पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो ।
यस विषयमा जानकारी दिन कम्पनीले शुक्रबार वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको जानकारी दिनुभयो । यी तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको उहाँले बताउनुभयो । ‘सबैभन्दा बढी क्षमताको वेयरहाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएका छौं,’ कार्यक्रममा अध्यक्ष बगरियाले भन्नुभयो, ‘पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५/१५ हजार मेट्रिक टन क्षमताका छन् ।’
कम्पनीका महाप्रबन्धक समिरराज सत्यालका अनुसार यी भण्डारण गृहमा गहुँ, मकै र भटमास लगायत सबै किसिमका अन्न भण्डारण गर्न सकिन्छ । यी भण्डारण गृहको सेवा खाद्य उद्योग, व्यापारी, कृषक सबैले लिन सक्ने उहाँले बताउनुभयो । वेयरहाउसमा भण्डारण गरिएको अन्न धितो राखेर कर्जा पनि लिन सकिन्छ । यो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा कम्पनीले गरेको छ ।
भण्डारणस्थलको अभावमा किसानले व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य भएका र कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खान दिएका खबर बारम्बार आइरहेको सन्दर्भमा सुरक्षित भण्डारण गृहको सान्दर्भिकता उच्च रहेको महाप्रबन्धक सत्यालले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘वेयरहाउसमा सुरक्षित भण्डारण गरेको अनाज पछि राम्रो मूल्य पाएको बेला जहिलेसुकै बिक्री गर्न सकिन्छ । यसबाट आफ्नै भण्डारण पूर्वाधार नभएका किसान धेरै लाभान्वित हुनेछन् ।’
कम्पनीले बिक्रीका लागि आएको अन्नको लिलाम बढाबढको सेवा पनि उपलब्ध गराउने छ । यसबाट पनि कृषक नै लाभान्वित हुने देखिन्छ । कम्पनीले उच्च प्रविधिबाट कृषि वस्तुको प्रशोधन, भण्डारण गरिएका उत्पादन धितोमा वित्तीय संस्थाबाट ऋण लिने व्यवस्था, कृषकका लागि बीउ, मल, औषधी, उपकरण उपलब्ध गराउने लगायत सेवा दिने सत्यालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कम्पनीका लगानीकर्ता तथा निम्बस ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवालले खाद्य सुरक्षामा विश्वको ध्यान केन्द्रित भइरहेको अहिलेको अवस्थामा भण्डारण गृहको सान्दर्भिकता अझ बढेर गएको बताउनुभयो । सरकारले खाद्यान्नको न्यूनतम समर्थन मूल्य तोकिरहेकाले खरिद गरेको खाद्यान्न भण्डारका लागि निजीक्षेत्रले तयार पारेका भण्डारणगृहको उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सरकारले यस्ता भण्डारणमा लगानी गर्नुभन्दा निजीक्षेत्रको लगानीमा तयार भएका संरचना मितव्ययी हुने पनि उहाँले प्रस्ट पार्नुभयो । पोस्ट हार्भेस्टमा ३० प्रतिशतसम्म अन्न खेर जाने भन्दै उहाँले त्यसरी खेर जाने अनाज जोगाउन यस्ता पूर्वाधार प्रभावकारी हुने र यसबाट खाद्यान्न उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिने अग्रवालको भनाइ छ ।
मिटमा सहभागीहरुले राखेका जिज्ञासाको जवाफ कम्पनीका अधिकारीहरुले दिनुभएको थियो । कम्पनीको परिचायक भिडियो पनि सो अवसरमा प्रदर्शन गरिएको थियो । उक्त भिडियो कम्पनीको वेबसाइट जततउकस्ररलधअ।िअयm।लउर मा गएर हेर्न सकिने पनि महाप्रबन्धक सत्यालले जानकारी दिनुभयो ।
कम्पनीको संक्षिप्त परिचय
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड किसानका अन्न भण्डारण, कृषि बजारीकरण र व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको गोदामसम्बन्धी आवश्यकता परिपूर्ति गर्न कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ सालमा स्थापना भएको हो ।
कम्पनीले कृषिजन्य उत्पादनको सुरक्षित भण्डारण, प्रशोधन, लिलाम बढाबढ सेवा, कृषिजन्य उत्पादन धितो राखी ऋणको प्रबन्ध गर्नुका साथै किसानलाई एकै ठाउँबाट बिउबिजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ । सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले सुनसरीको गढी, पर्साको बिरुवागुठी र कपिलवस्तुको वीरपुरमा अन्न भण्डारण गृह सञ्चालन गर्ने योजना रहेकोमा हाल सुनसरी र पर्सामा सेवा विस्तार गरिसकेको र छिट्टै कपिलवस्तुमा सेवा दिन तयारी गरिरहेको छ । हाल कम्पनीको कुल भण्डारण क्षमता ५५ हजार मेट्रिक टन छ । स्वचालित र साइलो प्रविधिमा आधारित नेपालकै पहिलो तथा ठूला यी भण्डारणगृहमा मकै, गहुँ, भटमास जस्ता अनाज भण्डारण गर्न सकिन्छ ।
वेयरहाउजिङका अन्न भण्डारण केन्द्रले भण्डारणस्थलको अभावमा सस्तो मूल्यमा अन्न बेच्नुपर्ने किसानको बाध्यता अन्त्य भएको छ भने मुसा, कीरा, ढुसी, चोरी, हावापानी आदिले गर्ने अन्नको नोक्सानीबाट बच्न सकिन्छ । किसानले भण्डारण गरेको अनाज धितो राखेर बैंक, वित्तीय संस्थाबाट ऋण पाउने अवस्था बनेको छ ।
कम्पनीका भण्डारण गृहमा चीन र जर्मनीबाट आयातित अत्याधुनिक प्रविधि खाद्यान्न सफा गर्ने, केलाउने, सुकाउने र प्रयोगशालामा गुणस्तर परीक्षण गरी मानकीकरण गर्ने सेवा पनि उपलब्ध छन् । चिलर प्रयोग गरी खाद्यान्नको तापमान नियन्त्रण गरिने भएकाले प्रशोधित अन्नले बजारमा उचित मूल्य पाउन थालेका छन् ।
कम्पनीका अत्याधुनिक भण्डारण सुरक्षित, प्रविधियुक्त, सहज र सर्वसुलभ छन् । साथै किसानहरूले एउटै छानामुनि अन्नको लिलाम बढाबढ सेवा र धितोमा ऋणसमेत पाउन थालेका छन् । कम्पनीले उपलब्ध गराउँदै अएको एकीकृत कृषि सेवा र मन्डी बजार व्यवस्थापन सुविधाले कृषि उपजको बजारीकरणमा पनि योगदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
- हिउँले छपक्कै छोपेको मुस्ताङ–डोल्पा जोड्ने सडक
- नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित
- आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण
- उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुुझाव
- महालक्ष्मी विकास बैंंक लि.को २४ औं वार्षिक साधारण सभा सम्पन्न


ट्रेन्डिङ
खबरमुकाम







