् । हामी विकास बोर्डमार्फत जाँदा काम गर्न सहज हुन्छ । व्यक्तिगत रूपमा जाँदा विभिन्न समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ । पहिले जोमसोममा छायाङ्कन गर्दा एउटा अण्डाको मूल्य २५० रुपैयाँसम्म तिर्नुपरेको अनुभव छ । विकास बोर्डले आवश्यक समन्वय गरिदिएमा हामीलाई धेरै सहजता मिल्छ ।’

प्रदेश सरकारको अपेक्षा सीमित बजेटभित्र निश्चित गतिविधि र दक्ष जनशक्तिको परिचालन गर्दै उपभोक्ता केन्द्रित प्रचार कार्यक्रम सञ्चालन गर्ने रहेको छ । निजी क्षेत्रको लामो अनुभव बोकेका दक्ष जनशक्ति रहेको भन्दै उनीहरूको क्षमतामा काम गर्न सक्ने वातावरण प्रदान गरिने विश्वास व्यक्त गरिएको छ । विशेष गरी ‘कन्ज्युमर फोकस पब्लिसिटी’ कार्यक्रमलाई प्राथमिकतामा राखी मुख्य वैदेशिक स्रोत बजारबाट मिडिया, टुर अपरेटर तथा सेलिब्रेटीलाई कोशी प्रदेशमा ल्याएर प्रमुख गन्तव्य र गतिविधिमा संलग्न गराउने योजना बनाइएको छ ।

यसै क्रममा स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेको चारवटा ट्रेल परियोजनालाई समेत पर्यटन प्रवर्द्धन अभियानसँग जोड्ने प्रयास गरिएको छ । साथै, संयुक्त राष्ट्रसङ्घ (यूएन) को ‘सस्टेनेबल टुरिजम प्रोजेक्ट’ अन्तर्गत कञ्चनजङ्घा ट्रेल, कोशी टप्पु लगायत तीनदेखि पाँच वटा चयनित क्षेत्रमा दिगो पर्यटन विकासमा काम गर्ने योजना रहेको छ ।

चलचित्र क्षेत्रका प्रतिनिधिले पनि सिनेमा गन्तव्यका रूपमा कोशीलाई आकर्षक बनाउन विशेष प्याकेज, एकद्वार समन्वय र सहजीकरण आवश्यक रहेको सुझाव दिएका छन् । चलचित्र विकास बोर्डमार्फत समन्वय हुँदा सुटिङ प्रक्रिया सहज हुने अनुभव पनि साझा गरिएको छ । समापनमा पर्यटन मन्त्री सदानन्द मण्डलले कलाकार र अभियन्ताहरूलाई आफ्ना सामाजिक सञ्जालमार्फत कोशी प्रदेशको प्राकृतिक सौन्दर्य उजागर गर्न आग्रह गर्दै आवश्यक सहुलियत र बजेटीय व्यवस्था प्रदेश सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सबैको साथ, सहकार्य र सक्रिय सहभागिताबाट प्रकृतिको अनुपम उदाहरण कोशी प्रदेश अब मुस्कुराउने विश्वास व्यक्त गरिएको छ ।

आउनुहोस्, कोशी प्रदेशका यी सम्पदालाई प्रयोगमा ल्याउँदै हिमाल, संस्कृति र सम्भावनाको संगमस्थललाई नेपालको नयाँ पर्यटकीय पहिचानका रूपमा स्थापित गरौँ ।

 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाहले भने, “काठमाडौँ आउनुको मूल कारण नेपाल पर्यटन बोर्डलाई सँगसँगै हिँडाउनु आवश्यक थियो । त्यसका लागि हामीले नेपाल पर्यटन बोर्डसँग अन्तर्राष्ट्रिय तथा आन्तरिक बजार प्रवर्द्धनमा पेशागत र प्राविधिक सहयोग लिने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरेका छौँ । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा कोशी प्रदेशका नीति तथा पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न सहयोग गर्नेछ, क्षमता विकासमा साथ दिनेछ र पेशागत तथा प्राविधिक सहयोगसमेत प्रदान गर्नेछ ।”

उनका अनुसार दोस्रो चरणमा सङ्घीय संरचनाभित्र रहेका विभिन्न व्यावसायिक संस्थाहरूका केन्द्रीय समितिलाई काठमाडौँमा एकै स्थानमा भेला पारिएको छ । होटल सङ्घ (हान), ट्राभल एसोसिएसन, पर्वतारोहण सङ्घलगायत विभिन्न सङ्घ-संस्थाका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई उपस्थित गराई कोशी प्रदेशका पर्यटन उपज र सम्भावनाबारे जानकारी गराइएको हो । साथै, क्षेत्रगत आधारमा छुट्टाछुट्टै ‘आइटिनरी’ विकास गर्दै सम्बन्धित संस्थासँग अलग-अलग सहमति पत्र गर्ने तयारी भइरहेको छ ।

तेस्रो चरणमा पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउन चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने निष्कर्षसहित सिनेकर्मी र अभियन्ता पत्रकारसँग छुट्टै छलफल गरिएको छ । सामाजिक सञ्जालको प्रभावका कारण कलाकार र सिनेकर्मीहरूको ठूलो पहुँच रहेकाले उनीहरूलाई पनि सहकार्यका लागि अनुरोध गरिएको हो । पछिल्लो समय कोशी प्रदेशमा छायाङ्कन गरिएका चलचित्रहरू सफल भएकाले उनीहरूले कोशीलाई ‘भाग्यमानी’ गन्तव्यका रूपमा स्वीकार गरेका छन् ।

हालैका दिनमा कोशी प्रदेशलाई छायाङ्कन स्थल बनाएका सबै चलचित्रहरू सफल भएका कारण ‘पवित्र भूमि कोशीमा छायाङ्कन गरिए फिल्म पनि सफल हुन्छ’ भन्ने सन्देश निर्माता, अभिनेता र निर्देशकहरूसमक्ष पुर्‍याइएको सह-संयोजक शाहले बताए । ‘उनको सुटर’, ‘परान’ र ‘अन्जिला’ जस्ता चलचित्रहरू कोशी प्रदेशमै छायाङ्कन गरिएको उदाहरण प्रस्तुत गर्दै, चलचित्रमार्फत कोशीलाई सिनेमा गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे ।

पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउन चलचित्र क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने निष्कर्षसहित सिनेकर्मी, कलाकार तथा अभियन्ता पत्रकारसँग पनि विशेष अन्तरक्रिया गरिएको छ । सामाजिक सञ्जालको प्रभावका कारण कलाकार र चलचित्रकर्मी पर्यटन प्रवर्द्धनका प्रभावकारी अभियन्ता बन्न सक्ने विश्वास गरिएको छ । पछिल्लो समय कोशी प्रदेशमा छायाङ्कन गरिएका चलचित्रहरू सफल भएका कारण कोशी ‘भाग्यमानी’ गन्तव्यका रूपमा चिनिन थालेको छ । ‘उनको सुटर’, ‘जेरियन टप’, ‘अन्जिला’ र धनकुटामा छायाङ्कन गरिएको ‘परान’ जस्ता चलचित्रहरू सफल भएपछि निर्माता, अभिनेता र निर्देशकहरूले पनि कोशीलाई सकारात्मक सङ्केतका रूपमा लिएका छन् । यसै सन्दर्भमा ‘पवित्र भूमि कोशीमा छायाङ्कन गरिए चलचित्र सफल हुन्छ’ भन्ने सन्देश चलचित्रकर्मीमार्फत प्रवाह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै