भरतपुर भ्रमण वर्ष–२०२४’ विशेषः घुमौँ भरतपुर

भरतपुर महानगरपालिकाले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न ‘भरतपुर भ्रमण वर्ष–२०२४’ गत बैशाख १ गतेदेखि आयोजना गर्ने तयारी गरेको थियो। महानगरपालिकाभित्रको बाटोघाटो निर्माण–पुनर्निमाणले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा हुने समस्यालाई मध्यनजर गर्दै जनवरी १ तारिखको दिनलाई सारियो। मुग्लिन नारायणघाट सडक खण्डको सडक निर्माण तथा पोखरा मुग्लिन सडक खण्डको नयाँ बाटो बनाउने कार्यले पर्यटकको आवागमनमा कठिनाई हुने भन्दै केही समयका लागि स्थगित भएको ‘भरतपुर भ्रमण वर्ष–२०२४’ अन्ततः २०८० फागुन १८ गते औपचारिक उद्घाटन भयो। 

स्थानीय सरकारका तर्फबाट नेपालमै पहिलोपटक मनाउन लागिएको भ्रमण वर्षको दीर्घकालीन महत्व त छँदैछ– अझ यसले भरतपुरलाई पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा स्थापित गर्न थप सहयोग समेत गर्नेछ। झन्डै एक वर्ष अघिदेखि थालिएको तयारीले अन्तिम रूप पाएको हो। यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर, बुकलेट, भिडियो सामग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व, सङ्घ, संस्था, व्यवसायीलाई निम्तो बाँड्ने कामसमेत गरिसकेको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको भनाइ रहेको छ। 

प्रमुख दाहालले भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने बताइन्। भ्रमण वर्षका लागि भरतपुर ६ देवनगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधôका लागि प्रत्यक्षरूपमा बाघ हेर्ने स्थल हुने उनको राय छ। ऐतिहासिक दियालो बङ्गला भ्रमण वर्षपछि पनि सधैँ खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्छ। महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू निर्माण र खुला गर्न सकिएको उनको भनाइ छ। भरतपुरमा जीप सफारी, जङ्गल सफारी, डुङ्गा सफारी, प्याराग्लाइडिङ, मौलाकालिका केबलकार जस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको छ। 

भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा गरिँदै छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार ६ करोड रूपैयाँभन्दा बढी सरकारी तवरबाट भ्रमण र्षमा खर्च हुँदैछ। यसका लागि महानगरपालिकाले तीन करोड रूपैयाँ विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले रु २ करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसैगरी पर्यटन बोर्डबाट ७० लाख रूपैयाँ निकासा भइसकेको छ। यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक पूर्वाधार निर्माणमा समेत महानगरले बजेट विनियोजन गरेको छ। पर्यटकीय पूर्वाधार निर्माणमा महानगरको योजनाबद्ध खर्च भएको उपमेयर अधिकारीले बताए। भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ।

महानगर प्रमुख दाहालले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन्। भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुरेन्टलाई विशेष छुटमा प्याकेज दिन आग्रह गरिएको छ। पन्ध्रदेखि ४० प्रतिशतसम्म छुटको प्याकेज दिने गरी महानगरपालिकामा होटल रेष्टुरेन्टले प्रस्ताव पेस गरेका छन्। प्रमुख दाहालका अनुसार महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन्। मध्यमस्तरका सहित ७ हजार जना अट्ने क्षमता महानगरभित्रका होटलमा रहेको उनले जानकारी दिइन्। गैँडाकोटसहित जोड्दा चितवनमा १५ हजारभन्दा बढी पर्यटकलाई राख्न सक्ने क्षमता रहेको छ। 

भ्रमण वर्षलाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने गरी विभिन्न कार्यक्रम गरिँदै छ। ५० भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गरिँदै छन्। कसराबाट मेघौलीको गोलाघाटसम्म ‘इन्टरनेसनल ह्यारिटेज म्याराथुन’, इन्टर नेसनल जङ्गल सफारी मार्ट, अन्तरराष्ट्रिय साहित्य सम्मेलनलगायत कार्यक्रम गर्ने योजना छ। उद्योग वाणिज्य सङ्घ चितवनले विभिन्न गोष्ठी गर्दैछ। सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा गर्न अनुरोध गरिएको छ। ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुलला गरिँदै छ। त्यस्तै  दुर्लभ पाटेबाघ पर्यटकले हेर्न मिलने गरी खुल्ला खोरमा राख्न लागिएको छ। भ्रमण वर्षका अवसरमा विश्वका ५९ देशका भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउने गरी निम्तो दिइएको छ। प्रमुख दाहालले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ।’ भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो। देशमै स्थानीय स्तरमा भौतिक पूर्वाधारमा अग्रणी मानिएको भरतपुर महानगरपालिकामा यहाँको भौतिक निर्माण हेर्न अन्य स्थानीय तहबाट जनप्रतिनिधि आउने अपेक्षा गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै ठूलो सङ्ख्यामा पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन्। राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्यापर्यटन, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण छ। 

भरतपुर केन्द्रित पर्यटन गतिविधिमा आकर्षित गर्ने योजना नेपाल आउने विदेशी पर्यटकहरू र आन्तरिक पर्यटकहरूलाई भरतपुर केन्द्रित पर्यटन गतिविधिमा आकर्षित गर्न विभिन्न योजनाहरू बनाइएको छ। भरतपुर महानगरपालिकाभित्रका पर्यटकीय गन्तव्यहरूलाई ७ वटा ब्लकमा विभाजन गरिएको छ। त्यसअन्तर्गत २१ वटा पर्यटकीय गन्तव्यहरू तोकिएको र ३० भन्दा बढी घुम्न योग्य प्वाइन्टहरू तय गरिएको छ। तोकिएका गन्तव्यहरूलाई केन्द्रित गरी विभिन्न महोत्सव जस्तैः चरा महोत्सव, घडीयाल गोही महोत्सव, जङ्गल सफारी मार्ट, भरतपुर ६ देवनगरमा लाइभ बाघ र जङ्गली जनावर हेर्ने व्यवस्था, फुड फेस्टिभल एवम् धार्मिक महोत्सवहरू आयोजना गर्ने कार्यक्रम रहेको छ। हेरिटेज म्याराथुन, खेल पर्यटन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुदहरूको आयोजना भरतपुरमा सम्पन्न गर्ने गरी योजना बनाइएको छ। उल्लिखित गन्तव्यहरूको सौन्दर्यीकरण, सरसफाइ, शौचालय नभएका स्थानहरूमा शौचालय निर्माणको प्रक्रिया अगाडि बढेको छ। रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन मिडियाहरूको माध्यमबाट भ्रमण वर्षसम्बन्धी गतिविधिहरूबारे निरन्तर प्रचार प्रसार भइरहेको छ। 

पर्यटकहरूका लागि गुणस्तरीय खाना र उपयुक्त बसोबासको प्रबन्ध गर्नु महानगरपालिकाको दायित्वको विषय हो। यसका लागि होटल व्यवसायीहरूको अग्रसरतामा पर्यटकमैत्री व्यवहार, पर्यटक गाइड सुरक्षित र आरामदायी बसोबासका साथ छुटसहितको व्यवस्थापन गर्न होटल व्यवसायी सङ्घसँग निरन्तर समन्वय भइरहेको छ र सकारात्मक पहल भएको छ। स्ट्रिट फुड व्यवसायीहरूलाई हाइजेनिक प्रोडक्सनसम्बन्धी तालिमसमेत दिइएको अवस्था छ। प्रकृति संरक्षण कोषसँगको समन्वयमा नेचर गाइड तालिम फाल्गुण ६ गतेदेखि सञ्चालन भयो। समग्र शान्ति सुरक्षाका लागि सबै सुरक्षा निकायसँग समन्वय भइसकेको छ। समग्रमा सिङ्गो महानगरपालिकाको टिम विभिन्न समितिहरू मार्फत भ्रमण वर्ष सफल बनाउन र स्थानीय एवम् मुलुककै अर्थतन्त्रमा योगदान पु¥याउन जुटिरहेको अवस्था छ।

कहाँ कहाँ घुम्न जाने भरतपुर भ्रमण वर्षमा?

भरतपुर महानगर पालिकामा २५ ओटा डेस्टिनेसनहरू छन्। भरपुर महानगरको उत्तर देवघाटधामबाट एक भई पवित्र गङ्गा नारायगढ हुँदै गोलघाटसम्म पुग्न सकिन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र दुई ठूला नदीहरू नारायणी तथा राप्तीले घेरिएको पर्यापर्यटनमा नेपालको उत्कृष्ट गन्तव्य भरतपुरमा प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरू छन्। महानगरपालिका तीनतिरबाट दुई ठूला नदीले र एकतिरबाट जङ्गलले घेरिएको छ। विश्व सम्पदा सूचीमा रहेको नेपालको पहिलो राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसहितको हात्ती सफारी गर्ने ठाउँ छ। राणाकालमा निर्माण भएको दरबार म्युजियम छ। 

विभिन्न सिमसार बीस हजारी, बाईस हजारी ताल छन्। मेघौली पर्यटकीय गन्तव्यको रूपले चिनिन्छ। नेपाली र भारतीय हिन्दू धर्म मान्नेहरूको विशेष महत्व बोकेको धार्मिक स्थल देवघाट छ। निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ। दियालो बङ्गला खुल्दै छ, विभिन्न मठमन्दिर, विभिन्न जात जाति र भेषभुषाको विविधता बोकेको भरतपुर महानगरपालिका नजिकै पारिपट्टि गैँडाकोटमा मौलाकाली केवलकार छ। 
पर्यटकीय गन्तव्यहरू क्रमशः मेघौली, पटिहानी, देवघाट, बीसहजारी ताल, नारायणी रिभर बिच, चौकीडाँडा, ज्ञानेश्वर ब्लक, जगतपुर, राइनो क्रुच, बाटुली पोखरी, कसरा (गोही प्रजनन तथा विक्रम बाबा), गोलाघाट, बागेश्वरी, गण्ेशधाम, बी.पी शान्तिनगर, गाजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढा मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था लि., रानी पोखरी, प्राङ्गारिक उत्पादन सहकारी संस्था लि., संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्र आदिलाई सातवटा प्लटमा राखिएको छ। भरतपुर एप २४ हेर्नुभयो भने यी सबै जानकारी पाउनुहुनेछ। 

भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुलाउन पहल

महानगरले भरतपुर भ्रमण वर्षमा भरतपुर १ आँपटारीमा नारायणी नदी किनारमा रहेको दियालो बङ्गला दरबारलाई खुला गर्ने निर्णय   गराइसकेको छ। महानगरले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत नेपाल ट्रष्ट कार्यालयमा दरबार अवलोकनका लागि खुला गर्न आवश्यक सहयोग गरिदिन भनेर पत्राचारसमेत गरेको छ। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले दियालो बङ्गला दरबारको थप संरक्षण र सम्बर्धनसमेत हुने गरी यो दरबार खुला गर्नुपर्ने बताइन्। ‘भरतपुर भ्रमण वर्षमा घुम्ने आउने पर्यटकका लागि एउटा थप गन्तव्य पनि हुन्छ, टिकट लिएर भित्र जाने घुम्ने गर्दा त्यहाँबाट आउने रकम दरबारकै संरक्षण र संबर्धनका लागि पनि हुन्छ,’ नगर प्रमुख दाहालले भनिन्, ‘ऐतिहासिक महत्वका दरबार हेर्ने चाहना सबैको छ।’ भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुला गर्न पहल भएको छ। भरतपुर महानगरपालिकाले दियालो बङ्गलालाई पर्यटकीय गन्तव्य बनाउन सम्बन्धित निकायलाई पत्रचारसमेत गरिसकेको छ। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार नेपाल ट्रष्टको मातहतमा रहेको दियालो बङ्गलालाई सर्वसाधारणले समेत अवलोकन गर्न पाउने गरी खुला गर्न पहल गरिएको छ। ‘दियालो बङ्गलालाई पर्यटकीय गन्तव्य बनाउन नेपाल ट्रष्ट र पर्यटन मन्त्रालयलाई पत्राचार गरिसकिएको छ’, प्रमुख दाहालले भनिन्, ‘भरतपुर भ्रमण वर्षअगावै खुला गरिदिन ट्रष्ट र पर्यटन मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाइएको छ, यसको जवाफको प्रतीक्षामा बसिरहेका छौँ।’ 

प्रमुख दाहालका अनुसार महानगरपालिकाले जिटुजी लिज प्रक्रियाबाट बङ्गलालाई लिएर पुनःनिर्माण, सञ्चालन तथा संरक्षण गर्ने लक्ष्य लिएको छ। दरबार अहिले जीर्ण बनेकाले यसको पुनःनिर्माण र  सौन्दर्यीकरण गरी सर्वसाधारणलाई टिकटको व्यवस्था गरी घुम्ने पर्यटकीयस्थलको रूपमा विकास गर्ने महानगरपालिकाले प्रक्रिया अघि बढाएको प्रमुख दाहाल बताउँछिन्। भरतपुर भ्रमण वर्षको मिति नजिकिँदै आइरहेको बेला भरतपुर महानगर, पर्यटन विज्ञ समूह तथा प्रशासनिक प्रतिनिधिहरूले दियालो बङ्गलाको स्थलगत अवलोकनसमेत गरेका थिए। अवलोकनमा ट्रष्टका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

दियालो बङ्गला सर्वसाधारणलाई हेर्न र घुम्नका लागि दशकदेखि रोक लगाइएको थियो । यसलाई खुला गर्न भरतपुर महानगर भ्रमण वर्षको मुखमा तातेको हो। ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने विषय यसअघि पनि पटकपटक उठेको थियो, तर मूर्तरूप भने हालसम्म पाउन सकेको थिएन। आँपटारीनजिकको जङ्गलको मध्यभागमा रहेको दियालो बङ्गलालाई हाल नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ । 

ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको उक्त दरबारमा स्व. राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले बसोवास गरेका छन्। दियालो बङ्गलामा राजा महेन्द्रको निधन भएको बताइन्छ। हाल नेपाल ट्रष्टको कार्यालयका कर्मचारीले यसको रेखदेख र संरक्षण गरिरहेका छन्। दियालो बङ्गलाको सरसफाइ र रेखदेखमा नेपाल ट्रष्टका पाँच जना कर्मचारी खटिएका छन्। २०६४ साल पौष २२ गतेबाट नेपाल ट्रष्ट ऐन जारी गरी राजाका श्रीसम्पत्ति ट्रष्टअन्तर्गत ल्याइएको हो। २०२६ सालमा निर्माण भएको यस बङ्गला राजा र राजपरिवारका सदस्य बस्नका लागि बनाइएको हो। ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचमा हालसम्म आएको छैन। दियालो बङ्गला ५७ बिघा १३ कठ्ठा सात धुरमा फैलिएको छ। 

भरतपुर भ्रमण वर्षका प्रमुख सात गन्तव्य

देवघाटधाम


नवलपुर, तनहुँ र चितवनको सिमानास्थित धार्मिक महत्वको स्थल देवघाटधाममा दिनानुदिन पर्यटक पुग्ने गरेका छन्। माघ र साउन महिनामा ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गर्छन्। विशेष चाडपर्व र तिथिका साथै पछिल्ला वर्षमा धार्मिकरूपमा मात्र नभई पर्यटकीय रूपमा समेत देवघाटधाम आकर्षक गन्तव्य बनेको छ। देवघाटधामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका लागि स्थानीयवासी त लागेका छन् नै, पछिल्ला वर्षमा पनि सरकारले पनि यहाँको विकासलाई चासो दिँदै आएको छ। कोरोना कहरले शिथिल पर्यटनलाई पुनरुत्थान गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशमा पर्यटनसम्बद्ध सङ्घसंस्थाले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाएका छन्। ऐतिहासिक एवम् धार्मिक महत्वको देवघाटधामलाई राज्यले पर्यटकीय रूपमा समेत उपयोग गर्न सक्ने छ। आन्तरिक पर्यटनलाई चलायमान बनाउन देवघाटधाम जस्ता धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास अपरिहार्य छ। यहाँ माघे सङ्क्रान्ति, साउने सोमबार, बाला चतुर्दशीलगायत विभिन्न पर्वमा मेला लाग्ने गर्छ। देवघाटमा स्नान गरी शिवजीको उपासना गरेमा मोक्ष प्राप्त हुने जनविश्वास छ। नेपालको आदिप्रयाग तथा हरिहर क्षेत्र मानिने यहाँ अधिकांश मठमन्दिर शिव तथा विष्णुका छन् भने अन्य देवीदेवताका मन्दिर तथा सत्तलसमेत छन् ।
 

बीसहजारी ताल


भरतपुर– ८ मा पर्ने बीसहजारी ताल प्राकृतिक विविधताले भरिपूर्ण छ। रामसार क्षेत्रमा सूचीकृत बीसहजारी तालको मनमोहक दृश्य हेरेपछि पुगेर नलोभिने कोही हुन्नन्। यो बागमती प्रदेशको चितवन जिल्ला भरतपुरमा अवस्थित ताल हो। भरतपुरबाट दक्षिणमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र टिकौली जङ्गलभित्र रहेको यस ताललाई सन् २००३ अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको हो। विश्व रामसार सूचीमा सूचीकृत यो ताल पर्यटन वर्ष २०२० लाई लक्षित गरी सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमा पनि परेको थियो। जङ्गलको मध्य भागमा रहेको ताल वन्यजन्तु र चराचुरुङ्गी अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ। यहाँ २५० भन्दा बढी प्रजातिका चरा, मगर गोही, घडियाल गोही, माछा, पुतली एवम् विविध प्रकारका पुतली पाइन्छन्। साथै, साइबेरियन चरा पनि देख्न पाइन्छ। 

यस तालमा दुर्लभ, सङ्कटाभिमुख र सङ्कटापन्न जन्तुको बासस्थान रहेको तथा महत्वपूर्ण वनस्पतिसमेत भएको हुनाले रामसार क्षेत्रमा सूचीकृत गरिएको हो। सिमसार तथा पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्रलाई रामसारले समेट्ने गरेको छ। बीसहजारी तालमा विभिन्न प्रजातिका गोही र माछाको बासस्थान रहेको छ। साथै पानीमा उम्रने विभिन्न वनस्पतिको लागिसमेत संरक्षण क्षेत्र रहेको ताल आन्तरिक तथा वाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। विशेष गरी विदाको समयमा हजारौँ मानिसले यो ताल तथा वरपरको क्षेत्रको अवलोकन गर्ने गरेका छन् ।
 

‘सी बिच’

नारायणी नदी किनारलाई भरतपुर महानगरपालिकाले ‘सी बिच मोडल’मा विकास गरिरहेको छ। समुद्री किनारको झल्को दिने गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महानगरले केन्द्रको समन्वयमा बजेट ल्याएर विकासका पूर्वाधार धमाधम निर्माण गरिरहेको छ। नारायणी नदीको पुलबाट उत्तरतर्फको भागलाई सरकारका तीन मन्त्रालयसँग महानगरपालिकाले सँगसँगै काम गरिरहेको छ। सोही किनारमा बनेको फुटपाथमा बिहान हिँडिरहेका सर्वसाधारणले पनि नदीकिनारको विदेशको झल्को दिनेगरी बनेकामा प्रशंसा गरिरहेका थिए। पहिला फोहोर थियो, थाङ्नाथुङ्नी फालेको देखिन्थ्यो, अहिले कस्तो राम्रो भएको छ। नदीकिनारले रूप फेरेको छ, यसलाई अझै राम्रो बनाउनुपर्छ। सो ठाउँमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम सम्पन्न गरेको छ। सो मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतका काम अन्तिम चरणमा पु¥याएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।

नारायणगढ बजार आडैको नारायणी नदी किनार मर्निङ वाक, योग, साँझमा टहलिने क्षेत्र मात्र नभई भरतपुरको एक पर्यटकीय गन्तव्य समेत बनेको छ। नदी किनारमा बुद्धको अग्लो प्रतिमा, सरस्वतीको मूर्ति, चौतारी आदि संरचना छन्। हालै भरतपुर महानगरपालिकाले नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा परिवर्तन गर्न पूर्वाधारहरू निर्माण गरेको छ। जसमा २.५ किलोमिटर पैदल मार्ग, तीनवटा पार्किङस्थल, बेञ्चहरू निर्माण भएका छन्। नदी तटबन्धनसँगै सौन्दर्यीकरणका लागि नदीको सतहदेखि माथि खुड्किलाहरू बनाइएका छन्। महानगरको गुरुयोजनाअन्तर्गत पार्किङस्थल, बगôचा, फूटबल मैदान, भलिबल र ब्याडमिन्टन कोर्टलगायत संरचना बनाइँदै छ। २०७६ वैशाखदेखि सन्ध्याकालीन आरती गरिँदै आएको नदी किनारमा आरती गर्ने विशेष ठाउँ निर्माण भइरहेको छ। करीब १५ बिघा क्षेत्रमा फैलिएको किनार क्षेत्रमा मेला, महोत्सव समेत आयोजना हुन्छन्। यस क्षेत्रमा नारायणी नदीमा जलयात्रा गरेर मनोरञ्जन लिन पनि सकिन्छ ।

मेघौली राइनो पार्क


जिल्लााका पर्यटकीय गन्तव्यमध्येको मेघौलीमा पर्यटन प्रवद्र्धन गर्न ‘मेघौली राइनो पार्क’ निर्माण गरिएको छ। पश्चिम चितवनको पर्यटकलाई आकर्षित गरेर पर्यटकीय गतिविधि बढाउन पार्क बनाइएको हो। करिब २१ करोडको लगानीमा राइनो पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम अघि बढाइएको पर्यटनविद् विश्वराज सुवेदीले जानकारी दिए । 

राइनो पार्कले भरतपुर महानगरपालिका वडा नं २७ र २८ लाई समेट्छ। दुईवटा वडामा रहेका चारवटा सामुदायिक मध्यवर्ती वन क्षेत्रलाई समेटेर तीन सय ७६ हेक्टर अर्थात् करिब पाँच सय ५० बिघा क्षेत्रफलमा पार्क निर्माण हुँदैछ। राधाकृष्ण, मालिका, राप्ती वेतरी र सदाबहार मध्यवर्ती सामुदायिक वन क्षेत्रलाई पार्कमा समेटिएको छ। पार्क मेघौली विमानस्थलसँगै जोडिएर बन्दैछ। चितवन राष्ट्रिय नकुञ्ज घुम्न तीनवटा प्रवेशद्वार भरतपुर महानगरपालिकामा रहेका छन्। 

जसमा पटिहानी, देवनगर र मेघौली रहेका छन्। जङ्गल सफारी, डुङ्गा सफारी, होमस्टेको बसोबाससँगै नारायणी र राप्तीको सङ्गमस्थल गोलाघाटबाट देखिने सूर्यास्तका लागि समेत मेघौली परिचित छ। गैँडा, बाघलगायत वन्यजन्तु र चराचुरुङ्गीको सजिलै अवलोकन गर्न सकिने स्थानमा पनि मेघौली क्षेत्र पर्दछ। चरा अध्ययन, अवलोकनकर्ता खरमयुर हेर्नका लागि पनि मेघौलीलाई उपयुक्त गन्तव्य मान्छन्। ‘पूर्वाधार धेरै तयार गरेर पार्क बनाउन खोजेका हैनौँ,’ सुवेदी भन्छन्, ‘पहिलेदेखि भएका पूर्वाधारलाई समेटेर र केही थप गर्दै थोरै सौन्दर्यकरण गरेर पर्यटक आगमन बढाउन र बसाइ लम्ब्याउन पार्क बनाउन लागिएको हो।’

ज्ञानेश्वर ‘ब्लक’

दुर्लभ एकसिँगे गैँडाको प्रमुख बासस्थानका रूपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ। निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रूपमा रहेका छन्। कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबर्धनका साथै आयस्रोतको माध्यमसमेत बनाएका छन्। गैँडाका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ क्षेत्र पनि उपयुक्त बासस्थान बनेको छ। यहाँका सामुदायिक वन गैँडाको प्रजननका लागि उपयुक्त क्षेत्र बन्दै गएका छन्। ज्ञानेश्वर ब्लक अन्तर्गत चार सामुदायिक वन रहेका छन्। यी सामुदायिक वन गैँडाको बासस्थानका लागि उपयुक्त क्षेत्र बनेका छ। 

बच्चासहितका गैँडा यहाँ प्रशस्त देखिन्छन्। प्रजननका लागि पनि गैँडाले यहाँका सामुदायिक वनलाई सुरक्षित महसुस गर्ने गरेका छन्। यो क्षेत्रमा एकैपटक १४ वटासम्म गैँडा एकै ठाउँमा देखिएका थिए। यो क्षेत्रमा २०÷२५ गैँडा नियमितरूपमा देखिने गरेका छन्। विश्व सुवेदीका अनुसार नेपालको सबैभन्दा ठूलो पिकनिक स्पोर्ट रहेको छ। 

पटिहानी

भरतपुर–२२ मा पर्ने पटिहानी ब्लक पछिल्ला वर्षहरूमा पर्यटकीय क्षेत्रका रूपमा परिचित हुँदै गएको छ। यस क्षेत्रमा अम्ब्रेला स्ट्रिट, कमल पोखरी, स्टोन पार्क छन्। २०७६ सालदेखि राप्ती नदी किनारमा सञ्चालनमा आएको अम्ब्रेला स्ट्रिट नेपाल सरकारले छनोट गरेका १०० पर्यटकीय गन्तव्य सूचीमा समेत समेटिएको छ। ९० मिटरको दूरीमा लस्करै छाताहरू राखिएको अम्ब्रेला स्ट्रिटमा भ्यु पोइन्ट, रेस्टुरेन्ट, डेटिङ पोइन्ट, वाटर फाउन्टेन छन्। थारू परिकारको स्वाद लिँदै राप्ती नदीपारि देखिने वन्यजन्तुको अवलोकन, सूर्यास्त अवलोकन यहाँको विशेषता छ। चितवन निकुञ्जको मुख्यालय नजिकै रहेको पटिहानीमा आरामदायी रिसोर्ट तथा होटलहरू प्रशस्त छन्।

चौकीडाँडा ब्लक

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौकिलोमिटर र जुगेडीबाट पाँच किलोमिटर दूरीमा चौकीडाँडा छ। १२ सय मिटरको उचाइमा रहेको चौकीडाँडाबाट सूर्योदयसँगै प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ। चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान चौकी डाँडामै भएको थियो ।माथिका सात  प्रमुख गन्तव्यसँगै भरतपुर  महानगरपालिकाले भ्रमण वर्षका लागि अन्य गन्तव्य पनि अघि सारेको छ। जसमा कसरा ब्लकअन्तर्गत गोही प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र, विक्रमबाबा मन्दिर, आँपटारी ब्लकअन्तर्गत दियालो बङ्गला, जलदेवी सामुदायिक वन, जोर कुसुम पार्क, राइनो कुञ्ज ब्लकमा रहेका बाटुली पोखरी, छितामाई, सीतामाई क्षेत्र छन्।

यस्तै, गणेशधाम ब्लकको सामुदायिक वन, पार्क, मन्दिर, राइनो ताल ब्लकको धनगडा मन्दिर, ताल, सामुदायिक वन, सिमरी टाउन ब्लकको सङ्ग्रहालय, वन, ताल, घरबास, गाँजीपुर ब्लकको सामुदायिक वन, तालका साथै वन्यजन्तु उद्धार केन्द्र, बीपी शान्तिनगर वन, महाबौद्ध गुम्बा, रानीपोखरी पार्क, नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारीलगायत गन्तव्य छन्। यस्तै, प्रमुख सात ब्लकमा नसमेटिएका टाइगर ताल, राइनो ताल, किङफिसर ताल, अठ्ठाईस हजार ताल, घैला ताल महानगरमा छन्। धार्मिक स्थलमा बागीश्वरी, हरिहर मन्दिर, मुकुन्देश्वर शिवालय, मनकामना मन्दिर, भोजबाबा, लक्ष्मीनारायण मन्दिर रहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदी, थारू, बोटे, कुमाल, मगर समुदायको सांस्कृतिक विविधता यहाँका पर्यटकीय आकर्षण हुन्।

जीप सफारी, हात्ती सफारी, जङ्गल वाक, डुङ्गा शयर, ¥याफ्टिङ, गाडाबाट गाउँ भ्रमण, मचान स्टे, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, बाघ, गैँडा, घडियाललगायतको अवलोकन, रैथाने खाना, साइक्लिङ, कृषि फार्महरूको अवलोकनलगायत पर्यटकीय क्रियाकलापलाई महानगरले भ्रमण वर्षमा समेटेको छ। भ्रमण वर्षलाई लक्षित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुलाइसकिएको छ। भ्रमण वर्षमा पाँच लाख स्वदेशी र दुई लाख विदेशी पर्यटकलाई भरतपुर घुमाउने लक्ष्य महानगरले राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै