मनाङको प्रवेशद्वार तालगाउँ र  गाउँमाथि डाँडामा मनै लोभ्याउने झरना

मनाङ । मर्स्याङ्दी नदीको किनारैमा रहेको तालगाउँ जसलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दर बनाएको छ । तालगाउँको सुन्दरताका रूपमा रहेको दुई झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ । बिस्तारै वर्षा सकिएर पर्यटकीय सिजन सुरु भएको छ । यही सिजनलाई स्वागत गरिरहेका छन् यहाँका दुई झरना माथिका डाँडाकाँडा र हरियाली वन जङ्गलले । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय मनाङको पर्यटकीय गन्तव्य बन्दै गएको छ, यि दुई झरना । तालगाउँको माथि चट्टानी कापबाट शीतलता दिँदै जोडले तल झरेको झरनाको नाम नै ताल झरना हो ।

मनाङ प्रवेश गर्ने जोकोहीलाई पनि यी सुन्दर झरना र यहाँका बस्तीले आकर्षित गर्छ । पर्यटकलाई स्वागत गर्ने यी झरना अहिले स्थानीय युवासँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तालगाउँ पुगेपछि यस झरनामा फोटो, भिडियो र यहाँको पानीसँग नखेलेसम्म यहाँबाट कोही पनि बाहिरिने गर्दैनन् । यो सुन्दर झरनाबाट झरेको पानी मर्स्याङ्दी नदीमा मिसिन्छ ।

झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । होटेल व्यवसायी भन्छन्  होटेलमाथिबाट झरनाको पानी खसिरहेको देखिने भएकाले टिकटक, भ्लग बनाउने युवाको लर्को नै लाग्ने गरेको छ ।
 

नासो गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङले यहाँको झरनाको पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँको पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘‘यहाँको पर्यटकीय क्षेत्रका रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न समन्वय गरिरहेको छु, प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोही अनुसार काम गर्ने लक्ष्य लिएका छौँ ।’’

केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँको अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको छ । २०७८ असारको बाढीपछि ताल गाउँ बिस्तारै पर्यटकको आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । पर्यटकका लागि यहाँ होटलहरु पनि खुलिसकेका छन् ।

झरनामा रमाउन आउने पर्यटकले ताल गाउँको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका स्थानीयले लिएका छन् । झरना जस्तै स्वच्छ तवरबाट पर्यटकलाई स्वागत र सत्कार गर्दा अझै आकर्षित गरेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै