सांस्कृतिक परम्परा, भेषभुषा र लोपोन्मुख सम्पदाको संरक्षणमा प्रतिबद्ध छौँ

कृष्ण शाह

सहसंयोजक, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशन समिति

काठमाडौँ । कोशी प्रदेश नेपालकै सुन्दरतम र समृद्ध प्रदेश हो । हिमाल, पहाड, र तराई मधेसको जनजीवनको समिश्रणले यस प्रदेशलाई सामाजिक र सांस्कृतिक पक्षबाट विविधताले भरिपूर्ण बनाएको छ । नेपालकै होचो भुभाग झापाको केचनाकवलदेखि संसारकै अग्लो हिमाल सगरमाथा समेत यसै प्रदेशले ओगटेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला सर्वोच्च शिखरहरूमा १४ वटामध्ये ८ वटा नेपालमा छन् र तीमध्ये ५ वटा हिमशिखरहरू यसै प्रदेशले ओगटेको छ । यी हिम श्रृङ्खलाहरूमा पर्वतारोहण पर्यटन र साहसिक पर्यटनको लागि यो प्रदेश विश्व प्रसिद्ध रहेको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज, सिमसार संरक्षणका लागि रामसार सूचीमा सूचिकृत गोक्यो ताल, माइपोखरी र कोशी टप्पु वन्यजन्तु आरक्ष लगायत जैविक विविधताले भरिपूर्ण मकालु वरूण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्र, तीनजुरे मिल्के जलजलेको लालिगुँरास क्षेत्रका साथै धार्मिक रूपमा प्रसिद्ध तिर्थस्थलहरू वराह क्षेत्र, हलेसी महादेव, पाथिभरा मन्दिर, गुरू फाल्गुनन्द जन्मस्थान, विराट दरवार, किचकबध, कन्याम, श्रीअन्तु जस्ता प्रसिद्ध गन्तव्यहरू यस प्रदेशमा पर्दछन् । यहाँ कोच र किराँत सभ्यताका अनुपम विशिष्टताहरू उपलब्ध छन् ।

कोशी प्रदेश सरकारले वि.सं. २०८२ लाई ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को रुपमा मनाउन लागेको छ । यस क्रममा यिनै विविधि विषयमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक तथा संस्कृतिकर्मी कृष्ण शाहसँग मुकामका लागि गरिएको अन्तर्वार्ताको सम्पादित अंश:

कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा पर्यटन बोर्ड र सङ्घीय सरकारसँग कस्तो सहकार्य भइरहेको छ र ?

नेपाल पर्यटन बोर्डसँग नियमित सम्पर्क र समन्वय भइरहेको छ । खास भारतीय र बङ्गलादेशी पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ भनेर पर्यटकीय स्रोत बजारमा पुग्ने माध्यम र रणनीतिको विषयलगायत प्रचारसामग्री तयारीमा सहकार्य गर्ने सहमति भएको छ । यसलाई छिट्टै दुईपक्षीय सम्झौतामा परिणत गरी कार्य प्रारम्भ हुनेछ । प्रदेश सरकारको आफ्नै क्षेत्राधिकार र सीमा छन्। विदेशमा प्रचारप्रसार गर्न प्रदेश सरकार सिधै जान नसक्ने बाध्यता छ । यी कार्यहरू नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हुनेछन् । नेपाल पर्यटन बोर्डको प्राविधिक सहयोग र सहयोग व्यवस्थाका लागि सहजीकरण गर्न सङ्घीय सरकारलाई्र अनुरोध प्रारम्भ गरेका छौँ । कोशी प्रदेशमा प्राकृतिक सुन्दरताका अतिरिक्त धर्तीको पहिलो धाम बराहक्षेत्र, भगवान राम लक्ष्मणले शास्त्रार्थको ज्ञान लिएको विश्वामित्रको आश्रम रामधुनी, भगवान विष्णुले मोक्ष प्राप्तिका लागि गरेको श्राद्धस्थल बराहक्षेत्र, हलेसी महादेवको मन्दिर, अर्जुनधाराधाम, किरातीहरूका पवित्र भूमि माङमालुङ, मुकुमलुङ, खुवालुङ हाम्रा पवित्र धार्मिक पर्यटकीय क्षेत्रहरू हुन् । अन्य प्रदेशका भन्दा भिन्न छन्, विशिष्ट र पवित्र छन्– जो हाम्रै कोशी प्रदेशमा छन् ।

कोशी प्रदेशमा स्थित हिन्दू-किरात-बौद्ध समुदायका धरोहर संरक्षणका लागि कस्तो समन्व्य गर्नुपर्ला ?

