• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

अधिकांश सांसदको दिमागमा संसदमा आउनु भनेको मन्त्री बन्नु हो भन्ने परेको छः राजेन्द्र पाण्डे

रासस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसद्मा पठाउनुपर्ने बताएका छन् । जिम्मेवारी र दायित्वका हिसाबले विधायिकी भूमिकामा बढी केन्द्रित हुनुपर्ने सांसद सत्ताको राजनीतिमा लिप्त हुँदा सदनको मुख्य काम नै ओझेलमा परेकाले प्रशिक्षण आवश्यक भएको उनको भनाइ छ ।

विसं २०४८, २०५१, २०५६ मा प्रतिनिधिसभा सदस्य रहेका पाण्डे २०७० मा संविधानसभा सदस्य थिए । २०७४ मा प्रदेशसभा सदस्य रहेका उनी उहाँ २०७९ को निर्वाचनमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन् । २०४८ सालमा आफू पहिलोपटक संसद् छिर्दा संसदीय अभ्यास, अनुशासन, मर्यादा, भूमिका, जिम्मेवारीलगायत विषयमा पर्याप्त प्रशिक्षण हुने गरेको उनी स्मरण गर्छन् ।

'हामी संसद्मा आउनेबित्तिकै सांसदलाई प्रशिक्षण दिइन्थ्यो र संसद्मा कसरी प्रस्तुत हुने तरिका सिकाइन्थ्यो । अर्थतन्त्रका विषयमा अर्थशास्त्रीसँग, ज्ञान–विज्ञानका क्षेत्रमा त्यस क्षेत्रका विज्ञ र जानकारसँग छलफल गथ्र्यौ । आजकाल त्यो भएको देखिँदैन,' उनले भने,  'कुनै पनि दलले त्यसरी प्रशिक्षण दिएर आफ्ना सांसदलाई संसदीय अभ्यासमा अभ्यस्त बनाउन सकेका छैनन् । सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसद्मा उतार्नुपर्छ ।'

पछिल्लो समय संसद् प्रभावकारी हुन नसकेको भन्दै जनस्तरबाटै आलोचना भइरहेका बेला पाण्डे पनि संसद् र सांसदले आफ्नो विधायिकी भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्छन् । 'हामीले कानुन बनाउन जति धेरै समय दिनुपथ्र्यो, त्यो दिन सकेका छैनौँ । कहिले सुन प्रकरण, कहिले भुटानी शरणार्थी प्रकरणका नाममा पटक–पटक संसद् अवरोध भएका छन् । संसद्मा बढीभन्दा बढी अभ्यास गर्ने र जनजीविकाका कुरा राख्ने सवालमा हामी निकै कमजोर देखियौँ,' उनले भने । 

सबै राजनीतिक दलले जनजीविकासँग जोडिएका महत्वपूर्ण विषयलाई संसद्मा ल्याएर गहन छलफलमार्फत निकास दिनुपर्ने उनको बुझाइ छ । त्यस्ता विषयमा सत्तापक्षका सांसदले सरकारबाट चाँडो निर्णय गराउने र प्रतिपक्षले संसद्बाट खबरदारी गर्नुपर्ने पाण्डे बताउँछन् ।  

संसद् भनेको सरकार निर्माणका लागि मात्रै हो भन्ने बुझाई सांसदमै हावी हुँदै गएको उनको बुझाइ छ । 'अधिकांश सांसदको दिमागमा संसद्मा आउनु भनेको मन्त्री बन्नु हो भन्ने परेको छ । मन्त्री हुन पाइएन भने सांसद भएको अर्थ नै भएन भन्ने बुझाइसमेत राख्ने गरेका छन् । मन्त्री बन्नका लागि हुने दौडधुप त्यस्तै मनोवृत्तिको परिणाम हो,' उनले भने । 

संसदीय अभ्याससँग जोडिएका कतिपय शैली, प्रक्रिया आजकाल प्रयोगमा आउन नसकेको उनको बुझाइ छ । 'संसद्मा सबै सांसदले आफ्ना कुरा राख्न पर्याप्त समय नै हुँदैन । तर संसद्भित्र हामीले अभ्यास गर्नसक्ने र नगरेका धेरैवटा विषय छन्,' उनी भन्छन्, 'हामीले ध्यानाकर्षण प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, सङ्कल्प प्रस्ताव राख्न पाउँछौँ । मन्त्रीहरुलाई प्रश्न गर्न पाउँछौँ । लिखित वा मौखिक प्रश्न पाउँछौँ । तर ती अभ्यासलाई हामीले धेरै महत्व दिइरहेका छैनौँ ।'

सत्तापक्षले आफ्नो दलको सरकारको विरोध गर्न नसक्ने र प्रतिपक्षले विरोधकै लागि विरोध गर्ने शैली मौलाउँदै गएकोप्रति पनि सांसद पाण्डे चिन्ता व्यक्त गर्छन् । सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका सांसदहरूले जनताको हितमा बोल्ने हो भन्ने बिर्सेर दलीय राजनीति तथा सत्ता खिचातानीको खेल संसद्मा खेल्ने गरेको उनको आरोप छ । 'संसद्भित्र कानुन निर्माण गर्नेभन्दा पनि सत्ता राजनीति हावी भयो । जहिले पनि विरोध गर्ने प्रवृत्तिको विकास भयो,' उनले भने, 'सत्तापक्ष–प्रतिपक्ष जहाँ बसे पनि आखिर हामी जनताका प्रतिनिधि हौँ । जनताकै हितका लागि बोल्नुपर्छ । जनतासँग कबुल गरेर आएका कुरालाई पूरा गर्नेतर्फ सोच्नुपर्छ ।'

जिम्मेवारी बहनमा मात्र नभई संसदीय मर्यादा, अनुशासन पालनामा पनि सांसद चुक्ने गरेको उनले बताए । संसद्मा विवादास्पद अभिव्यक्ति दिने, एकअर्कालाई अनावश्यक आक्षेप र लाञ्छना लगाउने, तथ्यभन्दा बाहिर रहेर भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिनेजस्ता काम सांसदबाटै हुने गरेका छन् । यसबारे पनि सांसद जिम्मेवार हुन नसकेको उनको भनाइ छ । 'जतिसुकै चित्त नबुझे पनि संसदीय मर्यादाभन्दा बाहिर रहेर अभिव्यक्ति दिनुहुँदैन । पुराना मात्र नभई नयाँ दलका अभिव्यक्ति पनि संसदीय मर्यादाभन्दा बाहिर गएर आउने गरेका छन्,' उनले भने, 'प्रतिपक्ष भएपछि विरोध मात्रै गर्नुपर्छ र विरोध गर्दा जनतामा आफ्नो भूमिका निर्वाह गर्‍यो भन्ने छाप पर्छ भन्ने बुझाइ प्रतिपक्षमा छ । अर्कोतर्फ सरकारले गरिरहेको कतिपय कुरा सत्तापक्षकै सांसदलाई पनि चित्त बुझिरहेको हुँदैन । तर  सरकारको विरोधमा बोलिहाल्न गाह्रो हुन्छ । यस्ता कठिनाइ पनि छन् ।'

प्रतिपक्षले संसद्मा लैजाने विषय खोज्ने र ती विषयमा प्रतिप्रश्न गर्ने शैलीले काम गर्नेभन्दा विरोधका लागि मात्रै विरोध गरेको सांसद पाण्डेको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै