धुलिखेल - (काभ्रेपलाञ्चोक) यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय गङ्गाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका छन । यहाँ आउने पर्यटकहरुले पोखरी छेवैमा रहेको देवीथानको दर्शन गर्ने गरेका छन । सो ठाउँमा पुगेर स्नान गरी देवीको दर्शन गर्दा मनोकाङक्षा पूरा हुने जनविश्वास छ । रोशी गाउँपालिका ३ का स्थानीय सुरज लामाका अनुसार गुरु रेन्पोछे (पद्मसम्भव)ले पाइला टेकेको पवित्र ठाउँ भएकाले महाभारत लेकको टुप्पोमा रहेको पोखरीमा जस्तोसुकै खडेरीमा पनि पानी सुक्दैन । यहाँ जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन धामी झाँक्रीहरु सो कुण्डमा पुगेर दर्शन गरेपछि शक्ति आर्जन गर्ने बताउँछन ।
परापूर्वकालमा ताराको टुक्रा खसेर जमिन भासिएर परेको खाल्डोमा पोखरी जमेपछि कुण्ड बनेको बताइन्छ । सो पोखरी सङ्लो रहने र कहिल्यै नसुक्ने स्थानीय बताउँछन । गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा ताराखसे पोखरी रहेकोे रोशी गाउँपालिका ३ का वडाध्यक्ष धनजित लामाले बताउछन । गुरु रेन्पोछे खोटाङको हलेसीबाट यात्रा गर्दै तेमालस्थित यारीनाग गुफा, महाभारत लेकको हात्ती आहाल, ताराखसे पोखरीमा पुगेर ध्यान गरेको किंवदन्ती छ । धार्मिक र पर्यटकीय दृष्टिले मनमोहक यस ठाउँको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण सुरु गरिएको वडाध्यक्ष लामाले जानकारी दिएका छन । हाल पोखरी भएको स्थानमा जान सडक, वनभोज स्थल र शौचालय लगायतका संरचना बनिसकेका छन ।
रोशी गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाईबाले दूई हजार पाँच सय ५० मिटरको उचाइमा अवस्थित ताराखसे लेकको विकास र पर्यटन प्रवर्द्धन गर्न पालिकाले योजनाबद्धरुपमा काम गरिरहेको बताउछन । महाभारत क्षेत्र घुम्ने पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ । हाल फूलचोकीदेखि ताराखसे पोखरीसम्म सिँढी निर्माण भइसकेको र त्यहाँबाट भूमेचुली जुकेपानी हुँदै सिन्धुलीको घ्याङलेकसम्मको विस्तृत गुरुयोजना तयार पारिएको उनले बताउछन । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ताराखसे पोखरीबारे प्रचार गर्न आग्रह गरेका छन । उनले पोखरी व्यवस्थापन र आवश्यक संरचना निर्माण भइरहेको जानकारी दिएका छन । सङ्घीय सरकारको विशेष अनुदानतर्फ आर्थिक वर्ष २०८०र०८१ मा एक करोड बजेटबाट सिँढी, रेलिङ, शौचालय, धारा, खानेपानी ट्याङ्की, आवासस्थल र सवारी पार्किङस्थल निर्माण गरिएको छ । यहाँबाट वरिपरीको हरियाली डाँडाकाँडासँगै सुन्दर हिमालका दृश्य अवलोकन गर्न सकिन्छ । ताराखसे पुग्न बनेपाबाट नमोबुद्ध–दाप्चा–गहते–फलामे साँघु–शिखर आम्बोट–साँझकोट–निङ्गालेहुँदै जान सकिन्छ ।
स्रोत: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