कोशी प्रदेशको परम्परा नै सहकार्य र समन्वय हो । हाम्रो धार्मिक क्षेत्रको संरचनात्मक नै संरचना नै समन्वयात्मक छ । खोटाङको हलेसी मन्दिर हिन्दू बौद्ध र किरात धर्मावलम्बीको एकता र संगमको स्थल हो ।  यसरी नै पाथिभरा क्षेत्र हिन्दू र किराँतहरूको संगमस्थल हो । यसरी नै पवित्र कोशी नदीको तटमा बराह भगवान छन् । त्यही कोशी नदीमा खुवालुङ छ । कति मिलेर हिन्दू किरात र बौद्ध धर्मका भगवानहरू विराजमान हुनुहुन्छ । यही सिद्धान्तमा बसेर हामीले पनि समन्वय गर्नु अपरिहार्य छ, गरी पनि रहेका छौँ ।

कोशी प्रदेश भ्रमण वर्ष मनाउँदै गर्दा के-कस्ता व्यवधान बेहोर्नुपरिरहेको छ रु व्यवहारिक कठिनाइ केहो र नीतिगत समस्या कस्ता छन् ?

हामी कोशी प्रदेश नेपालको पर्यटन र पर्यटन विकास र गतिमा पछाडि छौँ । विगतमा सबै विकासका गतिविधि विकेन्द्रित भए पनि पर्यटन विकेन्द्रित हुन सकेन हामीसँग पर्यटन प्रवर्तनको लागि छुट्टै निकाय पद्धतिमा प्रवेश गरिसकेपछि पनि प्रदेश सरकारले पर्यटन विकास प्रवर्धनका लागि छुट्टै मन्त्रालय बनायो तर । यो मन्त्रालयको अस्तित्व कहिले कुन मन्त्रालयसँग जोड्ने, कहिले फुटाउने, कहिले प्रदेश पर्यटन बोर्ड बनाउने आदि झञ्झट झेलिरह्यो । कहिल्यै संस्थागत र दिगो हुन सकेन । हामीसँग अहिले पनि पर्यटनसँग सम्बन्धित विकासका लागि स्पष्ट नीति समेत छैन ।  हामी नीतिगत रुपमा नै पछाडि छौँ । संविधानले पर्यटनलाई तीन तहकै सरकारका साझा अधिकार क्षेत्रका रुपमा राखेको छ । यसले कहिलेकाहीँ सुविधा दिए पनि धेरैजसो विवाद सिर्जना गरेको छ । हामीले हामीमा नै पर्यटन चेतनाको कमी महसुस गरेका छौँ ।

कोशी प्रदेशको पर्वतीय पर्यटनलाई अन्नपूर्ण लगायतका ठाउँहरूले पछि पारिरहेको अवस्थामा पर्यटकलाई कोशी केन्द्रित आकर्षण बढाउन के गर्नुपर्छ ?

हामी अहिले अन्नपूर्ण क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा छैनौँ । बरु गुरु थापेर सिक्न थालेका छौँ । पदमार्गहरूको विकासका लागि हामी यो वर्ष नै बजेट किताब मार्फत चारवटा पदमार्ग सुरुवात गर्दैर्छौं । स्थानीय  सरकारको पहलमा १० वटा जति पदमार्ग सुरुवात भएका छन् । यी पदमार्गदेखि अतिरिक्त ग्रेटर हिमालयन ट्रेललाई महत्वका साथ प्रवर्द्धन गर्दैछौँ । पक्कै पनि हामीसँग जनशक्तिको अभाव छ, पूर्वाधार छैन, तर निराश छैनौँ ।  यो पर्यटन वर्ष हाम्रो लागि उत्साह उर्जा र अवसर बोकेर आएको छ । हामी हाम्रै शैलीमा द्रुत गतिमा छौँ ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा के–कस्ता व्यवधान बेहोर्नुपरिरहेको छ ?

हिमाली पर्यटनको पर्यटक स्रोत बजारको ठूलो हिस्सा तेस्रो मुलुक अमेरिका युरोप लगायतले ओगटेको छ। हामीसँग अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय हवाई सम्पर्क हुन एयरपोर्ट छैन । कोशी प्रदेशबाट काठमाडौँ बाहेक कहिँ उडान हवाई समन्वय नै छैन । यो प्रमुखको कठिनाइ हो ।

कोशी प्रदेशको सांस्कृतिक विविधतालाई पर्यटनसँग जोड्न के गर्नुपर्छ ?

कोशी प्रदेश सांस्कृतिक विविधताभित्रको एकताको थलो हो । हाम्रो विशिष्ट किरात परम्परालाई जगेर्ना संरक्षण र प्रचारप्रसार गर्दै पर्यटनको महत्वपूर्ण उपजको रुपमा विकास गर्दैछौँ । धार्मिक पर्यटन हाम्रो विशिष्ट पर्यटनको क्षेत्र हो भन्नेमा  सहमत छौँ । यसअन्तर्गत विभिन्न धार्मिक मठमन्दिर आश्रम लगायत सौन्दर्यीकरणका अभियानकै रूपमा सुरुवात हुनेछ । विविध सांस्कृतिक परम्परा र भेषभुषाको संरक्षणका लागि उत्सव महोत्सव आयोजना गर्दैछौँ । लोपोन्मुख तथा पुराना सांस्कृतिक धरोहरको संरक्षणमा प्रतिबद्ध छौँ । ऐतिहासिक दस्तावेजको संरक्षण र प्रवर्द्धनका लागि म्युजियम तथा पार्कहरुको निर्माण गर्न लागिपरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै