चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो ।
विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरु समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा नेपाली विज्ञसँगै किसानसँग समेत परामर्श गरिएको थियो ।
विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा सुवीर सिंहका अनुसार कृषि स्नातक, पशु चिकित्सा तथा पशुपालन स्नातक, मत्स्य विज्ञान स्नातक र वन विज्ञान स्नातकको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने गरी परिमार्जन गरिएको हो ।
पशु चिकित्सामा पाँच वर्ष पढाइ हुन्छ भने अन्य सङ्कायमा चारवर्षे पढाइ हुँदै आएको छ । यसअघिको पाठ्यक्रममा ३० देखि ३३ प्रतिशत प्रयोगात्मक हुने गरेकामा नयाँ पाठ्यक्रममा ४० प्रतिशत प्रयोगात्मक रहेको उनले जानकारी दिए ।
विद्यार्थीहरुले प्रयोगात्मक अध्ययनका क्रममा प्रत्यक्ष किसानसँग काम गर्नुपर्ने हुन्छ । पाठ्यक्रमले अहिलेको वातावरण परिवर्तन, नयाँ नयाँ रोगको पहिचान, अनुसन्धानका विधिहरु, अध्ययनका क्रममा सूचना प्रविधिको प्रयोग जस्ता विषय समावेश गरिएका छन् । यसैगरी, विद्यार्थीको तनाव कम गर्न योगा, शारीरिक व्यायाम, शारीरिक शिक्षा, नैतिक शिक्षा पाठ्यक्रममा नै समावेश गरिएको छ ।
पाठ्यक्रम तयार गर्दै कृषिसँगै अन्य विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, रोजगारदाता, किसानलगायतसँग निरन्तर संवाद र छलफल गरेर तयार गरिएको हो । पाठ्यक्रम तयार गर्दै गर्दा पहिलो र दोस्रो वर्ष आधारभूत अध्ययनलाई जोड दिइएको छभने बाँकी वर्षहरुमा सीप र प्रविधिसँग जोडेर काम गर्ने गरी पाठ्यक्रम तयार गरिएको छ ।
पाठ्यक्रम लागू भएसँगै यसको मूल्याङ्कनको काम थालिएको उनले जानकारी दिए । पढाउने जनशक्तिको मूल्याङ्कन गरेर केही कमीकमजोरी भएमा सुधार गर्दै जानुपर्ने उनले बताए । यसको मूल्याङ्कन अमेरिका स्थिति टस्किजी विश्वविद्यालयका प्राध्यापकहरुले समेत गरिरहनुभएको छ । उनीहरुले दिने सुझावका आधारमा आवश्यकताअनुसार परिमार्जन गर्दै लगिने जनाइएको छ ।
प्राध्यापकहरुले पढाएका विषयमा स्वयं विद्यार्थीहरुलाई समेत मूल्याङ्कन गर्न लगाइएको छ । विद्यार्थीहरुले अनलाइनमार्फत सुझाव दिने व्यवस्था मिलाइएको छ । नयाँ पाठ्यक्रम एक हजार ९५ विद्यार्थीले अध्ययन गरिरहेका छन् । विश्वविद्यालयका कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले नयाँ पाठ्यक्रमसँगै विद्यार्थीको आकर्षण बढ्ने बताए । विश्व बजारमा उपयोग हुने जनशक्ति उत्पादन हुने भएकाले युवा पुस्तालाई केही हदसम्म नयाँ पाठ्यक्रमले आकर्षण गर्ने उनको भनाइ छ ।
प्रयोगात्मक कक्षा बढी हुँदै गर्दा व्यावहारिक र बजारमुखी जनशक्ति उत्पादन हुने उनले बताए । समय अनुकूल पाठ्यक्रम परिमार्जन गर्दै जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए । विश्वविद्यालय स्थापना भएपछि तेस्रोपटक पाठ्यक्रम परिमार्जन गरिएको हो । यो पटक पाठ्यक्रम परिमार्जन गर्दै गर्दा युवा जनशक्ति पलायनको अवस्थालाई रोक्ने गरी बृहत् अध्ययन गरेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






