सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेरै ‘भरतपुर भ्रमण वर्ष’ मनाउने घोषणा गरेका हौःं नरेन्द्रकुमार राना

भरतपुर महानगरपालिकाले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न ‘भरतपुर भ्रमण वर्ष–२०२४’ गत बैशाख १ गतेदेखि आयोजना गर्ने तयारी गरेको थियो। महानगरपालिकाभित्रको बाटोघाटो निर्माण–पुनर्निमाणले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा हुने समस्यालाई मध्यनजर गर्दै जनवरी १ तारिखको दिनलाई सारियो। मुग्लिन नारायणघाट सडक खण्डको सडक निर्माण तथा पोखरा मुग्लिन सडक खण्डको नयाँ बाटो बनाउने कार्यले पर्यटकको आवागमनमा कठिनाई हुने भन्दै केही समयका लागि स्थगित भएको ‘भरतपुर भ्रमण वर्ष–२०२४’ अन्ततः २०८० फागुन १८ गते औपचारिक उद्घाटन भयो। 

यसै शिलसिलामा  भरतपुर महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत, नरेन्द्रकुमार रानासँग मुकामकर्मी राधिका ढकालले गरेको कुराकानीमा आधारित (वर्ष ३ अङ्क १ वैशाख् जेठ प्रकाशित) अन्तरवार्ता:

भरतपुर महानगरपालिकाको ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सतप्रतिशत सफल बनाउन कसरी काम गरिरहेको छ ?

 घुमौं भरतपुर’ भन्ने मूल नाराका साथ अभियानकै रूपमा अगाडि बढाइएको ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सभ्य र भव्य रूपमा सफल बनाउन नगर प्रमुखज्यूको संयोजकत्वमा भ्रमण वर्ष मूल समारोह समिति र भ्रमण वर्ष निर्देशन समिति रहेको छ । नगर उपप्रमुखज्यूको संयोजकत्वमा भ्रमण वर्ष कार्यसम्पादन समिति रहेको छ । एवम् वडाध्यक्षज्यूहरूको संयोजकत्वमा सबै वडाहरूमा वडास्तरीय पर्यटन प्रवर्धन समिति रहेका छन । उल्लेखित समितिहरूले निरन्तर भ्रमण वर्ष लक्षित कार्यहरू गरिरहेका छन् ।

 भरतपुर भ्रमण वर्ष २०२४’ लाई सङ्घीय सरकार र प्रदेश सरकारसँगको समन्वय कत्तिको छ ?

 भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सङ्घीय सरकार र प्रदेश सरकारसँग निरन्तर समन्वय र सहकार्य भइरहेको अवस्था छ । प्रस्तुत भ्रमण वर्षका विभिन्न गतिविधिहरूमा पर्यटन बोर्डको सहलगानी रहेको छ। नेपाल ट्रष्टको कार्यालयसँग ऐतिहासिक दियालो बङ्गला सञ्चालन तथा व्यवस्थापनका लागि ‘एमओयु’ भई कार्य अगाडि बढेको छ ।

एक वर्षमा कति आन्तरिक र कति विदेशी पर्यटक भित्र्याउने लक्ष्य राख्नुभएको छ ?

सन् २०२४ को अवधिभर आन्तरिक पर्यटक ५ लाख र बाह्य पर्यटक २ लाख भित्र्याउने लक्ष्य लिइएको छ । काठमाडौं झरेका विदेशी पर्यटकमध्ये २५ प्रतिशत मात्रै चितवन आइपुग्छन्, त्यो पनि सौराहामा मात्रै पुग्छन् ।

काठमाडौं झरेका विदेशी पर्यटकमध्ये कम्तीमा ५० प्रतिशत चितवन र तीमध्ये आधालाई भरतपुर केन्द्रित पर्यटन गतिविधिमा आकर्षित गर्ने कस्ता योजना ल्याउन लाग्नुभएको छ ?

नेपाल आउने विदेशी पर्यटकहरू र आन्तरिक पर्यटकहरूलाई भरतपुर केन्द्रित पर्यटन गतिविधिमा आकर्षित गर्न विभिन्न योजनाहरू बनाइएको छ। भरतपुर महानगरपालिकाभित्रका पर्यटकीय गन्तव्यहरूलाई ७ वटा ब्लकमा विभाजन गरिएको छ। त्यसअन्तर्गत २१ वटा पर्यटकीय गन्तव्यहरू तोकिएको र ३० भन्दा बढी घुम्न योग्य प्वाइन्टहरू तय गरिएको छ। तोकिएका गन्तव्यहरूलाई केन्द्रित गरी विभिन्न महोत्सवहरू जस्तैः चरा महोत्सव, घडियाल गोही महोत्सव, जङ्गल सफारी मार्ट, भरतपुर ६ देवनगरमा लाइभ बाघ र जङ्गली जनावर हेर्ने व्यवस्था, फुड फेस्टिभल एवम् धार्मिक महोत्सवहरू आयोजना गर्ने कार्यक्रम रहेको छ। हेरिटेज म्याराथुन, खेल पर्यटन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुदहरूको आयोजना भरतपुरमा सम्पन्न गर्ने गरी योजना बनाइएको छ । उल्लेखित गन्तव्यहरूको सौन्दर्यीकरण, सरसफाई, शौचालय नभएका स्थानहरूमा शौचालय निर्माणको प्रक्रिया अगाडि बढेको छ। रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन मिडियाहरूको माध्यमबाट भ्रमण वर्षसम्बन्धी गतिविधिहरूबारे निरन्तर प्रचार प्रसार भइरहेको छ ।

 नजिकै सौराहा छ– पारि मौलाकालिका र भरतपुरमा देवघाट यी तीन पर्यटकीय स्थल भ्रमण गराउने पर्यटक बस सञ्चालन गरे भरतपुर महानगरतिर पनि पर्यटक तानिने थिए भन्ने लाग्छ। यत्रो महानगरपालिकामा पर्यटक रूट र पर्यटक बस नुहुनुलाई पर्यटनप्रति महानगर अनुदार छ भन्ने हो ? 

 पर्यटन बस खरिदका लागि निजी क्षेत्रसँग समन्वय भइरहेको छ । धार्मिक सर्किट र लेक सर्किट तय गरिएको छ। उक्त सर्किटमा होटल व्यवसायी सङ्घले जीप सफारीको परीक्षण गरिरहेको छ । पर्यटकमैत्री  सडक र सहज यातायातको व्यवस्थापनका लागि सरोकारवालाहरूसँग निरन्तर समन्वय भइरहेको छ। जस अनुसार काम भइरहेको पाएको छु ।

माथि भनेजस्तै ‘मेघौली–पटिहानी–देवघाट’को त्रिकोण रुट बनाएर पर्यटकलाई घुमाउन पनि त सकिन्थ्यो होला नि ?

यहाँले भनेजस्तो मेघौली–पटिहानी–देवघाटको त्रिकोण रुट बनाएर पर्यटकलाई घुमाउन सकिन्छ । त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नु उपयुक्त हुने ठान्दछु। हामी सकारात्मक छौं । 

अन्त्यमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा घुम्न आउने विदेशी पर्यटक, भिआईपी अतिथि र मध्यमवर्गीय आन्तरिक पर्यटकको खानपान, बसोबास र स्वागत सत्कारमा कस्तो तयारी गर्नुभएको छ ?

पर्यटकहरूका लागि गुणस्तरीय खाना र उपयुक्त बसोबासको प्रबन्ध गर्नु महानगरपालिकाको दायित्वको विषय हो। यसका लागि होटल व्यवसायीहरूको अग्रसरतामा पर्यटकमैत्री व्यवहार, पर्यटक गाइड सुरक्षित र आरामदायी बसोबासका साथ छुटसहितको व्यवस्थापन गर्न होटल व्यवसायी सङ्घसँग निरन्तर समन्वय भइरहेको छ र सकारात्मक पहल भएको ठानेको छु ।

स्ट्रिट फुड व्यवसायीहरूलाई हाइजेनिक प्रोडक्सनसम्बन्धी तालिमसमेत दिइएको अवस्था छ। प्रकृति संरक्षण कोषसँगको समन्वयमा नेचर गाइड तालिम यही फाल्गुण ६ गतेदेखि सञ्चालन भइसकेको छ । समग्र शान्ति सुरक्षाका लागि सबै सुरक्षा निकायसँग समन्वय भइरहेको छ। समग्रमा सिङ्गो महानगरपालिकाको टिम विभिन्न समितिहरूमार्फत भ्रमण वर्ष सफल बनाउन र स्थानीय एवम् मुलुककै अर्थतन्त्रमा योगदान पु¥याउन जुटिरहेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै