प्रेम अधिकारी
पर्यटकीय सिजनको सुरुमै इलामका चर्चित पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरोपछि केहि समय सुनसान भएका अन्तु कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न थालेको हो ।
बाढीपहिरोले क्षति गरेका सडकलगायतका संरचना मर्मत तथा पुनर्निर्माण गरिएसँगै अन्तु कन्याममा दैनिक हजारौँ पर्यटक आउन थालेको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए ।
जेनजी आन्दोलन र बाढीपहिरोपछि भारतीय पर्यटकको चहलपहल घटेको अन्तु कन्याममा अहिले भारतीय पर्यटकले खचाखच बन्न थालेका छन् । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष घिमिरेले अन्तुमा भएका होटल, होमस्टे र कटेजमा पर्यटक नअटेपछि गाउँका घरमा समेत पर्यटक राखिएको जानकारी दिए । अध्यक्ष घिमिरेले भने, ‘मौसम खुलेसँगै अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकको घुइँचो लागेको छ ।’
इलाममा बाढी पहिरोको त्रासका कारण भारतीय पर्यटक आउन छोडेका थिए । तर कन्याम अन्तु पर्यटकका लागि सुरक्षित रहेको पाएपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले अन्तुमा मात्र स्वदेशी तथा विदेशी गरी दैनिक पाँच हजारभन्दा बढि पर्यटक भित्रिने गरेका छन् । कात्तिक र मङ्सिर महिना अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने सिजन हो । बिहानको झिसमिसेमै सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकले अन्तुडाँडा खचाखच बन्न थालेको छ ।
अन्तुमा झुल्के हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, विभिन्न जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाबारीको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् । अन्तुमा बाह्रै महिना पर्यटकको भीड लाग्ने गर्दछ ।
सूर्योदय नगरपालिकाकै अर्को चर्चीत पर्यटकीय स्थल कन्याममा पनि पर्यटकको चाप बढेको छ । ‘कन्याम बाढीपहिरोपछि प्रायः सुनसान थियो, अहिले आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।’ होटल व्यवसायी टेकराज गिरिले भने । कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाको अध्ययन, अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् । स्वदेशी तथा भारतीय पर्यटकको रोजाइमा परेको कन्याममा पनि भारतीय पर्यटकको समेत चहलपहल सुरु भएको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बाढीपहिरोपछि पनि कन्याम अन्तुसहित सूर्योदयका पर्यटकीय स्थल पर्यटकका लागि सुरक्षित रहेको जानकारी दिए । नगरले बाढीपहिरोबाट क्षति भएका ८७ वटा सडक सञ्चालनमा ल्याइसकेको छ । नगर प्रमुख राईले भने, ‘सूर्योदयसहित इलामका पर्यटकीय सुरक्षित छन् भन्ने सन्देश पर्यटक र पर्यटन व्यवसायी माफ पुर्याउन जरुरी छ, पर्यटन क्षेत्र चलायमान बनाउन सबै लाग्नु पर्छ ।’
बाढीपहिरोपछि सरकारले तीन महिनाका लागि इलाम जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका कारण तेस्रो देशका पर्यटक भने न्यून सङ्ख्यामा मात्र आउने गरेका छन् । अन्तु र कन्याममा असोज पहिलो सातादेखि जेठसम्म पर्यटकको अत्यधिक भीड लाग्ने गरेको छ । यस्तै इलामका पर्यटकीय स्थल सन्दकपुर डाँडा, माइपोखरी, ढापपोखरी, पानीटार चिया बगान, टुम्लिङ, टङ्लु, सानो पाथीभरा, भण्डीडाँडासहितका क्षेत्रमा समेत पर्यटकको चहलपहल बढेको छ । बाढीपहिरोपछि सुनसान भएका यी क्षेत्रमा पुनः पर्यटकको आउजाउ सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







