अतिक्रमणको चपेटामा पर्यटकीय गन्तव्य ‘घोडाघोडी ताल’ (फोटो फिचर)

प्राकृतिक तथा धार्मिक मूल्य र मान्यता बोकेको घोडाघोडी ताल सुदूरपश्चिम कैलाली जिल्लाको पहलमानपुर र सुखडको विचमा पर्ने जंगलमा अवस्थित छ । यस क्षेत्रलाई नेपालको एक प्रसिद्ध तिर्थ स्थलका रूपमा चिनिन्छ । 

यो ताल सूदूरपश्चिममा मात्र नभई राज्यकै एक महत्वपूर्ण प्राकृतिक सम्पदाको रुपमा पनि परिचत छ । यो ताल कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रस्थित घोडाघोडी नगरपालिकामा अवस्थित यो क्षेत्र सन् २००३ अगष्ट १३ तारिख विश्व रामसार सूचीमा सूचीकृत भएको थियो ।  

नेपालका एक अध्यात्मिक व्यक्ति योगी नरहरिनाथले यस ताललाई एक पवित्र स्थल थियो भनि प्रमाणित गरेका थिए । उनले तालबाट पौराणिक काललाई स्मरण गराउने विशेष चिन्हहरू पत्ता लगाई यो ताल महाभारतकाल भन्दा पनि पहिलेबाट नै एक पवित्र तीर्थस्थल रहेको भन्ने सावित गरेका हुन् ।   

समुन्द्री सतहदेखि करिब ४ मिटर गहिरो रहेको घोडाघोडी तालको क्षेत्रफल भने १३८ हेक्टर छ । ताल वरिपरीको संरक्षित भू भागको कुल क्षेत्रफल झण्डै २ हजार ५ सय ६३ हेक्टर रहेको छ । जसमा तालैतालले मात्र २ सय ४८ हेक्टर जमिन ओगटेको छ । 

सुदूरपश्चिम कैलालीको सदरमुकाम धनगढीबाट करिब ६० किलोमिटर टाढा रहेको छ भने चिसापानीबाट करिब ३५ किलोमिटर टाढा छ । 

यो ताल हातको हत्केला आकारको छ । एक ताल टुङ्गिन नपाउदै अर्को ताल लस्करै माला जस्तै उनिएका छन् । त्यहाको वाताबरण निकै रोमान्चक र लोभलाग्दो दृश्य छ । जैविक विविधता,प्राकृतिक सौन्दर्यता, विभिन्न दुर्लभ चराचुरुङीको सुरक्षित बास स्थानको रुपमा पनि परिचत छ । घोडाघोडी तालले विश्व जलचर ईतिहासमा संङ्कटपुर्ण अवस्थामा रहेका रैथाने जातका माछाका विभिन्न प्रजाति,पुतली र अन्य दुर्लभ चराचुरुङ्गीलाई संरक्षण दिएको थाहा पछि सन् २००३ अगस्टमा विश्व रामसार सूचीमा सूचिकृत भएको हो । 

यो नेपालमा रहेका विभिन्न तालहरू मध्य सबै भन्दा बढी क्षेत्रफल ओगटेको ताल हो । यस तालमा विशेष प्रजातिका माछा र पुतली पाइन्छन् । विश्वका सङ्काटापन्न जलचर ,स्थलचर तथा जैविक विविधताको दृष्टि पनि यो तालको संरक्षण गर्नु जरुरी छ । हाल सम्मको अनुसन्धानमा ४५० प्रजातिका वनस्पति पाइएका छन् । 
सालका प्रजातिमा बहुमूल्य रहेको र औषधिका रूपमा पनि प्रयोग गरिने सतिसाल, साज, खयरको घना जङ्गल यहाँको विशेषता हो । यो ताल कसरी बनेको भन्ने विभिन्न किवंदन्ती रहेको पाइन्छ । विशेष त यो तालको इतिहास थारु जातिका समुदायसँग जोडिएको छ । थारू जातिका सातवटा समुदायले बसोबास गरी रहेको गाउँ एक रातमा परेकोे घनघोर बर्षात्ले पूरै गाउँ डुबेर तालमा परिणत भएको थियो । 

त्यो स्थानको नाम आखिर किन घोडाघोडी राखियो त ? के छ त्यसको रहस्य भन्दा स्थानीय बताउँछन् “राजा र रानी तालको अनुगमन गर्न घोडा र घोडीसँगै ताल अनुगमन गर्ने क्रममा त्याँही तालमा डुबेर मृत्य भएको र पछि गएर तालको नाम घोडाघोडी रहेको हो । पछि त्यहाँ दैवी शक्ति भएको भनि मन्दिर निर्माण गरेर त्यो दिन देखि तिनै राजारानी र घोडाघोडीको सम्झना गर्दै घोडाघोडी ताल भनेर नामाकरण गरिएको” स्थानीयको भनाइ छ । 

घोडाघोडी ताल साना ठूला सबै गरेर १९ वटा ताल रहेका छन् । यी सबै ताल एक अर्का सँग जोडिएका छन् । त्यसैले यो तालको नक्सा हत्केला जस्तो देखिन्छ । 
जिल्ला वन कार्यलय कैलालीको तथ्याकंका अनुसार घोडाघोडी ताल क्षेत्रमा वन ५२ प्रतिशत,खेतियोग्य जमिन ३४.५ प्रतिशत,घाँसे मैदानले २ प्रतिशत, तालले ६ प्रतिशत, नदी र बलौटे जमिन १.६ प्रतिशत, ३ प्रतिशत हैसियत बिग्रको वन र ०.५ प्रतिशत पूर्वपश्चिम राजमार्गले ओगटेको छ ।

यो ताल र क्षेत्रको धार्मिक महत्व छुट्टै छ । यहाँ हरेक दिन विभिन्न ठाउँबाट आएका दर्शनार्थीहरुको ठूलो जमात देख्न सकिन्छ । यो विशेष थारु जातिसँग सम्बन्धित भएकोले मन्दिरमा थारु समुदायले बर्ष भरि नै पुजाआजा गर्ने गर्छन् । जति आस्था थारु समुदायकाले गर्छन त्यति नै अन्य समुदायका मानिसले पनि घोडाघोडी मन्दिरप्रति धार्मिक आस्था राख्दछन् । यहाँ विवाह तथा ब्रतबन्ध लगायतका अन्य धार्मिक कार्य पनि हुने गर्दछन् ।   

तालको रमाइलो दृश्य, ढुंगा सयर, धार्मिक क्षेत्र, बनभोज स्थल, शैक्षिक भम्रणलगायत प्रयोजकका लागि आन्तरिक र बाह्य पर्यटकहरू यस क्षेत्रमा दैनिक पुग्ने गर्छन् । यो तालको नजिक भगवान् शिवको मन्दिर स्थापन गरिएको छ । त्यसकारणले यो क्षेत्र धार्मिक दृष्टि पनि आस्थाको केन्द्रका रूपमा रहेको छ । यहाँ देश तथा विदेशबाट तिर्थयात्री,भक्तजन दर्शन गर्न आउने गर्छन । माघे संक्रान्ति र, मङ्सिर पञ्चमीका दिनमा पुजा आराधाना गरिनुका साथै यहाँ ठूला ठूला धार्मिक मेलाको आयोजना गरिन्छ । यसले गर्दा पनि धार्मिक पर्यटनको महत्त्व बढ्ने गर्दछ ।

बढ्दो सहरीकरण र जनघनत्वले घोडाघोडी क्षेत्र मानव अतिक्रमणको चपेटामा परेको छ । यसको प्रर्वद्धन र संरक्षणका लागि स्थानीय सरकार र सरकार क्रियाशिल हुन अति आवश्यक भएको स्थानीयको भनाई छ । बर्षात्मा माटो र ढुङ्गा बगेर आएर पानीले ताल पुरिने जोखिम दिनको दिन बढ्दै गइरहेको छ । 
जलकुम्भी, बेसरम लगायतका विभिन्न किसिमका अन्य मिचाहा वनस्पतिको बढ्दो अतिक्रमणले गर्दा तालको क्षेत्र साँघुरिँदै गएको छ । माछा, पानी हाँस, जलचर तथा जंगली जनावरको चोरी सिकारी जस्ता कुरा खेप्नु पर्ने अर्को चुनौतीपूर्ण भएको स्थानियले बताए । साथै ताल क्षेत्र वरिपरी बढीरहेको मानवबस्तीका कारण जंगलबाट साल, खयर र महत्वपूर्ण वनस्पति मासिँदै गएको बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै