पोखरा । गण्डकी प्रदेशको राजधानी अर्थात् ‘नेपाली पर्यटनको राजधानी’ पोखरामा जारी ३३ औँ औद्योगिक व्यापार मेलामा ‘घुमौं मधेश, बुझौं मधेश’ को स्टल सबैभन्दा सिर्जनात्मक र प्रभावकारी रहेको भन्दै मेलामा पुग्ने प्रायः सबैले प्रचार गरिरहेका छन् । पोखरामा माघ १० गतेदेखि जारी ३३ औँ औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सवमा–२०८१ मधेश चिनाउने काम गरिरहेको ‘घुमौँ मधेश, बुझौँ मधेश’ का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिए ।

‘घुमौँ मधेश, बुझौँ मधेश’ को स्टल नम्बर १ मा ब्यानर, फ्लेक्स र अङ्ग्रेजी नेपाली दुवै भाषामा प्रकाशित बुकलेटका माध्यमबाट मधेशमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रबाट जानकारी दिइएको छ ।

‘यो महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेश घुम्ने इच्छा व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘मधेशका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनुभएको छ ।’ मधेश प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौँ मधेश बुझौँ मधेश’ को स्टलमा हालसम्म हजारौँ मानिसले अवलोकन गरेका छन् भने आगुन्तकहरूलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ ।

माघ १० गतेको उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मधेश प्रदेशले प्रस्तुत गरेका दुई स्वागत नृत्य (मिथिलाको झिंझिया र थारू नृत्य) र वितरण गरेको मधेश चिनाउने ४० गन्तव्य भएको बुकलेट सबै उपस्थित अतिथि र दर्शकदीर्घाको हात–हातमा देखेपछि आयोजक संस्थालाई ‘मधेशसँग सिक्नुस्– मेलामा केके राख्नुपर्छ र कसरी आयोजना गर्नुपर्छ’ भनेर मधेश प्रदेश सरकारको स्टल र ‘घुमौँ मधेश, बुझौँ मधेश’ को सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरेका थिए । आयोजक मधेश प्रदेश सरकारका तर्फबाट पोखरामा आयोजित महोत्सवमा मधेश प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको व्यापक प्रचार गरिएको हो ।
उद्घाटन सत्रमा नाट्टा मधेश प्रदेशका अध्यक्ष तथा पर्यटन तथा हवाई यातायात समिति मधेश प्रदेशका संयोजक मोहन शर्माले हिमाल, पहाड र मधेश जोड्नका लागि यस्ता कार्यक्रमको विशेष भूमिका रहने बताएका थिए।
उनले भनेका थिए, ‘‘हिमालका काखमा रहेकाहरू मधेशको समथर भूमिमा जानु पर्छ, मधेशका समथर भूमिमा रहेकाहरू हिमालको काखमा पुग्नुपर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउनेछन् ।’ उनले मधेश प्रदेशको प्रतिनिधिको रूपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मधेश प्रदेशको औपचारिक भ्रमणका लागि निमन्त्रणासमेत गरेका थिए ।

त्यसै गरी स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाको स्टल राखेर खानाको स्वाद पनि दिइरहेको छ । चन्द्रपुर उद्योग वाणिज्य सङ्घका उदय सापकोटा सुरेनले स्टल व्यवस्थापन गरेका छन् ।

‘मधेशका बारेमा धेरै चासो व्यक्त गरेको देखिन्छ, धेरैले मधेश घुम्नुपर्नेमा जोड दिइरहेका छन्,’ उनले भने, ‘यो हाम्रो लागि उपलब्धि हो ।’ सो महोत्सवको उद्घाटन नै मिथिलाको झिंझिया र थारू नृत्यबाट सुरू भएकाले नि पोखराले मधेशलाई महत्त्व दिएको उनले बताए । ‘पोखरा महोत्सवको उद्घाटनबाट नै जुन खालको मधेशको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाई मधेशको समथर भूमिमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ ।’

दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कर्णाली समृद्ध छः समस्या राज्यको दृष्टिकोण र पूर्वाधारको अभावमा छः माधवप्रसाद चौलागाईं
- ओटीएम मुम्बई २०२६ : भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
- सिटिजन्स बैंकद्वारा "MAN–Citizens Aspiring Manager Award" पुरस्कार वितरण
- सानिमा रिलायन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त
- कोशी प्रदेश पयर्टन वर्ष २०८२ ले उघार्दैछ कोशीको पर्यटनको नयाँ क्षितिज
- पर्यटन भनेकै ‘तामझाम’ हो, हल्ला नगरी पर्यटक आउँदैनन्– भविषकुमार श्रेष्ठ
- प्रादेशिक ललितकला प्रदर्शनी सुरु
- नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक


ट्रेन्डिङ
खबरमुकाम





